[1] याहवेहले मोशा र हारूनलाई इजिप्टमा भन्नुभयो,
[2] “यो महिना तिमीहरूका लागि महिनाहरूको सुरु, वर्षको पहिलो महिना हुनेछ।
[3] इस्राएलका सम्पूर्ण समुदायलाई प्रत्येक मानिसले यो महिनाको दशौँ दिनमा आफ्ना परिवारको लागि प्रत्येक घरानाअनुसार एउटा थुमा लिनुपर्छ भनी भन्।
[4] कुनै घराना एउटा थुमाको लागि एकदमै सानो छ भने तिनीहरूले मानिसहरूको संख्याको हिसाबले एउटा थुमा आफ्नो नजिकैको छिमेकीसित मिलेर खाऊन्। हरेक मानिसले कति खान सक्छ भन्ने हिसाबले थुमा कति चाहिन्छ भनी तैँले निर्णय गर्नू।
[5] तैँले रोज्नुपर्ने पशु खोटरहितको एकवर्षे पाठो हुनुपर्छ; अनि तैँले त्यो भेडा अथवा बाख्राबाट लिन सक्नेछस्।
[6] तिनीहरूलाई तिमीहरूले महिनाको चौधौँ दिनसम्म रेखदेख गर्नू, र इस्राएलको समुदायका सबै मानिसहरूले तिनीहरूलाई साँझपख मारून्।
[7] तब तिनीहरूले केही रगत लिएर जुन घरमा तिनीहरूले थुमा खान्छन्, त्यसका चौकसका दुई पट्टिका र माथिल्ला भागहरूमा लगाऊन्।
[8] त्यही रात तिनीहरूले त्यो मासु आगोमा पोलेर तितो सागसित र खमिर नमिसाइएको रोटीसित खाऊन्।
[9] त्यो मासु काँचो अथवा पानीमा पकाएर नखानू, तर त्यसलाई आगोमा पोल्नू—टाउको, खुट्टाहरू अनि भित्री भागहरू।
[10] त्यसको केही पनि भाग बिहानसम्म नराख्नू; बिहानसम्म केही रह्यो भने त्यसलाई जलाइदिनू।
[11] त्यसलाई तिमीहरूले यसरी खानू: तिमीहरूका पटुका कसेर, खुट्टामा जुत्ता लगाएर र तिमीहरूका लहुरो हातमा लिएर त्यसलाई हतार-हतार खानू; यो याहवेहको निस्तार चाड हो।
[12] “त्यही रात म इजिप्टबाट भएर जानेछु अनि मानिसहरू र पशुहरूका प्रत्येक जेठोमाथि प्रहार गर्नेछु, र इजिप्टका सबै देवी-देवताहरूमाथि न्याय ल्याउनेछु; म नै याहवेह हुँ।
[13] त्यो रगत तिमीहरू बसेका घरहरूमा चिन्ह हुनेछ; अनि जब म रगत देख्नेछु, तब म तिमीहरूलाई छोडेर जानेछु। मैले इजिप्टमाथि प्रहार गर्दा तिमीहरूलाई कुनै पनि नाश गर्ने विपत्तिले छुनेछैन।
[14] “यस दिनलाई तिमीहरूको स्मरणमा राख्नू; अनि आउने पुस्ताका निम्ति तिमीहरूले यसलाई याहवेहका चाडको हिसाबले मान्नू—यो सदाको निम्ति एउटा धार्मिक विधि हो।
[15] सात दिनसम्म तिमीहरूले खमिर नमिसाइएको रोटी खानू। पहिलो दिन आफ्ना घरहरूबाट खमिर निकाल्नू; किनकि जसले पहिलो दिनदेखि लिएर सातौँ दिनसम्म खमिर हालेको केही खान्छ, त्यो इस्राएलदेखि बहिष्कृत होस्।
[16] पहिलो दिन एउटा पवित्र सभा आयोजना गर, र अर्को सभा सातौँ दिनमा गर। प्रत्येकले खानलाई भोजन तयार गर्नुबाहेक यी सबै दिनहरूमा पटक्कै काम नगर्नू; भोजन बनाउने काम मात्र तिमीहरू गर्न सक्छौ।
[17] “अखमिरी रोटीको चाड मान्नू; किनकि यो त्यही दिन हो, जसमा मैले तिमीहरूका दलहरूलाई इजिप्टबाट ल्याएँ। यस दिनलाई भावी पुस्ताका लागि एउटा सदाको धार्मिक विधिस्वरूप मान्नू।
