Skip to content
Opens in a new window
Listen to this chapter • 5:41

[1] याहवेहले मोशालाई भन्‍नुभयो:

[2] “यदि कसैले छिमेकीले सुम्पेको केही सामान त्यसलाई अथवा त्यसको जिम्मामा राखेको कुनै सामान चोरी भएको छ भने वा आफ्नो छिमेकीलाई ठगेर पाप गर्छ भने, र याहवेहप्रति विश्‍वासघाती बन्छ भने,

[3] अथवा त्यसले कुनै हराएको सम्पत्ति पाएर त्यस विषयमा झूटो बोल्छ, अथवा झूटो शपथ खान्छ भने, अथवा मानिसहरूले गर्नेजस्ता पाप गर्छ भने;

[4] जब त्यसले यसरी पाप गर्छ, र त्यो दोषी भएको आभास गर्छ; त्यसले चोरेको अथवा लुटेको सामान अथवा त्यसलाई सुम्पेको सामान अथवा हराएको सामान त्यसले भेट्टाएको छ,

[5] अथवा जुनसुकै कुरा, जसको बारेमा त्यसले झूटो शपथ खाएको छ; त्यसले यी सबै कुरा यिनीहरूमा पाँचौँ भाग थपेर पूरा फर्काइदिनुपर्छ। त्यसले दोषबलि चढाउने दिनमा, त्यो सामान जसको हो, उसैलाई दिनुपर्छ।

[6] अनि दण्डस्वरूप त्यसले पुजारीकहाँ आफ्नो दोषबलि याहवेहका लागि आफ्नो बगालबाट निष्खोट र उचित मूल्यको एउटा भेडा ल्याओस्।

[7] यसरी पुजारीले याहवेहको सामु त्यसका निम्ति प्रायश्‍चित गर्नेछ। अनि आफूलाई दोषी ठहराउने कामबाट त्यसलाई क्षमा मिल्नेछ।”

[8] याहवेहले मोशालाई भन्‍नुभयो:

[9] “हारून र त्यसका छोराहरूलाई यो आज्ञा दिनू: ‘होमबलिका नियमहरू यिनै हुन्: होमबलि दाउरामाथि रातभरि वेदीको आगो बल्ने स्थानमा बिहानसम्मै रहिरहोस् र वेदीमा आगो बलिरहोस्।

[10] त्यसपछि पुजारीले आफ्ना सुतीका पोशाकहरू र भित्री सुती पोशाकहरू शरीरमा लगाओस्, र वेदीमा आगोले जलाएको होमबलिको खरानी निकालेर वेदीको छेउमा राखोस्।

[11] तब त्यसले यी वस्त्र फुकालेर अर्को वस्त्र लगाएर छाउनीदेखि बाहिर एउटा चोखो ठाउँमा त्यो खरानी बोकेर लैजाओस्।

[12] वेदीमाथिको आगो जलिरहोस्; र त्यो निभ्न नपाओस्। हरेक बिहान पुजारीले त्यसमा दाउरा थपेर होमबलिलाई आगोमाथि मिलाओस् र त्यसमाथि मेलबलिको बोसो जलाओस्।

[13] वेदीमाथि आगो निरन्तर जलिरहोस्; त्यो कहिल्यै ननिभोस्।

[14] “ ‘अन्‍नबलिका नियमहरू यिनै हुन्: हारूनका छोराहरूले त्यसलाई याहवेहको सामु वेदीको अगिल्तिर ल्याओस्।

[15] पुजारीले एक मुठी मसिनो पिठो र केही जैतुनको तेल, र सबै धूपहरू त्यस अन्‍नबलिमाथि लिएर सम्झनाको भाग याहवेहलाई मनपर्ने बास्‍नाको रूपमा वेदीमाथि जलाओस्।

[16] बाँकी रहेको भाग हारून र त्यसका छोराहरूले खानेछन्। तर त्यो खमिरविना पवित्रस्थानमा समागम पालको आँगनमा खाइनुपर्छ।

[17] त्यसलाई खमिरसित पकाइनुहुँदैन। त्यो म याहवेहलाई अग्निबलिको रूपमा चढाइएका भेटीहरूबाट तिनीहरूको भागस्वरूप मैले तिनीहरूलाई दिएको छु। पाप शुद्धीकरण बलि र दोषबलिझैँ त्यो अति पवित्र छ।

[18] हारूनका सन्ततिमध्ये कुनै पनि पुरुषले त्यो खान सक्छ। याहवेहलाई अग्निबलिको रूपमा चढाइएका बलिहरूबाट त्यो तिनीहरूका आउने पुस्ताहरूका निम्ति नियमित भाग हो। जजसले यी बलिहरूलाई छुन्छन्, तिनीहरू पवित्र हुनेछन्।’ ”

[19] याहवेहले मोशालाई भन्‍नुभयो,

[20] “हारून र तिनका छोराहरू अभिषेक भएका दिन तिनीहरूले यी भेटी याहवेहकहाँ ल्याऊन्। मसिनो पिठो एपाको दशौँ भाग नियमित अन्‍नबलिको रूपमा बिहान आधा र बेलुका आधा।

[21] त्यसलाई तेलसँग ताप्केमा तयार पारेर राम्रो गरी मिसाएर ल्याउनू। त्यो अन्‍नबलि टुक्रा-टुक्रा गरी भाँचेर याहवेहलाई मनपर्ने बास्‍नाको रूपमा प्रस्तुत गर्नू।

[22] जुन छोराले पछि प्रधान पुजारीको रूपमा कार्यभार सम्हाल्नेछ, त्यसैले त्यो तयार गरोस्। त्यो याहवेहको नियमित भाग हो, र त्यसलाई पूरा जलाइओस्।

[23] पुजारीको हरेक अन्‍नबलि सबै जलाइओस्, यो खानुहुँदैन।”

[24] याहवेहले मोशालाई भन्‍नुभयो,

[25] “हारून र त्यसका छोराहरूलाई यसो भन्: ‘पाप शुद्धीकरण बलिका नियमहरू यिनै हुन्: पाप शुद्धीकरण बलिलाई होमबलि मारिएको ठाउँमा याहवेहको सामु मारियोस्, त्यो अति पवित्र हो।

[26] जुन पुजारीले त्यो चढाउनेछ, त्यसले नै त्यो खानेछ। त्यसलाई पवित्रस्थानमा समागम पालको आँगनमा खाइयोस्।

[27] जुन कुरोले यो मासुलाई छुन्छ, त्यो पवित्र हुनेछ। अनि रगतबाट केही छिर्का कुनै लुगामा पर्‍यो भने तिमीहरूले त्यसलाई कुनै पवित्र ठाउँमा धुनुपर्छ।

[28] मासु पकाएको माटोको भाँडा फुटाइनुपर्छ। तर यदि त्यसलाई काँसोको भाँडामा पकाइएको हो भने त्यो भाँडालाई राम्ररी माझेर पानीमा पखाल्नुपर्छ।

[29] पुजारीका परिवारको कुनै पनि पुरुषले त्यो खान सक्छ, त्यो अति पवित्र हो।

[30] तर कुनै पाप शुद्धीकरण बलिको रगत पवित्र ठाउँमा प्रायश्‍चितका लागि समागम पालभित्र ल्याइयो भने त्यसलाई खानुहुँदैन। यसलाई आगोमा जलाइनुपर्छ।

लेवी — Chapters