[1] “तैँले धूप बाल्नलाई बबुल काठको एउटा वेदी बनाउनू।
[2] त्यो वर्गाकार होस्। त्यो एक क्यूबिट लामो, एक क्यूबिट चौडा, र दुई क्यूबिट उचाइ होस्। त्यसका सिङहरू त्यससित एउटै टुक्राको होस्।
[3] त्यसको टुप्पो र सबै भित्ताहरू र सिङहरूलाई निखुर सुनले मोहोर्नू; अनि त्यसको चारैतिर सुनको बिट बनाउनू।
[4] वेदीलाई बोक्ने डण्डाहरू अड्काउनलाई बिटको मुन्तिर दुवैतिर दुई वटा मुन्द्राहरू बनाउनू।
[5] ती डण्डाहरू बबुल काठका बनाउनू र तिनीहरूलाई सुनले मोहोर्नू।
[6] वेदीलाई साक्षी पाटीको सन्दुकको अगिल्तिर भएको पर्दाको सामु राख्नू। साक्षी पाटीको माथि रहेको पाप समाधान-स्थानको सामु, जहाँ म तँसित भेट गर्नेछु।
[7] “हारूनले प्रत्येक बिहान बत्तीहरू मिलाउँदा वेदीमा सुगन्धित धूप जलाओस्।
[8] त्यसले साँझमा बत्तीहरू बाल्दा फेरि धूप जलाओस् र आउने पुस्ताहरूका लागि याहवेहको सामु धूप नियमित रूपले जल्नेछ।
[9] त्यस वेदीमा अरू कुनै किसिमका धूप अथवा होमबलि अथवा अन्नबलि नचढाउनू र त्यसमाथि कुनै अर्घबलि पनि नचढाउनू।
[10] हारूनले वर्षमा एकपल्ट सिङहरूमा प्रायश्चित गर्नेछ। यो वार्षिक प्रायश्चित आउने पुस्ता-पुस्ताका लागि प्रायश्चितको पाप शुद्धीकरण बलिको रगतसित गरिनुपर्छ। याहवेहका निम्ति यो अति पवित्र हो।”
[11] त्यसपछि याहवेहले मोशालाई भन्नुभयो,
[12] “जब तैँले इस्राएलीहरूको गन्ती लिनलाई तिनीहरूको जनगणना गर्नेछस्, तब प्रत्येकले आफ्नो गन्तीको समयमा त्यसको प्राणका लागि याहवेहलाई छुटकाराको मोल तिरोस्। तब तैँले तिनीहरूलाई गन्ती गर्दा तिनीहरूमाथि कुनै विपत्ति आउनेछैन।
[13] हरेक जो गन्ती भइसकेकाहरूपट्टि पार गरेर जान्छ, त्यसले पवित्रस्थानको शेकेलको हिसाबले आधा शेकेल दिनुपर्नेछ (एक शेकेल बराबर बीस गेरा हुन्छ)। त्यो आधा शेकेल याहवेहका निम्ति भेटी हो।
[14] बीस वर्ष र त्योभन्दा बढी उमेर पुगेका जति जना गनिन्छन्, सबैले याहवेहका निम्ति भेटी देऊन्।
[15] तिमीहरूले आफ्नो प्रायश्चितका लागि याहवेहलाई भेटी चढाउँदा धनीहरूले आधा शेकेलभन्दा बढी र गरिबहरूले त्योभन्दा कम नदेओस्।
[16] इस्राएलीहरूबाट प्रायश्चितको रकम लिएर त्यसलाई भेट हुने पालको सेवाका निम्ति प्रयोग गर्नू। तिमीहरूले आफ्नो प्राणको प्रायश्चित गर्दा याहवेहको सामु इस्राएलीहरूका निम्ति यो एउटा सम्झनास्वरूप हुनेछ।”
[17] तब याहवेहले मोशालाई भन्नुभयो,
[18] “धुनको लागि काँसोको खुट्टा भएको काँसोका धुने बाटा बनाउनू। त्यसलाई समागम पाल र वेदीको बीचमा राखेर त्यसमा पानी भर्नू।
[19] हारून र त्यसका छोराहरूले त्यसमा भएको पानीले आफ्ना हातगोडा धोऊन्।
