Skip to content
Opens in a new window
Listen to this chapter • 1:58

[1] याहवेहले मोशालाई भन्‍नुभयो,

[2] “इस्राएलीहरूलाई भन्: ‘जुन स्त्रीले गर्भवती भएर छोरा जन्माउँछे, त्यो आफ्नो रजस्वलाको समयमा अशुद्ध रहेझैँ सात दिनसम्म विधिपूर्वक अशुद्ध रहनेछे।

[3] आठौँ दिनमा त्यस बालकको खलडीको खतना गरिनुपर्छ।

[4] त्यसपछि आफ्नो रक्तस्राव शुद्ध हुनको लागि त्यस स्त्रीले तेत्तीस दिनसम्म पर्खनुपर्छ। त्यसले कुनै पवित्र कुरा नछोओस्, अथवा आफ्नो शुद्धीकरणको समय पूरा नहोउन्जेल पवित्रस्थानमा नजाओस्।

[5] त्यसले छोरी जन्माई भने आफ्नो रजस्वलाको समयमा झैँ त्यो दुई हप्‍तासम्म अशुद्ध हुनेछे। त्यसपछि आफ्नो रक्तस्रावबाट शुद्ध हुनको लागि त्यसले छयसट्ठी दिनसम्म पर्खनुपर्छ।

[6] “ ‘आफ्नो छोरा अथवा छोरीका लागि त्यसका शुद्धीकरणका दिनहरू पूरा भएपछि त्यसले भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ होमबलिका निम्ति एकवर्षे थुमा र पाप शुद्धीकरण बलिका निम्ति एउटा कलिलो परेवा अथवा ढुकुर ल्याओस्।

[7] त्यसले ती बलिलाई याहवेहको सामु आफ्नो प्रायश्‍चितको निम्ति चढाउनुपर्छ। त्यसपछि त्यो आफ्नो रक्तस्रावबाट शुद्ध हुनेछे। “ ‘कुनै स्त्रीले छोरा वा छोरी जन्माएको विषयमा नियमहरू यिनै हुन्।

[8] यदि त्यस स्त्रीसँग थुमा किनेर ल्याउने रकम छैन भने त्यसले एक जोर ढुकुर अथवा परेवाका दुई वटा बचेरा, एउटा होमबलिका निम्ति र अर्को पाप शुद्धीकरण बलिका निम्ति ल्याओस्। यस किसिमले पुजारीले त्यसका निम्ति प्रायश्‍चित गर्नेछ, र त्यो शुद्ध हुनेछे।’ ”

लेवी — Chapters