Skip to content
Opens in a new window
Listen to this chapter • 3:52

[1] बिहान सबेरै यहोशू र सारा इस्राएलीहरू शित्तीम छाडेर यर्दनमा गए। अनि त्यहाँ तिनीहरूले नदी पार गर्न अगि छाउनी हालेर बास बसे।

[2] तीन दिनपछि अधिकृतहरू सबै छाउनीहरूमा गए।

[3] अनि मानिसहरूलाई यसरी आदेश दिए: “जब तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको साक्षी पाटीको सन्दुक र लेवी पुजारीहरूले त्यसलाई बोकेका देखौला, तब तिमीहरू आ-आफ्ना ठाउँबाट हिँड्नू र त्यसको पछि-पछि लाग्नू।

[4] तब तिमीहरूले कता जानुपर्ने हो, सो जान्‍नेछौ; किनकि तिमीहरू पहिले कहिल्यै यो बाटोबाट भएर गएका छैनौ। तर तिमीहरू र सन्दुकको बीचमा दुई हजार क्यूबिटको दूरी राख्नू; अनि सन्दुकको नजिक नजानू।”

[5] यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले आफूलाई पवित्र बनाओ; किनकि भोलि याहवेहले तिमीहरूका बीचमा अचम्मको काम गर्नुहुनेछ।”

[6] यहोशूले पुजारीहरूलाई भने, “साक्षी पाटीको सन्दुक लिएर मानिसहरूका अगि-अगि पारिपट्टि जाओ।” यसकारण तिनीहरूले सन्दुकलाई उठाए, र मानिसहरूका अगि-अगि हिँडे।

[7] अनि याहवेहले यहोशूलाई भन्‍नुभयो, “आज म तँलाई सबै इस्राएलीहरूका दृष्‍टिमा उच्‍च पार्नेछु। जसरी म मोशासँग थिएँ, त्यसरी नै तँसँग पनि छु भनी तिनीहरूले जानून्।

[8] साक्षी पाटीको सन्दुक बोक्ने पुजारीहरूलाई तैँले यस्तो आज्ञा दिनू: ‘जब तिमीहरू यर्दन नदीको किनारमा आइपुग्छौ, तब यर्दनको पानीमा जानू, र नदीमा खडा रहनू।’ ”

[9] यहोशूले इस्राएलीहरूलाई भने, “यता आओ, र याहवेह तिमीहरूका परमेश्‍वरको वचन सुन।

[10] जीवित परमेश्‍वर तिमीहरूका बीचमा हुनुहुन्छ भनी तिमीहरूले यसरी थाहा गर्नेछौ। उहाँले निश्‍चय नै तिमीहरूको अगिबाट कनानी, हित्ती, हिव्वी, परिज्जी, गिर्गाशी, एमोरी र यबूसीहरूलाई धपाउनुहुनेछ।

[11] हेर, समस्त पृथ्वीका याहवेहको साक्षी पाटीको सन्दुक तिमीहरूका अगि-अगि यर्दनमा जानेछ।

[12] अब इस्राएलको हरेक कुलबाट एक-एक जना गरी बाह्र जना पुरुषहरू छान।

[13] अनि जब समस्त पृथ्वीका प्रभु याहवेहको सन्दुक बोक्ने पुजारीहरूका खुट्टाले यर्दनमा टेक्नेछन्, तब बग्दै गरेको पानी रोकिनेछ, र एक थुप्रो भई खडा हुनेछ।”

[14] यसकारण जब यर्दन तर्न भनी मानिसहरूले छाउनी भत्काए, तब साक्षी पाटीको सन्दुक बोक्ने पुजारीहरू तिनीहरूका अगि-अगि गए।

[15] त्यो समय अन्‍नको कटनीको समय थियो। यो समय यर्दनचाहिँ पानीले भरिएको थियो। तापनि करारको सन्दुक बोक्ने पुजारीहरू यर्दन नदीमा पुगेर तिनीहरूका खुट्टाले पानीको किनार छुनेबित्तिकै,

[16] माथिबाट तल बगेर आउने पानी बग्न छोड्यो। त्यो पानी धेरै टाढा सार्तानको नजिक आदम भनिने सहरनिर एक थुप्रो भई जम्मा भयो। अनि अराबा समुद्रतिर (अर्थात् मृत सागर) जाने ओरालोमा बग्दै गरेको पानीचाहिँ पूर्ण रूपले सुक्यो। यसरी मानिसहरू यरीहो नदीको अर्कोपट्टि पारि तरे।

[17] सबै इस्राएलीहरू सुक्खा जमिनबाट हिँडे, र सम्पूर्ण मानिसहरू नदी पार नगरुन्जेल याहवेहको करारको सन्दुक बोक्ने पुजारीहरू यर्दन नदीको बीचमा सुक्खा जमिनमा उभिरहे।

यहोशू — Chapters