Skip to content
Opens in a new window
Listen to this chapter • 8:34

[1] दोस्रो चिट्ठा वंशअनुसार शिमियोनको कुललाई पर्‍यो। तिनीहरूको उत्तराधिकारको भाग यहूदाको इलाकाभित्र पर्थ्यो।

[2] तिनीहरूको भागमा यी सहरहरू थिए: बेर्शेबा (अर्थात्, शेबा), मोलादा,

[3] हसर-शूआल, बाला, एसेम,

[4] एल्तोलद, बतूल, होर्मा,

[5] सिक्लग, बेथ-मर्काबोत, हसर-सूसा,

[6] बेथ-लबाओत र शारूहेन गरी तेह्र वटा सहरहरू र तिनीहरूका गाउँहरू।

[7] ऐन, रिम्मोन, एतेर र आशान गरी चार वटा सहरहरू र तिनीहरूका गाउँहरू,

[8] अनि बालाथ-बेर (दक्षिणमा रामा) सम्म चारैतिरका सहरहरूका सबै गाउँहरू। योचाहिँ वंशअनुसार शिमियोनको कुलको उत्तराधिकार थियो।

[9] शिमियोनीहरूको उत्तराधिकारको भाग यहूदाको भागबाट लिइएको थियो। किनकि यहूदाको भाग तिनीहरूलाई चाहिएको भन्दा धेरै थियो। यसरी शिमियोनीहरूले आफ्नो उत्तराधिकारको भाग यहूदाको इलाकाभित्र पाए।

[10] तेस्रो चिट्ठा वंशअनुसार जबूलूनको कुलका निम्ति निस्क्यो: तिनीहरूको उत्तराधिकारको सिमाना सारीदसम्म पुग्थ्यो।

[11] पश्‍चिमतिर त्यो मरलामा पुगेर दब्बेशेतलाई छोएर योक्नामको छेउको खोल्सासम्म फैलिएको थियो।

[12] सारीदबाट त्यो पूर्वपट्टि घुमेर सूर्योदय हुने किस्लोथ-तबोरको इलाकापट्टि हुँदै, दाबरतदेखि माथि याफियासम्म पुगेको थियो।

[13] त्यसपछि त्यो पूर्वपट्टि बढेर गात-हेपेर र इथ-कासीनमा हुँदै, रिम्मोनबाट निस्केर नेआ भएतिर घुमेको थियो।

[14] अनि त्यो सिमाना उत्तरतर्फ हन्‍नतोनतिर घुमेर यिप्‍ताह-एलको बेँसीमा टुङ्गिएको थियो।

[15] त्यसमा काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथलेहेम गरी जम्मा बाह्र वटा सहरहरू र तिनीहरूका गाउँहरू थिए।

[16] यी सहरहरू र तिनीहरूका गाउँहरू वंशअनुसार जबूलूनको उत्तराधिकारको भाग थियो।

[17] चौथो चिट्ठा वंशअनुसार इस्साखारको कुललाई पर्‍यो।

[18] तिनीहरूका इलाकामा यी सहरहरू सामेल थिए: यिजरेल, कसुल्‍लोत, शूनेम,

[19] हपारैम, शीओन, अनाहारत,

[20] रब्बीत, किश्योन, एबेस,

[21] रेमेत, एन-गन्‍नीम, एन-हद्दा र बेथ-पसेस।

[22] सिमानाले तबोर, शहसूमा र बेथ-शेमेशलाई छोएर यर्दन नदीमा टुङ्गिन्थ्यो। यसका सोह्र वटा सहरहरू र तिनीहरूका गाउँहरू थिए।

[23] यी सहरहरू र तिनीहरूका गाउँहरू वंशअनुसार इस्साखारको कुलको उत्तराधिकारको भाग थियो।

[24] पाँचौँ चिट्ठा वंशअनुसार आशेरको कुललाई पर्‍यो।

[25] तिनीहरूको भागमा यी सहरहरू सामेल थिए: हेल्कत, हली, बेतेन, अक्षाप,

[26] अल्‍लम्मेलेक, अमाद र मिशाल। पश्‍चिमतिर सिमानाले कर्मेल र शीहोर-लिब्नातलाई छुन्थ्यो।

[27] त्यसपछि त्यो पूर्वमा बेथ-दागोनतिर फर्केर जबूलून र यिप्‍ताह-एलको बेँसीलाई छोएर, उत्तरतिर बेथ-एमेक र देब्रेपट्टि काबूललाई पार गरेर नीएलमा पुगेको थियो।

