Skip to content
Opens in a new window
Listen to this chapter • 9:03

[1] तब याहवेहले यहोशूलाई भन्‍नुभयो, “नडरा, निराश नहो। आफ्नो साथमा सम्पूर्ण सेनाहरू लिएर जा अनि ऐ सहरमाथि आक्रमण गर। किनकि मैले ऐको राजा, त्यसका मानिसहरू, त्यसको सहर र त्यसको देशलाई तेरो हातमा सुम्पिदिएको छु।

[2] तैँले ऐ र त्यसको राजासँग त्यस्तै गर्नू, जुन तैँले यरीहो र त्यसको राजासँग गरेको थिइस्। तर तैँले त्यहाँको लुटको माल र गाईबस्तु भने आफ्ना लागि ल्याउन सक्छस्। तैँले सहरको पछिल्तिर ढुकेर बस्‍नू।”

[3] यसकारण यहोशू र सम्पूर्ण फौज ऐमाथि आक्रमण गर्न निस्के। तिनले आफ्ना उत्तम लडाकुहरूबाट तीस हजारलाई छानेर तिनीहरूलाई राति नै पठाए।

[4] अनि तिनले यसरी आज्ञा गरे: “ध्यान दिएर सुन। तिमीहरू सहरको पछिल्तिर ढुकेर बस्‍नू। त्यहाँबाट धेरै टाढा नजानू। तिमीहरू सबै जना चनाखो भएर रहनू।

[5] म र मसँग भएका सबै मानिसहरू सहरतिर बढ्नेछौँ। अनि पहिलेझैँ, जब तिनीहरू हाम्रो विरुद्धमा निस्केर आउँछन्। हामी तिनीहरूदेखि भाग्नेछौँ।

[6] तिनीहरूले हामीलाई खेद्नेछन्। अनि तिनीहरूलाई सहरदेखि टाढा नपुर्‍याएसम्म हामी भागिरहने छौँ। तब तिनीहरूले सोच्नेछन्, ‘पहिलेझैँ तिनीहरू हामीदेखि भागिरहेका छन्।’ यसरी जब हामी तिनीहरूदेखि भाग्नेछौँ,

[7] तिमीहरूले ढुकेर बसेको ठाउँबाट निस्केर सहरलाई कब्जा गर्नू। याहवेह तिमीहरूका परमेश्‍वरले त्यो तिमीहरूको हातमा दिनुहुनेछ।

[8] जब तिमीहरूले त्यो सहरलाई कब्जा गर्नेछौ, तब याहवेहले भन्‍नुभएझैँ त्यस सहरमा आगो लगाइदिनू! यो याद राख कि, यो तिमीहरूलाई मेरो आज्ञा हो।”

[9] तब यहोशूले तिनीहरूलाई पठाए। अनि तिनीहरू लुक्ने ठाउँमा गए। तब ऐ सहरको पश्‍चिमतिरको ऐ र बेथेल सहरको बीचमा ढुकिबसे। तर यहोशूले चाहिँ त्यो रात मानिसहरूसँग बिताए।

[10] भोलिपल्ट बिहानै यहोशूले आफ्ना सेनाहरूलाई भेला गरे। अनि तिनी र इस्राएलका अगुवाहरू तिनीहरूका अगि-अगि ऐतिर बढे।

[11] तिनीसँग भएको सम्पूर्ण दल अगि बढे। अनि तिनीहरू सहरको नजिक पुगे, र त्यस सहरको अगिल्तिर आइपुगे। तिनीहरूले तिनीहरू र सहरको बीचको बेँसीमा ऐ सहरको उत्तरतिर छाउनी हाले।

[12] यहोशूले पाँच हजार जति मानिसहरू लिएर सहरको पश्‍चिमतिर बेथेल र ऐको बीचमा ढुकेर बसे।

[13] यसरी सेनाहरू लडाइँका निम्ति तयार भए। फौजको ठूलो दललाई सहरको उत्तरपट्टिको छाउनीमा राखे। अनि ढुकेर बस्‍नेहरूका दलचाहिँ सहरको पश्‍चिमपट्टिको छाउनीमा रहे। त्यो रात यहोशूचाहिँ बेँसीमा गए।

[14] जब ऐका राजाले यो देखे, तिनी र सहरका सबै मानिसहरू एकाबिहानै हतारिँदै इस्राएलीहरूसँग युद्ध गर्नलाई अराबाको एक निश्‍चित ठाउँमा निस्के। तर तिनीहरूको विरुद्धमा सहरको पछिल्तिरको भागमा तिनीहरूलाई ढुकेर बस्‍नेहरूको बारेमा थाहै भएन।

[15] यहोशू र सबै इस्राएलीहरू तिनीहरूको अगि-अगि खेदिएझैँ उजाडस्थानतिर भागे।

[16] ऐका सारा मानिसहरू तिनीहरूलाई खेद्नलाई बोलाइएका थिए। अनि तिनीहरूले यहोशूलाई खेदे, र तिनीहरू सहरदेखि टाढा पुर्‍याइए।

[17] ऐका अथवा बेथेलमा इस्राएलको पछि नलाग्ने पुरुष एउटै पनि थिएन। तिनीहरू सबैले सहर खुल्‍ला छोडेर इस्राएलीहरूलाई खेदे।

[18] तब याहवेहले यहोशूलाई भन्‍नुभयो, “तेरो हातमा भएको भाला ऐतिर पसार्; किनकि म त्यस सहरलाई तेरो अधीनमा सुम्पिदिनेछु।” यसकारण यहोशूले आफ्नो भाला ऐतिर पसारे।

