[1] “ ‘यदि कसैले मेलबलि चढाउँछ भने, र यसको निम्ति बलि बथानबाट भाले वा पोथी पशु चढाउँछ भने त्यसले याहवेहको सामु निष्खोट पशु चढाओस्।
[2] त्यसले आफ्नो बलिको शिरमाथि आफ्नो हात राखेर त्यसलाई समागम पालको प्रवेशद्वारमा मारोस्। त्यसपछि हारूनका पुजारी छोराहरूले वेदीको चारैतिर रगत छर्कून्।
[3] त्यसले मेलबलिबाट याहवेहका निम्ति अग्निबलि चढाओस्। आन्द्राभुँडी ढाक्ने बोसो र आन्द्रामाथिको बोसो सबै ल्याओस्,
[4] कम्मरनिरका दुवै मिर्गौला र ती नजिकको बोसो, कलेजोलाई छोपेको बोसो, जसलाई मिर्गौलाहरूसितै निकाल्नु।
[5] त्यसपछि हारूनका छोराहरूले त्यसलाई वेदीमा होमबलिमाथि बल्दैगरेको दाउरामाथि जलाओस्। यो याहवेहलाई मनपर्ने बास्नाको अग्निबलि हो।
[6] “ ‘यदि त्यसले याहवेहका निम्ति बगालबाट मेलबलिको रूपमा एउटा पशु चढाउँछ भने त्यसले निष्खोट भाले वा पोथी चढाओस्।
[7] त्यसले बलिको लागि थुमा चढाउँछ भने याहवेहको सामु यस प्रकारले चढाओस्ः
[8] त्यसले बलिको शिरमाथि आफ्नो हात राखेर त्यसलाई समागम पालको सामु मारोस्; हारूनका छोराहरूले त्यसको रगत वेदीका चारैतिर छर्कून्।
[9] मेलबलिबाट त्यसले याहवेहका निम्ति अग्निबलि ल्याओस्: त्यसको बोसो, ढाडको छेउदेखि काटेको बोसे पुच्छरको सम्पूर्ण भाग, भित्री भागहरूलाई छोप्ने सबै बोसो र त्यससित जोडिएका बोसो,
[10] कम्मरनिरको दुवै मिर्गौलासमेत त्यसका बोसो, र कलेजो छोप्ने भाग, जसलाई त्यसले मिर्गौलाहरूबाट छुट्याओस्।
[11] पुजारीले यी सबैलाई वेदीमा अग्निबलिको रूपमा याहवेहका निम्ति जलाओस्।
[12] “ ‘यदि त्यसको बलिचाहिँ बाख्रा हो भने त्यसले यो याहवेहको सामु चढाओस्।
[13] त्यसले आफ्नो हात त्यसको टाउकोमाथि राखेर त्यसलाई समागम पालको सामु मारोस्। त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको चारैतिर छर्कून्।
[14] त्यसले जे थोक चढाउँछ, त्यो भेटी याहवेहलाई अग्निबलिको रूपमा चढाओस्: भित्री अङ्गहरू र त्यससित गाँसिएका भागहरूलाई छोप्ने सबै बोसो,
[15] कम्मरनिरको दुवै मिर्गौलासमेत त्यसका बोसो, र कलेजो छोप्ने भाग, जसलाई त्यसले मिर्गौलाहरूबाट छुट्याओस्।
[16] पुजारीले तिनलाई अग्निबलिको रूपमा मनपर्ने बास्नाको रूपमा वेदीमा जलाओस्। सबै बोसो याहवेहकै हुन्।
[17] “ ‘तिमीहरू जहाँ बसे तापनि आउने पुस्ताका लागि यो एउटा सधैँभरि रहिरहने विधि हो: तिमीहरूले कुनै बोसो अथवा रगत नखानू।’ ”