Skip to content
Opens in a new window
Listen to this chapter • 6:39

[1] “तैँले तिनीहरूका सामु स्थापना गर्नुपर्ने नियमहरू यिनै हुन्:

[2] “तैँले हिब्रू सेवकलाई किनिस् भने उसले छ वर्षसम्म तेरो सेवा गरोस्। तर सातौँ वर्षमा उसले केही नतिरी स्वतन्त्र भएर जाओस्।

[3] यदि त्यो एकलै आएको भए, एकलै स्वतन्त्र भएर जाओस्; तर त्यो आउँदा त्यससँग पत्नी पनि थिई भने ऊ पनि त्यससितै जाओस्।

[4] यदि उसका मालिकले उसलाई पत्नी दिएको हो भने, र त्यसले छोराछोरी जन्माई भने त्यो स्त्री, र त्यसका छोराछोरी त्यसका मालिकका हुनेछन्; तर त्यो मानिस मात्र स्वतन्त्र भएर जाओस्।

[5] “तर त्यस सेवकले ‘म मेरा मालिक, आफ्नी पत्नी र छोराछोरीलाई माया गर्छु; अनि स्वतन्त्र भएर जान चाहन्‍नँ’ भनेर घोषणा गर्‍यो भने,

[6] उसका मालिकले उसलाई न्यायकर्ताहरूका सामु लगोस्। तिनले त्यसलाई ढोका अथवा ढोकाको खाँबोमा लगेर त्यसका कान सियोले छेडोस्; तब त्यो जीवनभरिका लागि त्यस मालिकको दास हुनेछ।

[7] “यदि कुनै मानिसले आफ्नी छोरीलाई दासीको रूपमा बेच्छ भने त्यो दासी पुरुष दासहरूझैँ स्वतन्त्र भएर जान पाउनेछैन।

[8] यदि त्यसलाई किन्‍ने मालिकलाई त्यसले प्रसन्‍न पार्न सकिन भने तिनले त्यसलाई फेरि किनिनका लागि छाडिदिनुपर्छ। मालिकले त्यससँग विश्‍वास तोडेका कारण त्यसलाई परदेशीको हातमा बेच्ने अधिकार हुँदैन।

[9] तिनले त्यसलाई आफ्नो छोराको लागि चुन्छन् भने तिनले त्यसलाई छोरीको अधिकार दिनुपर्छ;

[10] तर त्यसले अर्की पत्नी ल्यायो भने त्यसले जेठीलाई भोजन, लुगाफाटा र वैवाहिक अधिकारदेखि वञ्चित नगरोस्।

[11] यदि त्यसले उसलाई यी तीन कुराहरू दिँदैन भने त्यो कुनै मोल नतिरी स्वतन्त्र भएर जाओस्।

[12] “कसैले कुनै मानिसलाई हिर्काएर मार्‍यो भने त्यो पनि मारिनैपर्छ।

[13] तरै पनि यदि त्यसले जानाजानी त्यसो गर्दैन, तर परमेश्‍वरले नै त्यसो हुन दिनुभयो भने जुन ठाउँ म तोक्नेछु; त्यो त्यहाँ भागेर जाओस्।

[14] तर कुनै मानिसले योजना बनाएर छलपूर्वक अर्को मानिसलाई मार्छ भने त्यसलाई मेरो वेदीबाट लगेर मार्नैपर्छ।

[15] “जसले आफ्ना बुबा वा आमामाथि आक्रमण गर्छ, त्यो मारिनैपर्छ।

[16] “जसले कुनै मानिसलाई अपहरण गर्छ वा बिक्री गर्छ, अथवा त्यो पक्राउ पर्दा ऊ त्यससितै रहेको अवस्थामा फेला परियो भने त्यो मारिनैपर्छ।

[17] “जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनैपर्छ।

[18] “यदि मानिसहरू झगडा गर्दा एउटाले अर्कोलाई ढुङ्गा अथवा मुक्‍काले हिर्कायो, र त्यो नमरेर ओछ्यान पर्‍यो,

[19] अनि उठेर आफ्नो लहुरोको सहायताले बाहिर यताउता हिँड्न थाल्यो भने त्यो हिर्काउने मानिस निर्दोष ठहरियोस्; तरै पनि त्यसले घाइते मानिसको खेर गएको समयको क्षतिपूर्ति देओस्, र त्यो पूरा निको नहोउन्जेल त्यसले त्यस मानिसको उपचार गरोस्।

