Skip to content
Opens in a new window
Listen to this chapter • 5:38

[1] तब नूनका छोरा यहोशूले शित्तीमबाट दुई मानिसलाई जासुसी गर्न यसो भन्दै गुप्‍तमा पठाए: “जाओ, र त्यस देशलाई हेर, विशेष गरी यरीहोलाई।” यसकारण तिनीहरू गए, र राहाब नाम भएकी एउटी वेश्याको घरमा गए, र त्यहीँ बास बसे।

[2] यरीहोको राजालाई यसो भनियो, “सुन्‍नुहोस्, आज राति यस देशको भेद लिन भनी केही इस्राएलीहरू यहाँ आएका छन्।”

[3] यसकारण यरीहोको राजाले राहाबकहाँ यो समाचार पठाए: “तँकहाँ आएर तेरो घरभित्र बसेका मानिसहरूलाई बाहिर निकालेर ले; किनकि तिनीहरू समस्त देशको भेद लिन आएका छन्।”

[4] तर त्यस स्त्रीले ती दुई पुरुषहरूलाई लुकाएकी थिई। त्यसले भनी, “हो, ती पुरुषहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका हुन् भन्‍ने कुरा मलाई थाहा भएन।

[5] साँझमा सहरको मूलढोका बन्द हुने समयमा ती मानिसहरू गइहाले। तिनीहरू कुन बाटो गए, सो म जान्दिनँ। तिनीहरूको पछि झट्टै जानुहोस्। सायद तपाईंहरूले तिनीहरूलाई भेट्टाउन सक्नुहुनेछ।”

[6] (तर जासुसहरूलाई त्यस स्त्रीले माथि कौसीमा लगेर आफूले मिलाएर राखेको सनपाटका डाँठहरूका थाकमुनि लुकाएकी थिई।)

[7] यसकारण ती मानिसहरू ती जासुसहरूलाई खोज्दै यर्दनको बाटोमा घाटहरूसम्म गए। अनि खोजी गर्दै जाने ती मानिसहरू जानसाथ मूलढोका बन्द भइहाल्यो।

[8] राति ती जासुसहरू सुत्नुभन्दा अगि त्यो स्त्री माथि कौसीमा गई।

[9] अनि जासुसहरूलाई भनी, “याहवेहले यो देश तपाईंहरूलाई दिनुभएको छ भनी म जान्दछु। अनि तपाईंहरूको भयङ्ककर डरले हामीलाई छोपेको छ। यसकारण देशमा बस्‍ने सबै मानिसहरू तपाईंहरूको कारण डरले भयभीत भएका छन्।

[10] तपाईंहरू इजिप्टबाट निस्केर आउँदा याहवेहले कसरी तपाईंहरूका निम्ति लाल समुद्रलाई सुकाइदिनुभयो; अनि यर्दनको पूर्वपट्टि तपाईंहरूले पूर्ण रूपमा नाश पार्नुभएका एमोरीहरूका दुवै राजाहरू, सीहोन र ओगलाई के गर्नुभयो भनी हामीले सुनेका छौँ।

[11] यो कुरा सुनेपछि तपाईंहरूको कारण हामी भयभीत भयौँ र हामी सबैको साहस हरायो; किनकि याहवेह तपाईंहरूका परमेश्‍वर, उहाँ नै माथि स्वर्गका र तल पृथ्वीका परमेश्‍वर हुनुहुन्छ।

[12] “यसकारण अब मलाई याहवेहको नाममा शपथ खानुहोस्। मैले तपाईंहरूप्रति देखाएको दयाको कारण तपाईंहरूले मेरो परिवारप्रति पनि दया देखाउनुहुनेछ। मलाई एउटा निश्‍चित चिन्ह दिनुहोस्,

[13] ताकि तपाईंहरूले मेरा बुबा, आमा, दाजुभाइ, दिदीबहिनीहरू र तिनीहरूका सबै परिवारका जनहरूका जीवनको रक्षा गरिदिनुहुनेछ, अर्थात् तपाईंहरूले हामीलाई मृत्युबाट बचाउनुहुनेछ।”

[14] ती जासुसहरूले तिनलाई यसरी सान्त्वना दिए, “तिमीहरूको प्राणको सट्टा हाम्रो प्राण। हामीले के गरिरहेका छौँ भनी तिमीले अरूलाई भनेनौ भने याहवेहले यो देश हामीलाई दिनुहुन्छ, तब हामी तिमीहरूप्रति दयालु हुनेछौँ र आफ्नो वचन पूरा गर्नेछौँ।”

[15] यसकारण त्यसले जासुसहरूलाई झ्यालबाट एउटा डोरीले तल ओह्राली; किनकि त्यो बसेकी घर सहरको पर्खालको एउटा भाग थियो।

[16] त्यो स्त्रीले तिनीहरूलाई भनी, “पहाडहरूतिर जानुहोस् र ती खोज्नेहरूले तपाईंहरूलाई भेट्टाउनेछैनन्। ती खोज्नेहरू फर्केर नआएसम्म तीन दिनसम्म त्यहीँ लुकिबस्‍नुहोस्। अनि मात्र आफ्नो बाटो लाग्नुहोस्।”

[17] ती मानिसहरूले त्यसलाई भने, “तिमीले हामीलाई खान लगाएको शपथ हामी पूरा गर्नेछौँ;

[18] जब हामी यस देशमा प्रवेश गर्छौँ, तब तिमीले हामीलाई निकालेको झ्यालमा यो रातो डोरी बाँधिराख्नू। तिमीले आफ्नो बुबाआमा, तिम्रो दाजुभाइहरू र सम्पूर्ण परिवारलाई तिम्रो घरभित्र ल्याउनू;

[19] तर यदि कोही तिम्रो घरबाट बाहिर सडकमा गयो र मर्‍यो भने त्यसको रगतको दोष त्यसकै शिरमा पर्नेछ; अनि हामी जिम्मेवार हुनेछैनौँ। तर तिमीसँग घरभित्र हुनेहरूमाथि कसैले हात लगायो भने त्यसको रगतको दोष हाम्रो शिरमा पर्नेछ।

[20] तर यदि हामीले के गर्दैछौँ, त्यो तिमीले बतायौ भने जुन शपथ तिमीले हामीलाई खान लगाएकी थियौ, सो शपथबाट हामी मुक्त हुनेछौँ।”

[21] त्यसले जवाफ दिई, “म राजी छु। तपाईंहरूले भन्‍नुभएअनुसार नै होस्।” यसरी त्यसले तिनीहरूलाई पठाइदिई, र तिनीहरू गइहाले। अनि त्यसले झ्यालमा एउटा रातो डोरी बाँधी।

[22] अनि तिनीहरू गए, र पहाडमा पुगे। तिनीहरू त्यहाँ तीन दिनसम्म बसे। तिनीहरूलाई खोज्नेहरूले बाटोहरूमा खोजी गरे; तर तिनीहरूलाई भेट्टाउन नसकेपछि फर्केर आए।

[23] अनि ती दुई मानिसहरू पहाडबाट ओर्ले, र नदी तरेर नूनका छोरा यहोशूकहाँ आए। अनि तिनीहरूमाथि आइपरेका सबै कुरा तिनलाई बताए।

[24] तिनीहरूले यहोशूलाई भने, “साँच्‍चै नै याहवेहले सम्पूर्ण देश हाम्रो हातमा दिनुभएको छ। सबै मानिसहरू हाम्रो कारण भयभीत भएका छन्।”

यहोशू — Chapters