[1] “तैँले दश वटा मसिनो गरी बाटेका सुती, निलो, बैजनी र रातो धागोका पर्दाबाट दक्ष शिल्पकारद्वारा बनाइएका करूबहरूसहित समागम पाल बनाउनू।
[2] ती सबै पर्दाहरू एकै नापका होऊन्—अट्ठाइस क्यूबिट लामो र चार क्यूबिट चौडा।
[3] पाँच वटा पर्दाहरू एकसाथ गाँस्नू, र अर्को पाँच वटालाई पनि त्यसै गर्नू।
[4] पहिलो पाँच पर्दाहरूका किनारै किनारमा निलो रङ्गको सुर्काउनी बनाउनू; अनि अर्को पाँच पर्दाहरूका किनारमा पनि त्यस्तै गर्नू।
[5] एउटा समूहका पर्दामा पचास वटा सुर्काउनीहरू बनाउनू; अनि अर्को समूहका पाँच वटा पर्दाहरूका किनारमा पचास वटा सुर्काउनी बनाउनू। ती सुर्काउनीहरू आमने-सामने होऊन्।
[6] तब सुनका पचास वटा अङ्कुसेहरू बनाएर तिनीहरूलाई पर्दाहरू एकसाथ बाँध्ने काममा प्रयोग गर्नू र यसरी समागम पाल एउटै इकाई होस्।
[7] “समागम पालमाथिको पालको लागि बाख्राको भुत्लाबाट जम्मा एघार वटा पर्दाहरू बनाउनू।
[8] ती एघारै वटा पर्दाहरू एउटै नापका होऊन्—तीस क्यूबिट लामो र चार क्यूबिट चौडा।
[9] पाँच वटा पर्दाहरू एकसाथ गाँस्नू र बाँकी छ वटा पर्दा एकसाथ गाँस्नू। पालको अगिल्तिर छैटौँ पर्दालाई दोबर गरी पट्याउनू।
[10] पहिलो गाँसिएको समूहको किनारमा पचास वटा सुर्काउनीहरू बनाउनू; अनि अर्को गाँसिएको समूहको पर्दाको किनारमा पनि पचास वटा सुर्काउनीहरू बनाउनू।
[11] त्यसपछि काँसाका पचास वटा अङ्कुसेहरू बनाएर सुर्काउनीहरूमा लगाउनू र पाललाई एउटै एकाइ बनाउनका लागि कस्ने काममा प्रयोग गर्नू।
[12] पालका पर्दाहरूको उब्रेको लम्बाइको विषयमा, उब्रेको आधा पर्दा समागम पालको पछिल्तिर झुण्डियोस्।
[13] पालका पर्दाहरू दुवै छेउतिर एक क्यूबिट लामो होऊन् र उब्रेका भाग समागम पाललाई ढाक्नलाई त्यसका दुवै छेउमा झुण्डिरहून्।
[14] पालको निम्ति भेडाको रातो रङ्गाइएको छालाबाट छत बनाउनू; र त्यसमाथि सीलका छालाहरूबाट छत बनाउनू।
[15] “समागम पालका निम्ति बबुल काठको ठाडो फल्याकहरू बनाउनू।
[16] प्रत्येक फल्याकको लम्बाइ दश क्यूबिट र चौडाइ डेढ क्यूबिट होस्।
[17] त्यसमा एक-अर्कामा समानान्तर रहेका दुई वटा चोसाहरू होऊन्। समागम पालका सबै फल्याकहरू यस किसिमले नै बनाउनू।
[18] समागम पालको दक्षिणपट्टिका लागि बीस वटा फल्याकहरू बनाउनू;
[19] अनि ती फल्याकहरूका मुन्तिर चालीस वटा चाँदीका आधारहरू बनाउनू—एउटा फल्याकको लागि दुई वटा आधारहरू, प्रत्येक चोसाको मुनि एउटा।
[20] अर्कोपट्टि समागम पालको उत्तरपट्टि बीस वटा फल्याकहरू बनाउनू;
[21] अनि प्रत्येक फल्याकको मुनि दुई वटा आधार गरेर चाँदीका चालीस वटा आधारहरू बनाउनू।
[22] पछिल्तिरको भाग, जो समागम पालको पश्चिमतिरको भाग हो, त्यसका लागि छ वटा फल्याकहरू बनाउनू;
[23] अनि अन्तिम भागमा भएका कुनाहरूका लागि दुई वटा फल्याकहरू बनाउनू।
[24] यी कुनाहरूमा फेददेखि टुप्पोसम्म फल्याकहरू दोबर खप्टिएका होऊन्; अनि एउटै मुन्द्रामा जोडिएका होऊन्; दुवै यस्तै होऊन्।
[25] यसरी प्रत्येक फल्याकमुनि दुई वटा गरेर जम्मा आठ वटा फल्याकहरू र चाँदीका सोह्र वटा आधारहरू होऊन्।
[26] “बबुल काठका बारहरू पनि बनाउनू: समागम पालको एकातिरको फल्याकहरूका लागि पाँच वटा,
[27] अर्कोपट्टिका फल्याकहरूका लागि पाँच वटा बार र समागम पालको पश्चिमका अन्तिम भागका फल्याकहरूको लागि पाँच वटा बारहरू लगाए।
[28] बीचको बार फल्याकको बीचमा एक छेउदेखि अर्को छेउसम्म पुगोस्।
[29] फल्याकहरूलाई सुनले मोहोर्नू, र बारहरू अड्काउनका लागि सुनका मुन्द्राहरू बनाउनू। ती बारहरूलाई पनि सुनले मोहोर्नू।
[30] “मैले तँलाई पर्वतमा देखाएको नमुनाअनुसार समागम पाल खडा गर्नू।
[31] “निलो, बैजनी अनि रातो धागो र मसिनो गरी बाटेको सुती कपडा; अनि दक्ष शिल्पकारद्वारा बनाइएका करूबहरू भएका एउटा पर्दा बनाउनू।
[32] चाँदीका चार वटा आधारहरूमा खडा भएका र सुनले मोहोरेका बबुल काठका चार वटा खम्बाहरूमा त्यसलाई सुनका अङ्कुसेहरूले झुण्ड्याउनू।
[33] पर्दालाई अङ्कुसेले झुण्ड्याएर साक्षी पाटीको सन्दुकलाई पर्दाको पछाडि राख्नू। त्यस पर्दाले पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नेछ।
[34] महा-पवित्रस्थानमा साक्षी पाटीको सन्दुकको माथि पाप समाधान-स्थान राख्नू।
[35] टेबुललाई पर्दा बाहिर समागम पालको उत्तरतिर राख्नू; र सामदानलाई त्यसको विपरीततिर दक्षिणपट्टि राख्नू।
[36] “पाल प्रवेशद्वारका लागि निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाले फूल-बुट्टा भएको एउटा पर्दा बनाउनू।
[37] त्यस पर्दाका लागि सुनका अङ्कुसेहरू र सुनले मोहोरेका बबुलका पाँच वटा खम्बाहरू बनाउनू; अनि तिनीहरूका लागि काँसाका पाँच वटा आधारहरू बनाउनू।