Skip to content
Opens in a new window
Listen to this chapter • 6:29

[1] अब यर्दनको पश्‍चिमतिरका सबै राजाहरूले यी कुराहरूको बारेमा सुने। ती राजाहरू यिनै थिए: हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी अनि यबूसी, जो पहाडी मुलुकका पश्‍चिमका डाँडाहरू, फेदी र लेबनानसम्म फैलिएका महासागरका किनारामा बस्दथे।

[2] तिनीहरू यहोशू र इस्राएलको विरुद्धमा युद्ध गर्न भनी एकजुट भएर आए।

[3] जब गिबोनका मानिसहरूले यहोशूले यरीहो र ऐलाई जे गरेका थिए त्यसको बारेमा सुने,

[4] तब तिनीहरूले छल गर्ने विचार गरे। तिनीहरू राजदूतको रूपमा गए, जसका गधाहरूमाथि फाटेका बोराहरू, पुराना फाटेका र टालेका मशकहरूले लादिएका थिए।

[5] ती मानिसहरूले खुट्टामा पुराना टालेका जुत्ताहरू र फाटेका लुगाहरू लगाएका थिए। तिनीहरूका सबै भोजनहरू सुकेका र ढुसी परेका थिए।

[6] तब तिनीहरू गिलगालमा यहोशूको छाउनीमा गएर तिनलाई र इस्राएलीहरूलाई भने, “हामी टाढाको देशबाट आएका हौँ; यसकारण हामीसँग सन्धि गर्नुहोस्।”

[7] इस्राएलका मानिसहरूले हिव्वीहरूलाई भने, “सायद, तिमीहरू हाम्रै नजिकमा बस्‍ने मानिसहरू हौ। अनि हामीले कसरी तिमीहरूसँग सन्धि गर्न सक्छौँ?”

[8] तिनीहरूले यहोशूलाई भने, “हामी तपाईंका सेवकहरू हौँ।” तर यहोशूले सोधे, “तिमीहरू को हौ? र कहाँबाट आएका हौ?”

[9] तिनीहरूले जवाफ दिए: “हामी तपाईंका सेवकहरू धेरै टाढाको देशबाट याहवेह तपाईंका परमेश्‍वरको ख्याति सुनेको हुनाले आएका हौँ। किनकि उहाँले इजिप्टमा गर्नुभएका सबै कुराहरूको वृतान्त हामीले सुनेका छौँ।

[10] अनि उहाँले यर्दनको पूर्वका दुई एमोरी राजाहरू अर्थात् हेश्बोनका राजा सीहोन र अस्तारोतमा राज्य गर्ने बाशानका राजा ओगलाई के गर्नुभयो, त्यो सुनेका छौँ।

[11] अनि हाम्रा प्रधानहरू र हाम्रा देशमा बस्‍ने सबै मानिसहरूले हामीलाई भने, ‘यात्राका निम्ति चाहिने सबै खानेकुराहरू बोकेर जाओ, र तिनीहरूलाई भेटेर भन; “हामी तपाईंहरूका सेवकहरू हौँ, यसैले हामीसँग सन्धि गर्नुहोस्।” ’

[12] हामी तपाईंहरूलाई भेट्न निस्केको दिन हामीले पोको पारेका यी हाम्रा रोटीहरू तातो-तातै थिए। तर अब हेर्नुहोस्, यो कति सुक्खा र ढुसी परिसकेको छ।

[13] अनि हामीले यी मशकहरू दाखमद्यले भर्दा नयाँ नै थिए। तर अब हेर्नुहोस्, यी प्वाल परिसकेका छन्। अनि हाम्रा लुगाहरू र जुत्ताहरू लामो यात्राको कारणले थोत्रा भइसकेका छन्।”

[14] तब इस्राएलीहरूले तिनीहरूका खाने कुराहरूको जाँच गरे, तर याहवेहबाट केही सल्‍लाह लिएनन्।

[15] तब यहोशूले तिनीहरूलाई जीवितै राख्ने शान्ति-सन्धि गरे। अनि सभामा अगुवाहरूले त्यसलाई शपथद्वारा सहमत गरे।

[16] गिबोनीहरूसँग शान्ति-सन्धि गरेको तीन दिनपछि इस्राएलीहरूले यो कुरा थाहा पाए, कि तिनीहरू त उनीहरूकै नजिकमा बस्‍ने छिमेकीहरू पो रहेछन्।

[17] यसकारण इस्राएलीहरू प्रस्थान गरे। अनि तेस्रो दिन तिनीहरूका सहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत-यारीममा आइपुगे।

[18] तर इस्राएलीहरूले तिनीहरूमाथि आक्रमण गरेनन्; किनकि समुदायका अगुवाहरूले तिनीहरूसँग याहवेह इस्राएलका परमेश्‍वरको नाममा शपथ खाएका थिए। सारा समुदाय ती अगुवाहरूसँग गनगन गरे।

[19] तर सबै अगुवाहरूले जवाफ दिए, “हामीले तिनीहरूलाई याहवेह इस्राएलका परमेश्‍वरको नाममा शपथ खाएका छौँ। अब हामीले तिनीहरूलाई छुन सक्दैनौँ।

[20] हामी तिनीहरूसँग यसो गरौँ: हामीले तिनीहरूलाई जीवितै राखौँ, ताकि हामीले तिनीहरूसँग खाएको शपथ भङ्ग गरेको कारण हामीमाथि परमेश्‍वरको क्रोध नपरोस्।”

[21] तिनीहरूले अझ भने, “तिनीहरू जीवितै रहून्, तर तिनीहरू सारा समुदायका निम्ति दाउरा काट्नेहरू र पानी भर्नेहरू होऊन्।” यसरी ती अगुवाहरूले तिनीहरूसँग गरिएको प्रतिज्ञा कायम राखे।

[22] तब यहोशूले गिबोनीहरूलाई बोलाएर भने, “तिमीहरूले हामीलाई ‘हामी तपाईंहरूभन्दा टाढा बस्छौँ,’ भनेर किन छल गर्‍यौ? वास्तवमा तिमीहरू त हाम्रै नजिक बसोबास गर्नेहरू रहेछौ।

[23] यसकारण अब तिमीहरू श्रापित भएका छौ। तिमीहरू मेरा परमेश्‍वरका भवनको दाउरा काट्ने र पानी भर्ने कामबाट कहिल्यै मुक्त हुनेछैनौ।”

[24] तिनीहरूले यहोशूलाई भने, “याहवेह तपाईंका परमेश्‍वरले आफ्नो सेवक मोशालाई यो सम्पूर्ण देश तपाईंहरूलाई दिन र यस देशका सारा बासिन्दाहरूलाई नष्‍ट गर्न आज्ञा दिनुभएको थियो। त्यसैले हामी आफ्नो ज्यानको निम्ति डरायौँ। यसकारण हामीले यसो गरेका हौँ।

[25] अब हामी तपाईंहरूको हातमा छौँ। तपाईंहरूलाई जस्तो उचित र ठिक लाग्छ, हामीसित त्यही गर्नुहोस्।”

[26] यसकारण यहोशूले इस्राएलीहरूबाट तिनीहरूलाई जोगाए; र तिनीहरूलाई मारेनन्।

[27] त्यस दिन यहोशूले गिबोनीहरूलाई सम्पूर्ण समुदायका निम्ति र याहवेहले चुन्‍नुहुने उहाँको वेदीका निम्ति दाउरा काट्ने र पानी भर्नेहरू बनाए। अनि आजको दिनसम्म पनि तिनीहरूले त्यही काम गर्छन्।

यहोशू — Chapters