[20] जब तिनीहरू समागम पालभित्र पस्छन्, तब हातगोडा धोएर मात्र पसून्, ताकि तिनीहरू नमरून्। साथै, जब तिनीहरू वेदीनेर सेवा गर्नलाई याहवेहका निम्ति अग्निबलि जलाउनलाई आउँछन्,
[21] तब तिनीहरूले पानीले हातगोडा धोऊन्, र तिनीहरू नमरून्। यो हारून र त्यसका सन्ततिका निम्ति तिनीहरूका पुस्ता-पुस्तासम्मका निम्ति अनन्तको धार्मिक विधि होस्।”
[22] तब याहवेहले मोशालाई भन्नुभयो,
[23] “निम्न लिखित असल मसाला लिनू: पाँच सय शेकेल तरल मूर्र, त्यसको आधा अथवा दुई सय पचास शेकेल बास्ना आउने दालचिनी, दुई सय पचास शेकेल सुगन्धित बोझो,
[24] पाँच सय शेकेल तेजपात। सबै समागम पालको शेकेलको हिसाबले, र एक हिन जैतुनको तेल।
[25] यी सबैबाट अभिषेकको पवित्र तेल बनाउनू, र बनाउने सिपालु व्यक्तिले बनाएको बास्नायुक्त होस्। त्यो अभिषेक गर्ने पवित्र तेल हुनेछ।
[26] तब त्यस तेललाई समागम पाल, साक्षीको सन्दुक,
[27] टेबुल र त्यसमा भएका सम्पूर्ण सामग्रीहरू, सामदान र त्यसका अरू उपकरणहरू, धूपको वेदी,
[28] अनि होमबलिको वेदी र त्यसका सबै भाँडाहरू र बाटा, र त्यसलाई उभ्याउने चीजसमेत सबैलाई अभिषेक गर्नलाई प्रयोग गर्नू।
[29] तैँले यी सबै कुराहरू पवित्र गर्नू, र तिनीहरू अति पवित्र हुनेछन्। जेसुकैले तिनीहरूलाई छोए तापनि त्यो पवित्र हुनेछ।
[30] “हारून र त्यसका छोराहरूलाई अभिषेक गरेर पवित्र गर्नू, र तिनीहरूले पुजारी भई मेरो सेवा गरून्।
[31] इस्राएलीहरूलाई भन्, ‘यो आउने पुस्ताहरूका लागि मेरो पवित्र अभिषेकको तेल होस्।
[32] यसलाई अरू कुनै मानिसहरूका शरीरहरूमा नखन्याउनू र यही तरिकाले कुनै तेल नबनाउनू। यो पवित्र हो, र तैँले यसलाई पवित्र ठान्नू।
[33] जसले यस्तै सुगन्धित तेल बनाउँछ र जसले यसलाई पुजारीबाहेक अरूमाथि लगाउँछ, त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरिनुपर्छ।’ ”
[34] तब याहवेहले मोशालाई भन्नुभयो, “सुगन्धित मसलाहरू—कुन्द, धूप, नखी र सालधूप—अनि शुद्ध मूर्र सबै एकै परिमाणमा लिनू,
[35] अनि अत्तर बनाउनमा सिपालु व्यक्तिद्वारा सुगन्धित धूप बनाउनू। त्यसमा नुन हाल्नुपर्छ, र त्यो शुद्ध र पवित्र हुनुपर्छ।
[36] त्यसको केही भाग पिँधेर पिठो बनाउनू, र त्यसलाई समागम पालको साक्षी पाटीको सामु राख्नू, जहाँ म तँलाई भेट्नेछु। यो तेरा निम्ति अति पवित्र हुनेछ।
[37] यस तरिकाले तिमीहरूले आफ्नो निम्ति कुनै धूप नबनाउनू; यसलाई याहवेहका निम्ति पवित्र ठान्नू।
[38] जसले यस सुगन्धको आनन्द लिनलाई यस्तो बनाउँछ, त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरिनुपर्छ।”