[18] पहिलो महिनाको चौधौँ दिनको साँझदेखि एक्काइसौँ दिनको साँझसम्म तिमीहरूले खमिर नमिसाइएको रोटी खानू।
[19] सात दिनसम्म तिमीहरूका घरहरूमा खमिर पटक्कै नपाइयोस्। अनि जसले खमिर मिसाएर केही कुरा खान्छ, त्यो परदेशी होस् वा स्वदेशमै जन्मेको होस्, त्यसलाई इस्राएलको समुदायबाट बहिष्कार गर्नू।
[20] खमिर मिसाएर केही कुरा पनि नखानू। तिमीहरू जहाँ बसे तापनि खमिर नमिसाइएको रोटी नै खानू।”
[21] तब मोशाले इस्राएलका सबै प्रधानहरूलाई बोलाएर तिनीहरूलाई भने, “झट्टै गएर तपाईंहरूका परिवारहरूका निम्ति पशुहरू रोज्नुहोस् र निस्तार चाडको पाठो मार्नुहोस्।
[22] हिसपको एउटा झुप्पा लिएर भाँडामा भएको रगतमा चोप्नुहोस्, र केही रगत चौकसका माथिल्लो र दुवैतिरका भागमा लगाउनुहोस्। बिहानसम्म आफ्नो घरदेखि कोही पनि बाहिर ननिस्कोस्।
[23] जब याहवेह इजिप्टियनहरूलाई प्रहार गर्नलाई यस देशबाट भएर जानुहुनेछ, तब उहाँले चौकसका माथिल्ला र दुई छेउका भागहरूमा रगत देख्नुहुनेछ; अनि उहाँले त्यस ढोकालाई नाघेर जानुहुनेछ, र विनाशकर्तालाई नाश गर्न तपाईंहरूका घरमा पस्न दिनुहुनेछैन।
[24] “यस निर्देशनलाई तपाईंहरू र तपाईंहरूका सन्तानका लागि एउटा सदाको धार्मिक नियमस्वरूप पालन गर्नू।
[25] जब तपाईंहरू याहवेहले प्रतिज्ञा गर्नुभएको देशमा प्रवेश गर्नुहुनेछ, यस उत्सवलाई मान्नू।
[26] अनि जब तपाईंहरूका छोराछोरीहरूले तपाईंहरूलाई ‘तपाईंहरूका निम्ति यस उत्सवको अर्थ के हो?’ भनी सोध्छन्,
[27] तब तपाईंहरूले भन्नू, ‘यो याहवेहको निम्ति निस्तारको बलिदान हो; उहाँले इजिप्टमा इस्राएलीहरूका घरहरूलाई छोड्नुभयो, र इजिप्टियनहरूलाई प्रहार गर्नुहुँदा हाम्रा परिवारहरूलाई जोगाइराख्नुभयो।’ ” तब मानिसहरूले शिर निहुराएर आराधना गरे।
[28] इस्राएलीहरूले याहवेहले मोशा र हारूनलाई आज्ञा गर्नुभएबमोजिम नै गरे।
[29] मध्यरातमा याहवेहले सिंहासनमा बस्ने फारोको जेठा छोरादेखि लिएर झ्यालखानामा भएको कैदीको जेठा छोरा, र सबै गाईबस्तुहरूका पहिले जन्मेकाहरू समेत, र इजिप्टका पहिले जन्मेकाहरू सबैलाई मार्नुभयो।
[30] फारो र तिनका सबै अधिकारीहरू र सारा इजिप्टियनहरू राति नै उठे, र इजिप्टमा ठूलो रुवाबासी चल्यो; किनकि त्यहाँ कोही नमरेको कुनै घर थिएन।
[31] रातको समयमा फारोले मोशा र हारूनलाई बोलाइपठाएर भने, “तिमीहरू र सारा इस्राएलीहरू उठ! अनि मेरा मानिसहरूलाई छोडिदेओ! जाओ, र तिमीहरूले बिन्ती गरेझैँ याहवेहको आराधना गर।
[32] तिमीहरूका बगाल र बथान पनि तिमीहरूले भनेझैँ लिएर जाओ; अनि मलाई पनि आशिष् देओ।”
[33] इजिप्टियनहरूले ती मानिसहरूलाई झट्टै देश छोडेर जान भनेर बिन्ती गरे। तिनीहरूले भने, “नत्रता हामी सबै मर्नेछौँ!”
