[1] जब यहोशू धेरै वृद्ध भए, तब याहवेहले तिनलाई भन्नुभयो, “तँ धेरै वृद्ध भएको छस्। तर अधिकार गर्नुपर्ने देशहरू अझ धेरै छन्।
[2] “बाँकी रहेका देशहरू यिनै हुन्: “पलिश्तीहरू र गेशूरीहरूका समस्त इलाका:
[3] इजिप्टको पूर्वमा पर्ने शीहोर नदीदेखि उत्तरमा पर्ने एक्रोनका इलाकासम्म। यी इलाकाहरू कनानीहरूको भागमा गनिन्छ। यद्यपि त्यहाँ पाँच पलिश्ती शासकहरूले गाजा, अश्दोद, अश्कलोन, गित्ती र एक्रोनमा शासन गर्छन्। अनि अव्वीहरूको इलाका
[4] दक्षिणमा; कनानीहरूका सबै देशहरू, सीदोनीहरूको आरादेखि एमोरीहरूको इलाका अपेकसम्म;
[5] गबालीहरूको इलाका; समस्त पूर्वको लेबनान, हेर्मोन पर्वतको मुन्तिरको बाल-गाददेखि लेबो-हमातसम्म।
[6] “लेबनानदेखि मिस्रापोत-मैमसम्मका पहाडी क्षेत्रका सबै बासिन्दाहरू अर्थात् सीदोनीहरू, तिनीहरूलाई म आफैँले इस्राएलीहरूको सामुबाट निकालिदिनेछु। मैले तँलाई निर्देशन दिएअनुसार निश्चित रूपमा यो देश इस्राएलीहरूका निम्ति उत्तराधिकारस्वरूप छुट्याउनू।
[7] अनि यसलाई नौ वटा कुलहरू र मनश्शेका आधा कुलको बीचमा उत्तराधिकारको रूपमा बाँडिदिनू।”
[8] याहवेहका सेवक मोशाले तिनीहरूलाई अगिबाटै तोकिदिएअनुसार मनश्शेको आधा कुल, रूबेनीहरू र गादीहरूले यर्दनको पूर्वपट्टिका प्रान्तहरू उत्तराधिकारको रूपमा पाएका थिए।
[9] यो अर्नोनको घाटीको किनारमा भएको अरोएरदेखि घाटीको बीचमा भएको सहरसम्म फैलिएको थियो। अनि यसमा दीबोनसम्मै मेदेबाको पठार पनि सामेल थियो।
[10] अनि अम्मोनीहरूको सिमानासम्म एमोरीहरूका राजा सीहोनका सबै सहरहरू, जसले हेश्बोनमा राज्य गर्नेगर्थे।
[11] यसमा गेशूरी र माकातीहरूको इलाका गिलाद, सम्पूर्ण हेर्मोन पर्वत र सलेकासम्मै समस्त बाशान पनि पर्दथ्यो।
[12] अर्थात् अस्तारोत र एद्रईमाथि शासन गर्ने रपाईहरूका आखिरी पुस्ताहरूमध्येका एक जना बाशानका राजा ओगको समस्त राज्य पर्दथ्यो। मोशाले तिनीहरूलाई जितेर तिनीहरूका देश लिएका थिए।
[13] तर इस्राएलीहरूले गेशूरी र माकातीहरूलाई धपाएनन्। यसकारण तिनीहरू आजको दिनसम्म इस्राएलीहरूका बीचमा बसोबास गर्दैआएका छन्।
[14] तर मोशाले लेवीको कुललाई चाहिँ कुनै उत्तराधिकारको भाग दिएनन्। किनकि याहवेह इस्राएलका परमेश्वरले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ, उहाँलाई चढाएका अन्नबलिहरू तिनीहरूको उत्तराधिकारको भाग थियो।
[15] मोशाले रूबेनको कुललाई वंशअनुसार दिएका भूमि यिनै हुन्:
[16] अर्नोनको घाटीको किनारमा भएको अरोएरको इलाका र घाटीको बीचमा भएको सहर र मेदेबा पारिको समस्त पठारदेखि
[17] हेश्बोन र पठारमा भएका सबै सहरहरू, जसमा दीबोन, बामोत-बाल, बेथ-बालमोन सामेल थिए।
[18] यहसा, कदेमोत, मेपात,
[19] किर्यातैम, सिब्मा, पहाडी बेँसीको सेरेथ-शेहार,
[20] बेथ-पोर, पिसगाको भिरालो पाखो र बेथ-यशीमोत,
[21] पठारका सबै सहरहरू र हेश्बोनमा शासन गर्ने एमोरीहरूको राजा सीहोनका सबै राज्यहरू। मोशाले तिनलाई र मिद्यानका मुखियाहरू एवी, रेकेम, सूर, हूर र रेवा त्यस देशमा बस्ने राजकुमारहरू जो सीहोनसँग मिलेका थिए, तिनीहरूलाई जितेका थिए।
[22] लडाइँमा मारिएकाहरूबाहेक, इस्राएलीहरूले बालामको छोरा बओरलाई तरवारले मारे, जसले जोखना हेर्ने गर्थे।
[23] रूबेनीहरूको सिमाना यर्दन नदीको किनार थियो। यी सहरहरू र गाउँहरूचाहिँ रूबेनीहरूका वंशअनुसार उत्तराधिकारको भाग थियो।
[24] मोशाले गादको कुललाई वंशअनुसार दिएका भूमि यिनै हुन्:
[25] याजेरको इलाका, गिलादका सबै सहरहरू रब्बाको नजिक अरोएरसम्मको अम्मोनीको आधा देश;
[26] अनि हेश्बोनदेखि रामत-मिस्पा र बेतोनीमसम्म, र महनाइमदेखि दबीरको इलाकासम्म;
[27] अनि बेँसीमा, बेथ-हाराम, बेथ-निम्रा, सुक्कोत र सापोनसँगै हेश्बोनको राजा सीहोनका बाँकिरहेको राज्यसम्म (यर्दनको पूर्वपट्टिको गालीलको समुद्रको अन्त्यसम्म)।
[28] वंशअनुसार यी सहरहरू र तिनीहरूका गाउँहरू गादीहरूको पैतृक सम्पत्ति थियो।
[29] मनश्शेको वंशअनुसार यसको आधा कुललाई, अर्थात् मनश्शेका सन्तानहरूका आधा परिवारलाई मोशाले दिएका भूमि यिनै थिए:
[30] महनाइमदेखि बाशानको समस्त इलाकासम्म फैलिएको, बाशानका राजा ओगका समस्त राज्य, बाशानमा भएका याईरका सबै गाउँहरू, साठी वटा सहरहरू,
[31] गिलादको आधा भाग र अस्तारोत र एद्रई (बाशानमा ओगका राजकीय सहरहरू)। योचाहिँ मनश्शेको छोरा माकीरका सन्तानहरूका लागि थियो। माकीरका छोराहरूलाई तिनीहरूका वंशअनुसार आधालाई दिइएको थियो।
[32] यरीहोको पूर्वमा भएको यर्दनपारि मोआबको मैदानमा हुँदा मोशाले दिएको उत्तराधिकारको भाग यही थियो।
[33] तर लेवीको कुललाई चाहिँ मोशाले कुनै उत्तराधिकारको भाग दिएका थिएनन्। तिनले उनीहरूलाई प्रतिज्ञा गरेझैँ, याहवेह इस्राएलका परमेश्वर नै तिनीहरूका उत्तराधिकारको भाग हुनुभयो।