[19] तिनले यसो गर्नसाथ ती ढुकेर बसेका मानिसहरू आफ्नो ठाउँबाट तुरुन्तै निस्केर अगि बढे। तिनीहरू सहरभित्र पसे। तब त्यसलाई कब्जा गरे; अनि तुरुन्तै सहरमा आगो लगाइदिए।

[20] जब ऐ सहरका मानिसहरूले पछि फर्केर हेरे, तब सहरबाट धुवाँको मुस्लो आकाशतिर गइरहेको देखे। तर तिनीहरूलाई कुनै दिशातिर भाग्ने मौका थिएन। किनकि उजाडस्थानतिर भाग्दै गरेका इस्राएलीहरू तिनीहरूलाई खेद्नेहरूको विरुद्धमा फर्किसकेका थिए।

[21] जब यहोशू र सबै इस्राएलीहरूले ढुकेर बस्‍ने मानिसहरूले सहर कब्जा गरेको अनि सहरबाट धुवाँ मास्तिर उठिरहेको देखे, तब तिनीहरू फनक्‍क फर्केर ऐका मानिसहरूलाई आक्रमण गरे।

[22] तिनीहरूलाई ढुकेर बस्‍ने मानिसहरू पनि तिनीहरूको विरुद्धमा सहरबाट निस्किआए; र तिनीहरू दुवैतिर इस्राएली सेनाहरू भएको बीचमा थुनिए। इस्राएलीहरूले बाँचेका र भाग्नेहरू कसैलाई पनि जीवित रहन नदिई सबैलाई काटेर मारे।

[23] तर तिनीहरूले ऐका राजालाई जिउँदै पक्रे, र तिनलाई यहोशूकहाँ ल्याए।

[24] उजाडस्थानमा इस्राएलीहरूलाई खेद्‌दै आएका ऐका सबै मानिसहरूलाई त्यहीँ नै तरवारले मारे। अनि सबै इस्राएलीहरू ऐमा फर्केर आए। तब त्यहाँ भएकाहरूलाई पनि मारे।

[25] त्यस दिन ऐका सबै मानिसहरू, बाह्र हजार पुरुष र स्त्रीहरू मारिए।

[26] किनकि ऐमा बस्‍ने सबै मनिसहरूलाई विनाश नगरेसम्म यहोशूले भाला पक्रेको हात बिसाएनन्।

[27] तर याहवेहले यहोशूलाई निर्देशन दिनुभएझैँ इस्राएलीले त्यस सहरका गाईबस्तु र लुटको माल आफ्ना निम्ति बोकेर लगे।

[28] यसरी यहोशूले ऐलाई जलाएर भग्नावशेषको रास बनाइदिए, जुन आजको दिनसम्म निर्जन छँदैछ।

[29] यहोशूले ऐको राजालाई एउटा रूखमा झुण्ड्याइदिए; र तिनलाई साँझसम्मै त्यहाँ छोडिदिए। सूर्यास्तमा तिनले राजाको शरीरलाई रूखबाट उतारेर सहरको ढोकाको सँघारमा फ्याँकिदिन आदेश दिए। अनि तिनीहरूले त्यसमाथि ढुङ्गाहरूको थुप्रो लगाइदिए, जुन थुप्रो आजको दिनसम्म छँदैछ।

[30] तब यहोशूले एबाल डाँडामा याहवेह इस्राएलका परमेश्‍वरका निम्ति एउटा वेदी बनाए,

[31] जुनचाहिँ याहवेहका सेवक मोशाले इस्राएलीहरूलाई आज्ञा दिएअनुसार र तिनले मोशाको व्यवस्थामा लेखिएअनुसार, फलामको कुनै औजार प्रयोग नगरिएका र नकाटिएका ढुङ्गाहरूको वेदी थियो। त्यसमाथि तिनीहरूले याहवेहका निम्ति होमबलि र मेलबलिहरू चढाए।

[32] त्यहाँ इस्राएलीहरूको उपस्थितिमा यहोशूले त्यस ढुङ्गाहरूमा मोशाले लेखेका व्यवस्थाको नक्‍कल उतारे।

[33] सबै इस्राएलीहरू, तिनीहरूका प्रधानहरू, अधिकृतहरू, न्यायकर्ताहरू, याहवेहको करारको सन्दुक बोक्ने लेवी पुजारीहरूका दुवै तर्फ फर्केर उभिएका थिए। त्यहाँ विदेशीहरू र त्यहाँ जन्मिएका नागरिकहरू पनि थिए। इस्राएलका मानिसहरूलाई आशिष् दिनलाई याहवेहको सेवक मोशाले पहिले नै आदेश दिएझैँ, आधा मानिसहरू गीरीज्जीम डाँडाको सामु र आधाचाहिँ एबाल डाँडाको सामु खडा भए।

[34] त्यसपछि यहोशूले व्यवस्थाका सबै वचन, आशिष् र श्राप व्यवस्थाको पुस्तकमा लेखिएअनुसार पढे।

[35] इस्राएलका सम्पूर्ण समुदाय, साथै स्त्री र बालबालिकाहरू र तिनीहरूसँग बस्‍ने विदेशीहरूको सामु मोशाले आज्ञा गरेका वचनहरूमा यहोशूले नपढेको शब्द एउटै पनि थिएन।

यहोशू — Chapters