Skip to content
Opens in a new window
Listen to this chapter • 2:21

[1] योसेफका सन्तानको निम्ति अधिकारको भाग यरीहोको पूर्वपट्टिको मूल यर्दनदेखि सुरु भएर त्यहाँबाट उकालो हुँदै मरुभूमिलाई छिचोल्दै बेथेलको पहाडी देशसम्म पुगेको थियो।

[2] त्यो बेथेल अर्थात्, लूजदेखि अगि बढेर अरकीहरू बसेका अतारोत प्रान्तसम्म पुगेको थियो।

[3] त्यसपछि पश्‍चिमतिर यल्पेतीहरूको इलाका हुँदै ओर्लेर तल्‍लो बेथ-होरोनको इलाका भएर गेजेरसम्म पुगेर समुद्रमा टुङ्गिएको थियो।

[4] यसरी योसेफका सन्तानहरू एफ्राइम र मनश्शेले, तिनीहरूका उत्तराधिकारको भाग पाए।

[5] एफ्राइमको इलाका, तिनीहरूका वंशअनुसार यस्तो थियो: पूर्वमा तिनीहरूको सिमाना अतारोत-अद्दारदेखि उक्लेर माथिल्‍लो बेथ-होरोन हुँदै,

[6] महासागरसम्म पुगेको थियो। उत्तरमा मिक्मतातबाट पूर्वमा तानत-शीलोतिर घुमेर त्यसबाट पार भएर यानोहसम्म पुगेको थियो।

[7] त्यसपछि यानोहबाट तल झरेर अतारोत र नारामा पुगेर यरीहोलाई छुँदै, यर्दनबाट निस्केको थियो।

[8] तप्पूहबाट त्यो सिमाना पश्‍चिममा कनाको खोल्सामा पुगेर महासागरमा समाप्‍त भएको थियो। एफ्राइम कुलको वंशअनुसार, तिनीहरूका उत्तराधिकारको भाग यही थियो।

[9] यसबाहेक मनश्शेहरूको उत्तराधिकारभित्र एफ्राइम वंशहरूका निम्ति अलग गरिएका सबै सहरहरू र तिनीहरूका गाउँहरू पनि सामेल थिए।

[10] तिनीहरूले गेजेरमा बस्‍ने कनानीहरूलाई निकालेनन्। आजको दिनसम्म कनानीहरू एफ्राइमका मानिसहरूसँग बसेका छन्, तर तिनीहरू दास भएर बसेका छन्।

यहोशू — Chapters