Skip to content
Opens in a new window
Listen to this chapter • 5:59

[1] जब हासोरका राजा याबीनले यो सुने, तब तिनले मादोनका राजा योबाब, शिम्रोन र अक्षापका राजाहरूलाई,

[2] साथै उत्तरी पहाडहरूमा भएका किन्‍नरेतको दक्षिण अराबामा, पश्‍चिमी फेदीमा र पश्‍चिममा नापोत-डोरमा भएका राजाहरूलाई;

[3] पूर्व र पश्‍चिममा कनानीहरू, एमोरीहरू, हित्तीहरू, परिज्जीहरू र पहाडी मुलुकका यबूसीहरू, र मिस्पा इलाकामा हेर्मोनको मुन्तिरका हिव्वीहरूलाई खबर पठाए।

[4] तिनीहरू आ-आफ्ना सबै फौजहरूसँग समुद्रको किनारका बालुवासरह गन्‍नै नसकिने गरी घोडाहरू र रथहरूको ठूलो संख्या भएको विशाल सेना लिएर निस्किआए।

[5] यी सबै राजाहरूले सेनाहरू लिएर मेरोमको ताल नजिक इस्राएलको विरुद्धमा लडाइँ गर्न एकसाथ छाउनी हाले।

[6] याहवेहले यहोशूलाई भन्‍नुभयो, “तिनीहरूसँग नडरा; किनकि भोलि यस बेलासम्ममा म तिनीहरू सबैलाई मारेर इस्राएलको हातमा सुम्पिदिनेछु। तैँले तिनीहरूका घोडाहरूका ढोडनसा काटिदिनू र तिनीहरूका रथहरू जलाइदिनू।”

[7] यसकारण यहोशू र तिनका सम्पूर्ण फौजले मेरोमको तालमा अचानक आएर तिनीहरूमाथि आक्रमण गरे।

[8] अनि याहवेहले तिनीहरूलाई इस्राएलको हातमा सुम्पिदिनुभयो। तिनीहरूले उनीहरूलाई परास्त गरेर विशाल सीदोनदेखि मिस्रापोत-मैमसम्म, र एउटै पनि जीवित नरहेसम्म पूर्वको मिस्पाको बेँसीसम्म खेदे।

[9] याहवेहले निर्देशन दिनुभएअनुसार यहोशूले त्यसै गरे। तिनले तिनीहरूका घोडाहरूका ढोडनसा काटिदिए, र तिनीहरूका रथहरू जलाइदिए।

[10] त्यस समयमा यहोशू फर्के, र हासोरलाई कब्जा गरे। अनि त्यसका राजालाई तरवारले मारे। (हासोरचाहिँ यी सबै राज्यहरूको केन्द्र थियो।)

[11] तिनीहरूले त्यहाँ भएका हरेकलाई तरवारले मारे। तिनीहरूले सास हुनेजति एउटैलाई नछोडी सबैलाई नष्‍ट गरे। अनि तिनले हासोरलाई पनि जलाइदिए।

[12] यहोशूले सम्पूर्ण राजकीय सहरहरू र तिनीहरूका राजाहरूलाई कब्जा गरे। अनि तिनीहरूलाई तरवारले मारे। याहवेहका सेवक मोशाले आज्ञा गरेअनुसार यहोशूले तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गरे।

[13] तैपनि इस्राएलीहरूले डाँडामा बनाएका कुनै पनि सहर जलाएनन्। यहोशूले हासोरलाई मात्र जलाए।

[14] इस्राएलीहरूले यस सहरहरूका सबै लुटका धनमाल र गाईबस्तु आफ्ना लागि लगे। तर सास फेर्ने एउटैलाई पनि जीवित नराखी सबै मानिसहरूलाई पूर्ण रूपमा तरवारले मारेर नष्‍ट पारे।

[15] याहवेहले आफ्ना सेवक मोशालाई आज्ञा गर्नुभएजस्तै मोशाले यहोशूलाई आज्ञा दिएका थिए। अनि यहोशूले त्यही गरे; याहवेहले मोशालाई दिनुभएको आज्ञाहरू एउटै पनि अधुरो नछोडी तिनले सबै पूरा गरे।

[16] यसरी यहोशूले सम्पूर्ण देश जिते: पहाडी मुलुक, सम्पूर्ण दक्षिणी भाग, गोशेनको सारा इलाका, पश्‍चिमी डाँडाहरू, अराबा र इस्राएलका पर्वतहरू अनि त्यसका फेदीहरूसमेत,

[17] सेइरदेखि माथिको हालाक पर्वतदेखि हेर्मोन पर्वत मुन्तिरको लेबनानमा भएको बेँसीको बाल-गादसम्म तिनले तिनीहरूका सबै राजाहरूलाई पक्रे, र तिनीहरूलाई मारे।

[18] यहोशूले यी सबै राजाहरू विरुद्ध लामो समयसम्म युद्ध गरे।

[19] गिबोनमा बस्‍ने हिव्वीहरूबाहेक एउटै पनि सहरले इस्राएलसँग शान्तिको सम्झौता गरेनन्। तर इस्राएलीहरूले तिनीहरू सबैलाई लडाइँमा जिते।

[20] किनकि याहवेह आफैँले इस्राएलसँग युद्ध गर्न तिनीहरूको हृदय कठोर तुल्याइदिनुभयो, ताकि याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ इस्राएलले तिनीहरूलाई निर्दयतासाथ पूर्ण रूपले नाश गरोस्।

[21] त्यस बेला यहोशूले गएर अनाकीहरूलाई पहाडी मुलुकको हेब्रोन, दबीर र अनाब, यहूदाको पहाडी मुलुक अनि इस्राएलका सम्पूर्ण पहाडी मुलुकबाट नष्‍ट गरे। यहोशूले तिनीहरू र तिनीहरूका सहरहरूलाई पूर्ण रूपले नष्‍ट गरे।

[22] इस्राएली प्रान्तमा एउटै पनि अनाकी रहेनन्। तर गाजा, गात र अश्दोदमा कोही-कोही मात्र बाँचेका थिए।

[23] यसरी याहवेहले मोशालाई निर्देशन दिनुभएझैँ यहोशूले सम्पूर्ण देश कब्जामा लिए। अनि त्यस देशलाई इस्राएलीहरूका कुलको दलअनुसार पैतृक सम्पत्तिको रूपमा तिनीहरूलाई दिए। त्यसपछि देशले युद्धबाट विश्राम पायो।

यहोशू — Chapters