Skip to content
Opens in a new window
Listen to this chapter • 10:13

[1] याहवेहले मोशालाई भन्‍नुभयो,

[2] “कुष्‍ठरोग लागेका मानिसलाई विधिपूर्वक शुद्ध गर्ने नियमहरू यिनै हुन्; जब तिनीहरूलाई पुजारीकहाँ ल्याइन्छः

[3] तिनीहरूलाई जाँच गर्न पुजारी छाउनीबाहिर जाओस्। यदि ती मानिसहरू आफ्ना कुष्‍ठरोगबाट निको भएका छन् भने,

[4] पुजारीले दुई वटा शुद्ध जिउँदा पक्षीहरू, केही देवदारुका दाउरा, सिन्दूरे रङ्गको धागो र हिसप, शुद्ध हुन चाहनेका निम्ति ल्याउने आदेश देऊन्।

[5] त्यसपछि पुजारीले ती दुई पक्षीहरूमध्ये एउटालाई माटोको भाँडामा भएको ताजा पानीमाथि मार्ने आदेश देऊन्।

[6] त्यसपछि त्यसले जीवित पक्षीलाई लिएर त्यसलाई देवदारुका दाउरा, सिन्दूरे रङ्गको धागो र हिसपसित ताजा पानीमाथि मारिएको पक्षीको रगतमा चोपोस्।

[7] त्यसले त्यस कुष्‍ठरोगबाट शुद्ध हुनुपर्ने व्यक्तिलाई सात चोटि छर्केर त्यसलाई शुद्ध भनी घोषित गरोस्। त्यसपछि त्यसले जीवित पक्षीलाई खुला मैदानमा छोडिदेओस्।

[8] “शुद्ध हुनुपर्ने त्यस मानिसले आफ्ना लुगा धोओस्। आफ्ना सबै कपाल खौरोस् र पानीले नुहाओस्। त्यसपछि त्यो शुद्ध हुनेछ। त्यसपछि त्यो छाउनीभित्र पस्‍न सक्छ। तर त्यो सात दिनसम्म आफ्नो पालको बाहिर बस्‍नुपर्छ।

[9] सातौँ दिनमा त्यसले आफ्नो शिर, आफ्नो दाह्री आफ्ना आँखीभौँहरू, र सबै रौँहरू खौरोस्। त्यसले आफ्नो लुगा धोओस्, र पानीले नुहाओस्। अनि त्यो विधिपूर्वक शुद्ध हुनेछ।

[10] “आठौँ दिनमा त्यसले भेडाका दुई वटा पाठाहरू र एउटी पाठी, सबै एकवर्षे र निष्खोट अनि अन्‍नबलिका निम्ति मसिनो पिठो जैतुन तेलसँग मिसाएको एपाको दश भागको तीन भाग र एक लोग तेल ल्याओस्।

[11] त्यसलाई शुद्ध घोषणा गर्ने पुजारीले शुद्ध हुनुपर्ने व्यक्ति र भेटी दुवैलाई याहवेहको सामु भेट हुने पालको प्रवेशद्वारमा प्रस्तुत गरोस्।

[12] “तब पुजारीले त्यो तेलसमेत भेडाका पाठाहरूमध्ये एउटालाई लिएर दोषबलिस्वरूप चढाओस्। विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहलाई चढाओस्।

[13] त्यसले त्यस भेडालाई पवित्रस्थानमा पाप शुद्धीकरण बलि र होमबलि मारिने ठाउँमा मारोस्। पाप शुद्धीकरण बलिझैँ दोषबलि पुजारीको हो; त्यो अति पवित्र छ।

[14] पुजारीले दोषबलिको रगतबाट केही लिएर शुद्ध हुनपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्।

[15] त्यसपछि पुजारीले केही तेल लिएर आफ्नै देब्रे हातको हत्केलामा खन्याओस्।

[16] पुजारीले उसको हत्केलामा भएको तेलमा आफ्नो दाहिने हातको औँला चोपोस्। अनि आफ्नो औँलाले त्यसबाट केही याहवेहको सामु सात चोटि छर्कोस्।

[17] पुजारीले आफ्नो हत्केलामा उब्रेको तेलबाट केही तेल शुद्ध हुनपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा दोषबलिको रगतको माथिल्‍लोपट्टि छर्किदेओस्।

