[1] याहवेहका सेवक मोशाको मृत्युपछि याहवेहले मोशाका सहायक, नूनका छोरा, यहोशूलाई यसो भन्नुभयो:
[2] “मेरो सेवक मोशाको मृत्यु भइसक्यो। यसकारण अब तँ र यी मानिसहरू यर्दन नदी तरेर मैले तिनीहरूलाई अर्थात् इस्राएलीहरूलाई दिन लागेको देशमा जानलाई तयारी गर्।
[3] मैले मोशालाई प्रतिज्ञा गरेझैँ, तैँले पाइला टेक्ने सबै भूमि म तँलाई दिनेछु।
[4] तिमीहरूको देशको सिमाना उजाडस्थानदेखि लेबनानसम्म लिएर महानदी अर्थात् यूफ्रेटिस नदीदेखि हित्तीहरूको सबै देश अर्थात् पश्चिममा भूमध्य सागरसम्म हुनेछ।
[5] तेरो जीवनकालभरि तेरो विरुद्धमा कोही पनि खडा हुन सक्नेछैन। जसरी म मोशासँग थिएँ, त्यसरी नै तँसँग पनि रहनेछु; म तँलाई कहिल्यै छोड्नेछैनँ, न त तँलाई त्याग्ने नै छु।
[6] “बलियो र साहसी बन्; किनकि तैँले नै यी मानिसहरूलाई मैले तिनीहरूका पितापुर्खाहरूलाई दिनेछु भनी शपथ खाएको देशमा अधिकार गर्नलाई अगुवाइ गर्नेछस्।
[7] “बलियो र खूब साहसी बन्। मेरो सेवक मोशाले तँलाई दिएको सारा व्यवस्था होसियारीसाथ पालन गर्; त्यसबाट दायाँ अथवा बायाँतिर नलाग्नू। तँ जहाँ गए तापनि सफलता पाउनेछस्।
[8] व्यवस्थाको यो पुस्तक तेरो ओठबाट कहिल्यै नहटोस्; तैँले त्यसमाथि दिनरात ध्यान गर्नू, ताकि त्यसमा लेखिएका हरेक कुरा होसियारीसाथ पालन गर्न सक्नेछस्। तब तैँले उन्नति गर्नेछस् र सफलता पाउनेछस्।
[9] के मैले तँलाई बलियो र साहसी हुनलाई आज्ञा दिएको छैन र? नडरा, निरुत्साहित नहो; किनकि तँ जहाँ गए तापनि याहवेह तेरा परमेश्वर तँसित हुनुहुनेछ।”
[10] यसकारण यहोशूले मानिसहरूका अधिकृतहरूलाई आदेश दिए:
[11] “छाउनीभित्र गएर मानिसहरूलाई भन, ‘तिमीहरूका खाने कुराहरूको बन्दोबस्त गर। अबको तीन दिनमा याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आफ्नो उत्तराधिकारको रूपमा दिनुहुने देशमाथि अधिकार गर्न तिमीहरू यर्दन नदी पार गरेर जानेछौ।’ ”
[12] तर रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई चाहिँ यहोशूले भने,
[13] “याहवेहको सेवक मोशाले तिमीहरूलाई दिएको आज्ञा याद गर, ‘याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई यो देश दिएर विश्राम दिनुहुनेछ।’
[14] तिमीहरूका पत्नीहरू, छोराछोरीहरू र तिमीहरूका गाईबस्तुहरू चाहिँ मोशाले तिमीहरूलाई दिएको यर्दन नदीको पूर्वपट्टिको भूमिमा बस्न सक्छन्। तर तिमीहरूका सबै योद्धाहरू भने लडाइँका निम्ति हातहतियारले सुसज्जित भएर आ-आफ्ना दाजुभाइहरूका साथमा अगि-अगि पारि जानुपर्छ। तिमीहरूले तिनीहरूलाई सहायता गर्नुपर्छ।
[15] याहवेहले तिमीहरूलाई विश्राम दिनुभएझैँ, उहाँले तिमीहरूका दाजुभाइहरूलाई विश्राम नदिनुभएसम्म र याहवेह तिमीहरूका परमेश्वरले तिनीहरूलाई दिनुहुने देशमा तिनीहरूले पनि अधिकार नगरेसम्म तिमीहरूले तिनीहरूलाई सहायता गर्नुपर्नेछ। त्यसपछि तिमीहरू याहवेहका सेवक मोशाले यर्दनको पूर्वपट्टि घाम झुल्कनेतिर तिमीहरूलाई दिएको भूमिमा फर्केर जान सक्छौ, र आफ्नो भूमिमा बसोबास गर्न सक्नेछौ।”
[16] तब तिनीहरूले यहोशूलाई जवाफ दिए, “तपाईंले हामीलाई आज्ञा दिनुभएका सबै कुराहरू हामी गर्नेछौँ, र तपाईंले हामीलाई जहाँ पठाउनुहुन्छ, त्यहीँ जानेछौँ।
[17] जसरी हामीले मोशाको आज्ञापालन गर्यौँ, त्यसरी नै हामी तपाईंको पनि आज्ञापालन गर्नेछौँ। केवल याहवेह तपाईंका परमेश्वर मोशासँग हुनुभएझैँ तपाईंसँग पनि हुनुभएको होस्।
[18] तपाईंको वचनको विरुद्ध विद्रोह गर्ने र तपाईंले आज्ञा गर्नुभएको कुरा पालन नगर्ने जोसुकै पनि मारिनेछ। केवल तपाईं बलियो र साहसी हुनुहोस्!”