[1] फेरि याहवेहले मोशालाई भन्नुभयो, “फारोकहाँ गएर त्यसलाई भन्, ‘याहवेह, हिब्रूहरूका परमेश्वर यसो भन्नुहुन्छ: “मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्।”
[2] तैँले तिनीहरूलाई जान नदिएर रोकेर राखिस् भने,
[3] याहवेहको हातले तेरा खेतमा भएका पशुहरू—तेरा घोडाहरू, गधाहरू, ऊँटहरू अनि तेरा गाईबस्तुहरू र भेडाबाख्राहरूमाथि डरलाग्दो महामारी ल्याउनेछ।
[4] तर याहवेहले इस्राएलका गाईबस्तुहरू र इजिप्टका गाईबस्तुहरूका बीचमा भिन्नता ल्याउनुहुनेछ; ताकि इस्राएलीहरूका कुनै पनि पशु नमरोस्।’ ”
[5] याहवेहले एउटा निश्चित समय ठहर्याएर भन्नुभयो, “भोलि यो कुरा याहवेहले यस देशमा गर्नुहुनेछ।”
[6] अनि भोलिपल्ट याहवेहले त्यो कुरा गर्नुभयो: इजिप्टका सबै गाईबस्तु मरे, तर इस्राएलीहरूका एउटै पनि पशु मरेनन्।
[7] फारोले यो जाँच गर्न मानिसहरू पठाए; अनि इस्राएलीहरूका एउटै पनि पशु नमरेको थाहा पाए। तर पनि तिनको हृदय कठोर भयो, र तिनले मानिसहरूलाई जान दिएनन्।
[8] फेरि याहवेहले मोशा र हारूनलाई भन्नुभयो, “भट्टीबाट आ-आफ्ना हातमा खरानी लेओ, र मोशाले फारोको उपस्थितिमा त्यो हावामा छरिदेओस्।
[9] त्यो इजिप्ट देशभरि मसिनो धुलो बन्नेछ, र इजिप्ट देशभरिका मानिसहरू र पशुहरूमा पाक्ने खटिरा निस्कनेछ।”
[10] तब तिनीहरू भट्टीबाट खरानी लिएर फारोको सामु खडा भए। मोशाले त्यसलाई हावामा छरिदिए; अनि मानिसहरू र पशुहरूमा पाक्ने खटिरा निस्के।
[11] ती खटिराहरू जादुगरहरू र सारा इजिप्टियनहरूमाथि भएका कारण ती जादुगरहरू मोशाको सामु खडा हुन सकेनन्।
[12] तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो, र याहवेहले मोशालाई भन्नुभएझैँ तिनले मोशा र हारूनका कुरा सुनेनन्।
[13] फेरि याहवेहले मोशालाई भन्नुभयो, “बिहान सबेरै उठ्, र फारोलाई भन्, ‘याहवेह, हिब्रूहरूका परमेश्वर यसो भन्नुहुन्छ: मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्,
[14] नत्रता यस पटक म मेरो पूरा शक्तिसाथ विपत्तिहरू तँमाथि, तेरा अधिकारीहरू, तेरा मानिसहरूका विरुद्धमा पठाउनेछु; र तिमीहरूले सारा पृथ्वीमा मजस्तो अरू कोही छैन भनी जान्नेछौ।
[15] किनकि अहिले सम्ममा मैले आफ्नो हात पसारेर तँलाई र तेरा मानिसहरूमाथि विपत्तिले प्रहार गर्न सक्नेथिएँ, जसले पृथ्वीबाट तिमीहरूको नामनिशानै मेटिदिनेथियो।
[16] तर मैले त आफ्नो शक्ति तँलाई देखाऊँ र सारा पृथ्वीमा मेरो नामको घोषणा गरियोस् भन्ने उद्देश्यले तँलाई खडा गरेको छु।
[17] तैँले त अझ पनि मेरा मानिसहरूलाई जान नदिनका लागि तिनीहरूको विरुद्धमा आफूलाई खडा गरेको छस्।