[34] यसकारण मानिसहरूले आफ्ना मुछेको पिठो खमिर हाल्न अगि नै मुछ्ने भाँडामा लुगाले बेह्रेर आफ्ना काँधमा बोके।
[35] इस्राएलीहरूले मोशाले भनेझैँ गरे; अनि इजिप्टियनहरूबाट चाँदी र सुनका सामग्रीहरू अनि लुगाहरू मागे।
[36] याहवेहले मानिसहरूलाई इजिप्टियनहरूको निगाहमा राखिदिनुभयो; र तिनीहरूले उनीहरूले मागेका सबै कुराहरू दिइहाले; यसरी तिनीहरूले इजिप्टियनहरूलाई लुटे।
[37] इस्राएलीहरूले रामसेसदेखि सुक्कोतसम्म यात्रा गरे। स्त्री र बालबालिकाहरू छोडेर, लगभग छ लाख पैदल हिँड्ने मानिसहरू थिए।
[38] अरू धेरै मानिसहरूका साथसाथै बगाल र बथानसित गाईबस्तुको ठूलो हुल पनि तिनीहरूसित गए।
[39] इजिप्टबाट ल्याएको मुछेको पिठोबाट तिनीहरूले अखमिरी रोटीहरू पकाए। त्यो मुछेको पिठो खमिररहित थियो; किनकि तिनीहरू इजिप्टबाट धपाइएका थिए, र तिनीहरूसित आफ्ना भोजन बनाउने समय पनि थिएन।
[40] इस्राएलीहरू इजिप्टमा बसेको 430 वर्ष भइसकेको थियो।
[41] 430 वर्षको अन्त्यमा त्यही दिन याहवेहको सम्पूर्ण दलहरूले इजिप्ट छोडे।
[42] तिनीहरूलाई इजिप्टबाट बाहिर निकाल्नलाई त्यस रात याहवेहले हेरचाह गर्नुभएको कारण सारा इस्राएलीहरू पनि भावी पुस्तामा याहवेहलाई सम्मान दिनको निम्ति त्यस रात जागा रहनुपर्छ।
[43] याहवेहले मोशा र हारूनलाई भन्नुभयो, “निस्तार चाडका नियमहरू यिनै हुन्: “यसबाट कुनै विदेशीले खानुहुँदैन।
[44] तिमीहरूले किनेका हरेक दासले तिमीहरूले त्यसलाई खतना गरिदिएपछि यसबाट खाओस्,
[45] तर परदेशी र ज्यालादारी नोकरले यसबाट नखाओस्।
[46] “त्यो एउटै घरभित्र खाइनुपर्छ; मासुबाट अलिकति पनि घरबाट बाहिर नलैजानू। त्यसको कुनै पनि हड्डी नभाँच्नू।
[47] इस्राएलका सम्पूर्ण समुदायले त्यो उत्सव मनाउनुपर्छ।
[48] “तिमीहरूसित बस्ने कुनै परदेशीले याहवेहको निस्तार चाडको उत्सव मनाउन चाहन्छ भने त्यसले आफ्ना परिवारका सबै पुरुषहरूको खतना गराउनुपर्छ; तब त्यसले स्वदेशमा जन्मेकाले झैँ त्यसमा भाग लिन सक्छ। खतना नभएको कुनै पुरुषले यसबाट खान पाउनेछैन।
[49] तिमीहरूसित बस्ने स्वदेशी र विदेशीको लागि यही नियम लाग्नेछ।”
[50] सारा इस्राएलीहरूले याहवेहले मोशा र हारूनलाई आज्ञा दिनुभएबमोजिम गरे।
[51] अनि त्यही दिन याहवेहले इस्राएलीहरूलाई इजिप्टबाट तिनीहरूका दलअनुसार बाहिर निकालेर ल्याउनुभयो।