[20] “कुनै मानिसले आफ्नो दास वा दासीलाई लहुरोले हिर्कायो, र ऊ त्यही कारणले मर्‍यो भने त्यसले दण्ड पाउनैपर्छ।

[21] तर यदि त्यो दास एक दुई दिनमा उठ्यो भने त्यसलाई दण्ड नदिइयोस्; किनकि त्यो दास त्यसकै सम्पत्ति हो।

[22] “मानिसहरू झगडा गर्दा कुनै गर्भवती स्त्रीलाई लाग्यो, र त्यसले समय नपुगी नै बच्‍चा जन्माई, तर अरू चोट लागेको छैन भने त्यस कसुरदारले त्यस स्त्रीको पतिले तोकेको र अदालतले अनुमति दिएबमोजिम जरिमाना तिरोस्।

[23] तर यदि गम्भीर चोट लागेको छ भने तिमीहरूले प्राणको सट्टा प्राण लिनू,

[24] आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा,

[25] डामको सट्टा डाम, कुटाइको सट्टा कुटाइ र चोटको सट्टा चोट।

[26] “यदि कुनै मानिसले आफ्नो दास वा दासीलाई आँखामा हिर्कायो, र आँखा फुट्यो भने त्यसले आँखाको क्षतिपूर्तिस्वरूप त्यसलाई स्वतन्त्र भएर जान देओस्।

[27] अनि यदि त्यसले आफ्नो दास वा दासीको दाँत हिर्काएर भाँचिदियो भने त्यसको दाँतको क्षतिपूर्तिस्वरूप त्यसलाई स्वतन्त्र भएर जान देओस्।

[28] “यदि कुनै गोरुले कुनै पुरुष वा स्त्रीलाई सिङले हानेर मार्‍यो भने त्यस गोरुलाई ढुङ्गाले हानेर मारियोस्, र त्यसको मासु नखानू। तर त्यस गोरुको मालिक त्यसको जिम्मेवार हुनेछैन।

[29] तर यदि त्यस गोरुको पहिलेदेखि नै हान्‍ने स्वभाव थियो, र त्यसको मालिकलाई चेतावनी दिइएको थियो, तर उसले त्यसलाई बाँधेर राखेन, र त्यसले कुनै पुरुष वा स्त्रीलाई मार्‍यो भने त्यो गोरुलाई ढुङ्गाले हानेर मारियोस्, साथै त्यो मालिक पनि मारिनुपर्छ।

[30] तर यदि त्यस गोरुको मालिकबाट छुटकाराको दाम मागियो भने त्यो आफ्नै प्राणको निम्ति तोकिएको रकम तिरेर छुटोस्।

[31] त्यस गोरुले छोरा वा छोरीलाई सिङले हानेर मार्‍यो भने पनि यही नियम लागू हुन्छ।

[32] यदि त्यस गोरुले कसैको दास वा दासीलाई हानेर मार्‍यो भने त्यस गोरुको मालिकले दास-दासीको मालिकलाई चाँदीको तीस शेकेल तिरोस्, र त्यो गोरुचाहिँ ढुङ्गाले हानेर मारियोस्।

[33] “कुनै मानिसले खाडल खनेर खुल्‍लै राख्यो, अथवा खनेर त्यसलाई छोपेन; अनि त्यसभित्र कुनै गोरु अथवा गधा खस्यो भने,

[34] त्यस खाडलको मालिकले त्यस नोक्सानीको साटो रकम तिरोस्। उसले त्यसको मालिकलाई रकम तिरोस्; र त्यो मरेको पशु त्यसैको हुनेछ।

[35] “कुनै मानिसको गोरुले अर्को गोरुलाई हान्यो, र त्यो मर्‍यो भने तिनीहरूले जीवित गोरुलाई बेचून्, र बेचेको रकम र मरेको पशु बराबर बाँडून्।

[36] तथापि त्यस गोरुको पहिलेदेखि नै हान्‍ने बानी छ भनेर जानिएको थियो, तर पनि उसले त्यसलाई बाँधेन भने त्यस मालिकले गोरुको सट्टा गोरु नै देओस्, र मरेको गोरुचाहिँ त्यसैको होस्।”

प्रस्थान — Chapters