[1] “तैँले बबुल काठको तीन क्यूबिट अग्लो एउटा वेदी बनाउनू; त्यो पाँच क्यूबिट लामो र पाँच क्यूबिट चौडा भएको वर्गाकार होस्।
[2] चार कुनामा एक-एक वटा सिङ बनाउनू, ताकि सिङहरू र वेदी एउटै टुक्राको होस्; अनि वेदीलाई काँसोले मोहोर्नू।
[3] त्यसका सबै भाँडाहरू काँसाको बनाउनू—त्यसका खरानी उठाउने भाँडाहरू र त्यसका बेल्चाहरू, पानी छर्कने बाटाहरू, मासुको लागि काँटाहरू र आगो राख्ने पात्रहरू।
[4] त्यसका लागि काँसोको जालीबाट एउटा झिँजा बनाउनू, र जालीका चारै कुनामा एक-एक वटा काँसाका मुन्द्राहरू बनाउनू।
[5] त्यसलाई वेदीको मुन्तिर यस प्रकारले लगाउनु कि त्यो वेदीको आधा भागसम्म आओस्।
[6] वेदीका निम्ति बबुल काठका डण्डाहरू बनाएर तिनीहरूलाई काँसोले मोहोर्नू।
[7] ती डण्डाहरूलाई मुन्द्राहरूमा यस्तो किसिमले छिराउनू कि वेदीलाई बोक्दा तिनीहरू वेदीका दुई छेउमा होऊन्।
[8] फल्याकहरूसित तैँले त्यसलाई खोक्रो गरी बनाउनू। यो तँलाई पर्वतमा देखाइदिएजस्तै गरी बनाउनू।
[9] “समागम पालको लागि एउटा आँगन बनाउनू। त्यसको दक्षिणी भाग एक सय क्यूबिट लामो बनाउनू र त्यसमा मसिनो गरी बाटेको सुती कपडाको पर्दा बनाउनू।
[10] त्यस पर्दाका लागि बीस वटा खम्बा र काँसाका बीस वटा आधारहरू बनाउनू; अनि ती खम्बाहरूमा चाँदीका अङ्कुसेहरू र फित्ताहरू हुनुपर्छ।
[11] उत्तरको भाग पनि एक सय क्यूबिट लामो र त्यसमा पर्दाहरू हुनुपर्छ; अनि ती पर्दाहरूका लागि बीस वटा खम्बाहरू र काँसाका बीस वटा आधारहरू र ती खम्बाहरूमा चाँदीका अङ्कुसे र फित्ताहरू हुनुपर्छ।
[12] “आँगनको पश्चिमी भागका पर्दाहरू पचास क्यूबिट चौडा हुनुपर्छ। त्यसमा दश वटा खम्बाहरू र दश वटा आधारहरू हुनुपर्छ।
[13] पूर्वतिर, सूर्योदयतर्फ पनि पचास क्यूबिट चौडा हुनुपर्छ।
[14] मूलढोकाको एकापट्टिका पर्दाहरू पन्ध्र क्यूबिट लामा हुनुपर्छ; जसका तीन वटा खम्बाहरू र तीन वटा आधारहरू हुनुपर्छ,
[15] अनि तीन वटा खम्बाहरू र तीन वटा आधार भएका पन्ध्र क्यूबिट लामा पर्दाहरू अर्कोतिर होऊन्।
[16] “आँगनको प्रवेशद्वारका लागि चार वटा खम्बाहरू र चार वटा आधारहरू भएका, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो बाटेको सुती कपडामा बुट्टा भर्नेको शिल्पकारी भएको बीस क्यूबिट लामो एउटा पर्दा बनाउनू।
[17] आँगनको चारैतिरका सबै खाँबाहरूमा चाँदीका अङ्कुसे र फित्ता र काँसाका आधारहरू बनाउनू।
[18] आँगन एक सय क्यूबिट लामो र पचास क्यूबिट चौडा हुनुपर्छ; त्यसमा काँसाका आधार भएका मसिनो बाटेका सुती कपडाका छ क्यूबिट अग्ला पर्दाहरू हुनुपर्छ।
[19] समागम पालको सेवामा प्रयोग गरिने सबै सामानहरू, पालका किलाहरू, आँगनका किलाहरू लगायत सबै, चाहे तिनीहरूका काम जेसुकै होस्, ती काँसाका हुनुपर्छ।
[20] “इस्राएलीहरूलाई आज्ञा दिनू, कि तिनीहरूले उज्यालोका निम्ति पेलेको जैतुनको शुद्ध तेल ल्याऊन्, र दियाहरू निरन्तर बलिरहून्।
[21] भेट हुने पालमा, साक्षी पाटीको सामु भएको पर्दा बाहिर हारून र त्यसका छोराहरूले याहवेहको सामु साँझदेखि बिहानसम्मै दियाहरू बलिरहने बनाउनुपर्छ। यो इस्राएलीहरूका बीचमा आउने पुस्ताहरूका निम्ति सदा रहिरहने विधि हुनुपर्छ।