Skip to content
Opens in a new window
Listen to this chapter • 4:15

[1] इस्राएलले कनान देशमा उत्तराधिकारको रूपमा पाएका इलाकाहरू यिनै हुन्, जसलाई पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका कुलका अगुवाहरूले तिनीहरूलाई बाँडिदिएका थिए।

[2] याहवेहले मोशाद्वारा आज्ञा दिनुभएझैँ तिनीहरूका उत्तराधिकारको भाग चिट्ठा हालेर साढे नौ कुललाई बाँडिदिएको थियो।

[3] मोशाले साढे दुई कुललाई तिनीहरूको उत्तराधिकारको रूपमा यर्दनको पूर्वपट्टिको भाग दिएका थिए। तर बाँकी रहेकाहरूमा लेवीहरूलाई कुनै उत्तराधिकारको भाग दिएका थिएनन्।

[4] किनकि योसेफका सन्तानबाट मनश्शे र एफ्राइम दुई कुलहरू भएका थिए। त्यसैले लेवीहरूले देशको कुनै पनि भाग पाएनन्; तर बस्‍नलाई सहरहरू र तिनीहरूका बगाल अनि बथानका निम्ति खर्कहरू मात्र पाए।

[5] यसरी याहवेहले मोशालाई आज्ञा दिनुभएजस्तै, इस्राएलीहरूले देशलाई विभाजन गरे।

[6] एक दिन यहूदाका मानिसहरूले यहोशूलाई गिलगालमा भेट गरे। अनि कनज्जी यपून्‍नेका छोरा कालेबले तिनलाई भने, “याहवेहले तपाईं र मेरो विषयमा परमेश्‍वरका जन मोशालाई कादेश-बर्नेमा भन्‍नुभएको कुरा तपाईंलाई थाहै छ।

[7] याहवेहका सेवक मोशाले मलाई यो देशको भेद लिनलाई कादेश-बर्नेबाट पठाउँदा म चालीस वर्षको थिएँ। अनि मैले तिनलाई आफ्नो सत्य बयान दिएँ।

[8] तर मसँग माथि जाने मेरा दाजुभाइहरूले मानिसहरूको हृदय भयभीत तुल्याइदिए। तर मैलेचाहिँ याहवेह मेरा परमेश्‍वरलाई सम्पूर्ण हृदयले पछ्याएँ।

[9] यसकारण त्यस दिन मोशाले मसँग, ‘तेरा पाइलाले टेकेको देश सधैँको निम्ति तँ र तेरा सन्तानहरूका निम्ति उत्तराधिकारको भाग हुनेछ। किनकि तैँले याहवेह मेरो परमेश्‍वरलाई सम्पूर्ण हृदयले पछ्याएको छस् भनी शपथ खानुभएको थियो।’

[10] “यसकारण जब इस्राएल उजाडस्थानमा भौँतारिँदै हिँडिरहेको बेला याहवेहले प्रतिज्ञा गर्नुभएझैँ, उहाँले यो कुरा मोशासँग भन्‍नुभएदेखि उसो उहाँले मलाई पैँतालीस वर्षसम्म जीवित राख्नुभएको छ। यसरी आजको दिन म पचासी वर्षको भएको छु!

[11] मोशाले मलाई जासुस गर्न पठाएको दिनमा जस्तै आज पनि म बलियो छु। म लडाइँमा जाँदा जति बलियो थिएँ, आज पनि त्यत्तिकै बलियो छु।

[12] अब त्यस दिन याहवेहले मलाई प्रतिज्ञा गर्नुभएझैँ, यो पहाडी मुलुक मलाई दिनुहोस्। त्यहाँ अनाकीहरू बस्दछन्। अनि तिनीहरूका सहरहरू ठूला र सुरक्षित छन् भनी तपाईं आफैँले सुन्‍नुभएको छ। तर याहवेहको सहायताले म तिनीहरूलाई धपाइदिनेछु।”

[13] तब यहोशूले यपून्‍नेका छोरा कालेबलाई आशिष् दिए। अनि तिनलाई तिनको उत्तराधिकारको रूपमा हेब्रोन दिए।

[14] यसरी त्यस दिनदेखि उसो हेब्रोन कनज्जी यपून्‍नेका छोरा कालेबको अधीनमा छ। किनकि तिनले याहवेह इस्राएलको परमेश्‍वरलाई सम्पूर्ण हृदयले पछ्याएका थिए।

[15] (हेब्रोनलाई किर्यत-अर्बा भनिन्थ्यो। अर्बाचाहिँ अनाकीहरू बीचका सबैभन्दा महान् मानिस थिए।) त्यसपछि देशलाई युद्धबाट विश्राम मिल्यो।

यहोशू — Chapters