[18] पुजारीको हत्केलाको बाँकी तेल उसले शुद्ध हुनपर्नेको शिरमा लगाएर त्यसका निम्ति याहवेहको सामु प्रायश्‍चित गरोस्।

[19] “त्यसपछि पुजारीले पाप शुद्धीकरण बलि चढाएर आफ्नो अशुद्धिबाट शुद्ध हुनुपर्नेका निम्ति प्रायश्‍चित गरोस्। त्यसपछि पुजारीले होमबलि चढाइने पशु मारोस्।

[20] अनि त्यसलाई पुजारीले अन्‍नबलिसँग वेदीमा चढाओस्, र त्यसका लागि प्रायश्‍चित गरोस्, तब त्यो शुद्ध हुनेछ।

[21] “तर यदि त्यो गरिब छ, र यी चीजहरू ल्याउन सक्दैन भने त्यसले आफ्ना निम्ति प्रायश्‍चित गर्न विशेष भेटीको रूपमा दोषबलिस्वरूप एउटा भेडाको पाठा, र साथमा अन्‍नबलिका लागि जैतुन तेल मिसाइएको एपाको दश भागको एक भाग मसिनो पिठो र एक लोग तेल ल्याओस्।

[22] त्यसले ल्याउन सक्छ भने दुई वटा ढुकुर अथवा दुई वटा कलिला परेवा एउटा पाप शुद्धीकरण बलिको निम्ति र अर्को होमबलिको निम्ति ल्याओस्।

[23] “आठौँ दिनमा त्यसले ती कुराहरू आफ्नो शुद्धीकरणका निम्ति पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा याहवेहको सामु ल्याओस्।

[24] पुजारीले दोषबलिको निम्ति ल्याइएको भेडा एक लोग तेलसँग लिएर विशेष भेटीको रूपमा उचालिनको लागि याहवेहको सामु अर्पण गरोस्।

[25] त्यसले भेडालाई दोषबलिको निम्ति मारोस्। अनि त्यसको केही रगत लिएर शुद्ध हुनुपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्।

[26] पुजारीले तेलबाट केही आफ्नो देब्रे हातको हत्केलामा खन्याओस्।

[27] अनि आफ्नो दाहिने हातको औँलाले आफ्नो हत्केलाबाट केही तेल याहवेहको सामु सात चोटि छर्कोस्।

[28] त्यसको हत्केलाको केही तेल त्यसले दोषबलिको रगत लगाएका ठाउँहरूमा लगाओस्, अर्थात् शुद्ध हुनुपर्नेको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्।

[29] पुजारीले आफ्नो हत्केलामा बाँकी रहेको तेल शुद्ध हुनपर्ने व्यक्तिको शिरमा याहवेहको सामु त्यसको प्रायश्‍चित गर्नका निम्ति लगाओस्।

[30] त्यसपछि त्यसले आफ्नो आर्थिक क्षमताअनुसार ढुकुरहरू अथवा कलिला परेवाहरू बलि चढाओस्।

[31] एउटा पाप शुद्धीकरण बलिस्वरूप र अर्को होमबलिस्वरूप अन्‍नबलिसँग चढाओस्। यस किसिमले पुजारीले त्यस शुद्ध हुनुपर्ने व्यक्तिको पक्षमा याहवेहको सामु प्रायश्‍चित गर्नेछ।”

[32] कुष्‍ठरोगको संक्रमण लागेको मानिस र आफ्नो शुद्धीकरणका निम्ति नियमित भेटीहरू चढाउने आर्थिक रूपमा असक्षम मानिसका निम्ति नियमहरू यिनै हुन्।

[33] याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो,

[34] “जब मैले तिमीहरूलाई अधिकारको रूपमा दिन लागेको कनान देशमा तिमीहरू प्रवेश गरौला, र त्यस देशको एउटा घरमा मैले फैलिने ढुसी लाग्न दिएँ भने,

[35] त्यस घरको मालिकले गएर पुजारीलाई ‘मेरो घरमा ढुसी भएजस्तै केही देखेको छु’ भनोस्।

[36] त्यस घरमा ढुसी जाँच गर्न जानुअगि पुजारीले त्यस घरलाई खाली गर्ने आदेश देओस्; ताकि त्यस घरभित्र भएका कुनै चीज पनि अशुद्ध भनी घोषित नहोस्। त्यसपछि पुजारी त्यो घर जाँच गर्न भित्र जाओस्।

