Skip to content
Opens in a new window
Listen to this chapter • 3:33

[1] इस्राएलीहरूका सारा समुदाय याहवेहले आज्ञा गर्नुभएझैँ एक ठाउँदेखि अर्को ठाउँ यात्रा गर्दै जानलाई सीनको उजाडस्थानबाट निस्के। तिनीहरूले रेफिदीममा पाल टाँगे; तर त्यहाँ मानिसहरूका निम्ति पिउनलाई पानी थिएन।

[2] यसकारण तिनीहरूले मोशासित झगडा गरेर भने, “हामीलाई पिउने पानी दिनुहोस्।” मोशाले जवाफ दिए, “तिमीहरू किन मसित झगडा गर्छौ? तिमीहरू किन याहवेहलाई परीक्षा गर्छौ?”

[3] तर ती मानिसहरू असाध्यै तिर्खाएका थिए; अनि तिनीहरू मोशाको विरुद्धमा गनगनाए। तिनीहरूले भने, “हामी, हाम्रा छोराछोरी र गाईबस्तुहरूलाई तिर्खाले मार्न भनी तपाईंले इजिप्टबाट निकालेर यस डरलाग्दो ठाउँमा किन ल्याउनुभयो?”

[4] तब मोशाले याहवेहलाई पुकार गरे, “म यी मानिसहरूलाई के गरूँ? तिनीहरूले मलाई ढुङ्गाले हान्‍नै आँटेका छन्।”

[5] याहवेहले मोशालाई जवाफ दिनुभयो, “इस्राएलका केही प्रधानहरूलाई साथमा लिएर मानिसहरूका अगि-अगि जा, र जुन लहुरोले तैँले नील नदीलाई हिर्काएको थिइस्, त्यो पनि आफ्नो हातमा लिएर जा।

[6] अनि म होरेबमा भएको चट्टानको छेवैमा तेरो सामु उभिनेछु। तैँले त्यस चट्टानलाई हिर्काऊनू, र त्यसबाट पानीको मूल फुट्नेछ, र मानिसहरूले पिउन सक्नेछन्।” यसकारण मोशाले इस्राएलका प्रधानहरूका आँखाको सामु त्यसै गरे।

[7] “याहवेह हाम्रा बीचमा हुनुहुन्छ कि हुनुहुन्‍न” भन्‍ने इस्राएलीहरूका झगडाको कारण र तिनीहरूले याहवेहको परीक्षा गरेको कारण त्यस ठाउँको नाम तिनले मस्सा र मेरीबा राखे।

[8] अमालेकीहरूले आएर रेफिदीममा इस्राएलीहरूमाथि आक्रमण गरे।

[9] अनि मोशाले यहोशूलाई भने, “हाम्रा मानिसहरूमध्ये केही मानिसलाई चुन र अमालेकीहरूसित लडाइँ गर। भोलि म परमेश्‍वरको लहुरो हातमा लिएर पहाडको टाकुरामा उभिनेछु।”

[10] यसकारण मोशाले आदेश गरेझैँ यहोशूले अमालेकीहरूसित युद्ध गरे; मोशा, हारून र हूरचाहिँ पहाडको टाकुरामा गए।

[11] मोशाले आफ्ना हातहरू उचालिराख्दा इस्राएलीहरूले जित्थे, तर जब तिनले आफ्ना हातहरू तल झार्थे, तब अमालेकीहरूले जित्थे।

[12] जब मोशाका हातहरू थाके, तब तिनीहरूले एउटा ढुङ्गा लिएर त्यसलाई तिनको मुनि राखिदिए, र तिनी त्यसमाथि बसे। हारून र हूरले सूर्यास्तसम्म तिनका हातहरू स्थिर भइरहून् भनेर एउटाले एकापट्टि र अर्काले अर्र्कापट्टि तिनका हातहरू थामिराखे।

[13] यसरी यहोशूले तरवारद्वारा अमालेकीहरूका सेनालाई पराजित गरे।

[14] तब याहवेहले मोशालाई भन्‍नुभयो, “यसलाई सम्झनाका निम्ति एउटा पुस्तकमा लेखिराख्, र यो कुरा यहोशूलाई सुनाइदे; किनकि म अमालेकीहरूको सम्झना धर्तीबाट पूर्ण रूपमा मेटिदिनेछु।”

[15] मोशाले एउटा वेदी बनाए, र त्यसलाई याहवेह निस्सी भने।

[16] तिनले भने, “याहवेहको सिंहासनतिर हातहरू उचालिएकाले याहवेहले पुस्तौँ-पुस्तासम्म अमालेकीहरूका विरुद्धमा लडाइँ गर्नुहुनेछ।”

प्रस्थान — Chapters