[18] यसकारण भोलि यही समयमा म यस्तो भयानक असिना पठाउनेछु; जुन इजिप्ट देश स्थापित भएको समयदेखि अहिलेसम्म कहिल्यै खसेको छैन।
[19] यसकारण तेरा गाईबस्तुहरू, तेरा खेतमा भएका हरेक कुरा सुरक्षित ठाउँमा ल्याउन भनी अहिले हुकुम दे; किनकि भित्र नल्याइएका, र खेतमै रहेका प्रत्येक मानिस र पशुमाथि असिना बर्सनेछ, र ती मर्नेछन्।’ ”
[20] याहवेहको वचनदेखि डराउने फारोका अधिकारीहरूले आफ्ना सेवकहरू र पशुहरूलाई भित्र ल्याउन हतार गरे।
[21] तर याहवेहको वचनको अवहेलना गर्नेहरूले आफ्ना सेवक र पशुहरू खेतमै छोडिराखे।
[22] तब याहवेहले मोशालाई भन्नुभयो, “तेरो हात आकाशतिर पसार्, र इजिप्ट देशमाथि, मानिसहरूमाथि, पशुहरूमाथि र इजिप्टको खेतमा बढ्दै गरेको प्रत्येक कुरामाथि असिना परोस्।”
[23] जब मोशाले आफ्नो लहुरो आकाशतिर पसारे, तब याहवेहले गर्जन र असिना पठाउनुभयो; अनि बिजुली चम्केर जमिनसम्मै पर्यो। यसरी याहवेहले इजिप्टमा असिना बर्साउनुभयो।
[24] असिना पर्यो र बिजुली जताततै चम्क्यो। इजिप्ट एउटा राष्ट्र बनेको दिनदेखि यता यस्तो प्रकारको असिना कहिल्यै परेको थिएन।
[25] समस्त इजिप्टमा असिनाले खेतमा भएका सबै थोक, मानिसहरू र पशुहरू दुवैलाई प्रहार गर्यो; यसले खेतमा बढिरहेका सबै घाँसलाई चुट्यो, र प्रत्येक रूखलाई नाङ्गो बनाइदियो।
[26] इस्राएलीहरू बसेका गोशेनको प्रान्तमा मात्र असिना परेको थिएन।
[27] तब फारोले मोशा र हारूनलाई बोलाइपठाए। तिनले उनीहरूलाई भने, “यस पटक मैले पाप गरेको छु। याहवेह धर्मी हुनुहुन्छ; अनि म र मेरा मानिसहरू गलत रहेछौँ।
[28] यो गर्जन र असिना अति भयो भनी याहवेहसित बिन्ती गरिदेओ; म तिमीहरूलाई जान दिनेछु; तिमीहरू अब उसो एकक्षण पनि बस्नुपर्नेछैन।”
[29] मोशाले जवाफ दिए, “म यस सहरबाट बाहिर निस्केपछि मेरा याहवेहसित बिन्ती गर्दै आफ्ना हात पसार्नेछु। तब गर्जन थामिनेछ, र असिना फेरि पर्नेछैन; र तपाईंले यो पृथ्वी याहवेहकै हो भनी जान्नुहुनेछ।
[30] तर म जान्दछु, तपाईं र तपाईंका अधिकारीहरू अझ पनि याहवेह परमेश्वरको डर मान्नुहुन्न।”
[31] (सनपाटका फूल फुलेका र जौका बाला निस्केका हुनाले ती नष्ट भए।
[32] तर गहुँ र कठियागहुँ ढिलो पाक्ने हुनाले नष्ट भएनन्।)
[33] तब मोशा फारोकहाँबाट निस्केर सहरबाहिर गए। तिनले आफ्ना हात याहवेहतिर फैलाए; अनि गर्जन र असिना थामिए, र देशमा पानी पर्न छाड्यो।
[34] जब फारोले पानी, असिना र गर्जन थामिएको देखे, तब तिनले फेरि पाप गरे: तिनी र तिनका अधिकारीहरूले आफ्ना हृदय कठोर गरे।
[35] तब फारोको हृदय कठोर भयो; याहवेहले मोशाद्वारा भन्नुभएझैँ तिनले इस्राएलीहरूलाई जान दिएनन्।