[28] त्यो अब्डोन, रहोब, हम्मोन र कना भएर महा सीदोनसम्म पुगेको थियो।

[29] त्यसपछि सिमाना रामातिर फर्केर टायरको किल्‍लामा हुँदै होसातिर मोडिन्थ्यो। अनि अक्जीबको इलाकामा महासागरमा निस्किआएको थियो।

[30] उम्मा, अपेक र रहोब पनि तिनीहरूको इलाकामा पर्दथे। यसका बाइस वटा सहरहरू र तिनीहरूका गाउँहरू थिए।

[31] यी सहरहरू र तिनीहरूका गाउँहरू वंशअनुसार आशेरको कुलको उत्तराधिकारको भागमा थियो।

[32] छैटौँ चिट्ठा वंशअनुसार नप्‍तालीको कुललाई पर्‍यो:

[33] तिनीहरूको सिमाना हेलेप र सानन्‍नीममा भएको मोरेको ठूलो रूखबाट भएर अदामी-नेकेब र यब्नेल हुँदै लक्‍कूममा गएर यर्दन नदीमा टुङ्गिएको थियो।

[34] त्यो सिमाना अज्नोथ-तबोरबाट पश्‍चिमतिर मोडिएर हुक्‍कोकमा निस्किएको थियो। यसले दक्षिणतिर जबूलूनलाई र पश्‍चिममा आशेरलाई, र पूर्वमा यर्दन नदीलाई छोएको थियो।

[35] पर्खाल लगाइएका सहरहरू सिद्दिम, सेर, हम्मत, रक्‍कत, किन्‍नरेत,

[36] अदमा, रामा, हासोर,

[37] केदेश, एद्रई, एन-हासोर,

[38] यिरोन, मिग्दल-एल, होरेम, बेथ-अनात र बेथ-शेमेश थिए। यसका उन्‍नाइस वटा सहरहरू र तिनीहरूका गाउँहरू थिए।

[39] यी सहरहरू र तिनीहरूका गाउँहरू वंशअनुसार नप्‍तालीको कुलको उत्तराधिकारको भाग थियो।

[40] सातौँ चिट्ठा वंशअनुसार दानको कुललाई पर्‍यो।

[41] तिनीहरूका उत्तराधिकारका प्रान्तहरूमा यी सहरहरू सामेल थिए: सोरा, एश्तोल, इर-शेमेस,

[42] शालवीन, अय्यालोन, इत्ला,

[43] एलोन, तिम्ना, एक्रोन,

[44] एल्तके, गिब्बतोन, बालात,

[45] यहूद, बेने-बेरक, गात-रिम्मोन,

[46] मे-यरकोन र रक्‍कोनसँगै जोप्पातिर फर्केको इलाका।

[47] (दानवंशीहरूले तिनीहरूको अधिकारको प्रान्त गुमाएको हुनाले तिनीहरू माथि गए। अनि लेशेममाथि आक्रमण गरेर लिए। त्यसलाई तरवारले नष्‍ट गरे; अनि त्यसलाई कब्जा गरे। तिनीहरू लेशेममा बसोबास गरे। अनि लेशेमलाई तिनीहरूको पुर्ख्यौली दानको नाम दिए।)

[48] यी सहरहरू र तिनीहरूका गाउँहरू वंशअनुसार दानको कुलका उत्तराधिकारको भाग थियो।

[49] जब तिनीहरूले देशलाई विभाजन गरेर भाग लगाउने काम गरी सिद्ध्याए, तब इस्राएलीहरूले नूनका छोरा यहोशूलाई तिनीहरूकै बीचमा उत्तराधिकारको भाग दिए।

[50] याहवेहले तिनीहरूलाई आज्ञा गर्नुभएअनुसार गरे। यहोशूले मागेका सहर एफ्राइमको पहाडी मुलुकमा भएको तिम्नथ-सेरह तिनीहरूले दिए। अनि त्यहाँ तिनले सहरलाई निर्माण गरे, र त्यहीँ बसोबास गरे।

[51] भेट हुने पालको प्रवेशद्वारमा याहवेहको उपस्थितिमा शीलोमा चिट्ठा हालेर पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका कुलका वंशका मुखियाहरूले तोकेका मुलुकहरू यिनै हुन्। यसरी तिनीहरूले देश बाँडफाँड गर्ने काम सिद्ध्याए।

यहोशू — Chapters