Skip to content
Opens in a new window
Listen to this chapter • 2:41

[1] तब मोशा मोआबको मैदानबाट यरीहोको वारिपट्टि भएको नेबो पर्वतको पिसगाको टाकुरामा उक्ले। त्यहाँ याहवेहले तिनलाई सम्पूर्ण देश, अर्थात् गिलाददेखि दानसम्म,

[2] नप्‍ताली, मनश्शे र एफ्राइमको समस्त प्रान्त, र पश्‍चिमी भूमध्य सागरसम्म यहूदाको सबै प्रदेश,

[3] दक्षिणतिर र यरीहोको क्षेत्रदेखिको समस्त इलाका र सोअरसम्मका खजूरका सहरहरूसमेत देखाउनुभयो।

[4] तब याहवेहले तिनलाई भन्‍नुभयो, “यही देश, तेरो भावी सन्तानलाई दिनेछु भनी मैले अब्राहाम, इसहाक र याकोबलाई शपथ खाएर प्रतिज्ञा गरेको थिएँ। मैले तँलाई आफ्नै आँखाले यो हेर्न दिएँ; तर तँ त्यहाँ पार गरेर जानेछैनस्।”

[5] याहवेहको वचनअनुसार मोआबको त्यही देशमा याहवेहका सेवक मोशाको मृत्यु भयो।

[6] याहवेहले तिनलाई बेथ-पोरको पारिपट्टिको क्षेत्रमा गाड्नुभयो; तर आजको दिनसम्म तिनको चिहान कहाँ छ भनी कसैले जान्दैनन्।

[7] जब मोशाको मृत्यु भयो, तब तिनी एक सय बीस वर्ष पुगेका थिए। तर तिनको आँखाको ज्योति कमजोर भएको थिएन, न त तिनको बल नै घटेको थियो।

[8] इस्राएलीहरूले मोशाको निम्ति मोआबको मैदानमा रुने र विलाप गर्ने समय अन्त्य नभएसम्म तीस दिनसम्म शोक गरे।

[9] अब नूनका छोरा यहोशू बुद्धिका आत्माले भरिपूर्ण थिए। किनभने मोशाले तिनीमाथि आफ्ना हात राखेका थिए। यसकारण इस्राएलीहरूले यहोशूका कुरा सुने। अनि याहवेहले मोशालाई दिनुभएका आज्ञाहरू पालन गरे।

[10] त्यस समयदेखि इस्राएलमा मोशाजस्तो अर्को कुनै अगमवक्ता खडा भएको छैन, जसलाई याहवेहले आमने-सामने गरी जान्‍नुहुन्थ्यो।

[11] मोशा, जसलाई याहवेहले इजिप्टमा अर्थात् फारो र उनका सबै अधिकारीहरू र उनको समस्त देशमा अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू देखाउनलाई पठाउनुभयो, र तिनले ती सबै गरे।

[12] किनकि इस्राएलको दृष्‍टिमा मोशाले देखाएका महान् शक्ति र गरेका भयानक कामहरू कहिल्यै कसैले गर्न सकेका छैनन्।

व्यवस्था — Chapters