[37] त्यसले भित्तातिर ढुसीलाई जाँचोस्। यदि त्यहाँ हरियो किसिमका अथवा रातो किसिमका दागहरू भित्ताको सतहभन्दा गहिरा देखा पर्छन् भने,

[38] पुजारी त्यस घरको ढोका छेउबाट बाहिर गएर त्यसलाई सात दिनसम्म बन्द गरिदेओस्।

[39] सातौँ दिनमा पुजारी त्यस घरलाई जाँच्नलाई फर्कोस्। यदि ढुसी भित्तामा फैलिएको छ भने,

[40] त्यसले दूषित भएका ढुङ्गाहरू भित्ताबाट उक्‍काएर नगर बाहिरको अशुद्ध ठाउँमा फ्याँकिदिन आदेश गरोस्।

[41] त्यसले घरका सबै भित्ताहरू खुर्किन र खुर्किएका सामग्रीहरू नगरबाहिर कुनै अशुद्ध ठाउँमा थुपार्न लगाओस्।

[42] त्यसपछि तिनीहरूले ती खाली ठाउँहरू भर्नलाई अरू ढुङ्गाहरू लिऊन्, र नयाँ माटो ल्याएर घर लिपून्।

[43] “यदि ढुङ्गाहरू उक्‍काइसकेपछि त्यो घर खुर्किएर लिपिसकेपछि पनि ढुसी फेरि देखा पर्‍यो भने,

[44] पुजारीले गएर त्यसलाई जाँचोस्; अनि त्यस घरमा ढुसी फैलिएको छ भने त्यो एउटा गम्भीर ढुसी हो, र त्यो घर अशुद्ध छ।

[45] त्यो भत्काइनुपर्छ, अर्थात् त्यसका ढुङ्गाहरू, काठहरू र सबै लेपहरू भत्काएर नगरबाहिर कुनै अशुद्ध ठाउँमा लगियोस्।

[46] “त्यो घर बन्द भएको बेला जो त्यसभित्र पस्छ, त्यो साँझसम्म अशुद्ध रहनेछ।

[47] त्यस घरभित्र सुत्ने अथवा खाना खानेले आफ्नो लुगा धोओस्।

[48] “तर यदि पुजारीले त्यसलाई जाँच्न आउँदा त्यस घरलाई लिपेपछि ढुसी फैलिएको छैन भने त्यसले घरलाई शुद्ध भनी घोषणा गरोस्; किनकि त्यो ढुसी गइसकेको छ।

[49] त्यस घरलाई शुद्ध पार्नलाई त्यसले दुई वटा पक्षीहरू, देवदारुका केही काठ, सिन्दूरे रङ्गको धागो र हिसप ल्याओस्।

[50] त्यसले दुईमध्ये एउटा पक्षीलाई माटोको भाँडामा भएको ताजा पानीमाथि मारोस्।

[51] त्यसपछि त्यसले देवदारुको काठ, हिसप, सिन्दूरे रङ्गको धागो, जिउँदो पक्षीलाई लिएर तिनीहरूलाई त्यस पक्षीको रगत र ताजा पानीमा चोपलोस्। अनि घरलाई सात चोटि छर्कोस्।

[52] त्यस घरलाई त्यस पक्षीको रगत, ताजा पानी, जीवित पक्षी, देवदारुका काठ, हिसप र सिन्दूरे रङ्गको धागोले शुद्ध पारोस्।

[53] त्यसपछि त्यसले त्यस जीवित पक्षीलाई नगरबाहिर खुला मैदानमा छोडिदेओस्। यस किसिमले पुजारी त्यस घरका निम्ति प्रायश्‍चित गर्नेछ, र त्यो शुद्ध हुनेछ।”

[54] कुनै पनि प्रकारको कुष्‍ठरोगका लागि, लुतोको लागि,

[55] लुगामा अथवा घरमा भएको ढुसीका लागि,

[56] अनि सुनिएको, खस्रो र चहकिलो दागका लागि,

[57] कुनै कुरालाई अशुद्ध वा शुद्ध ठहराउनका लागि नियमहरू यिनै हुन्। कुष्‍ठरोग संक्रमण र ढुसीका निम्ति नियमहरू यिनै हुन्।

लेवी — Chapters