Skip to content
Opens in a new window
Listen to this chapter • 6:10

[1] याहवेहले मोशालाई भन्‍नुभयो,

[2] “इस्राएलीहरूलाई मेरो निम्ति भेटी ल्याउनू भन्। मेरो निम्ति हृदयदेखि नै दिने इच्छा गर्ने प्रत्येक मानिसबाट तैँले भेटी ग्रहण गर्नू।

[3] “तिनीहरूबाट तैँले प्राप्‍त गर्नुपर्ने भेटीहरू यिनै हुन्: “सुन, चाँदी र काँसो;

[4] निलो र बैजनी, रातो धागो र मसिनो सुती कपडा; बाख्राको भुत्ला;

[5] भेडाका रातो रङ्गले रङ्गाएको छालाहरू र सीलका छालाहरू; बबुलका काठ;

[6] बत्तीको निम्ति जैतुनको तेल; अभिषेक गर्नका निम्ति तेल र सुगन्धित धूपका निम्ति मसलाहरू;

[7] अनि एपोद र छाती-पाता जड्नका निम्ति गोमेद र अरू रत्नहरू।

[8] “तब तिनीहरूले मेरा लागि एउटा समागम पाल बनाऊन्, र म तिनीहरूको माझमा बास गर्नेछु।

[9] मैले तँलाई जस्तो नमुना देखाउनेछु, ठिक त्यहीअनुसार समागम पाल र त्यसका सबै सामानहरू बनाउनू।

[10] “तिनीहरूले बबुल काठको साढे दुई क्यूबिट लामो, साढे एक क्यूबिट चौडा र साढे एक क्यूबिट अग्लो सन्दुक बनाऊन्।

[11] त्यसलाई भित्र र बाहिर दुवैतिर निखुर सुनले मोहोर्नू, र त्यसको चारैतिर सुनको बिट बनाउनू।

[12] अनि त्यसका निम्ति सुनका चार वटा मुन्‍द्रा, त्यसका चार खुट्टामा बाँध्नू—दुई मुन्द्राहरू एकापट्टि र दुई वटा अर्कापट्टि।

[13] तब बबुल काठका डण्डाहरू बनाएर तिनलाई सुनले मोहोर्नू।

[14] ती डण्डाहरू सन्दुक बोक्नलाई त्यसका दुवैतिर भएका मुन्द्राहरूमा लगाउनू।

[15] ती डण्डाहरू त्यस सन्दुकका मुन्द्राहरूमै रहून्; तिनीहरूलाई ननिकाल्नू।

[16] त्यस सन्दुकभित्र मैले तँलाई दिने साक्षी पाटी राख्नू।

[17] “तैँले निखुर सुनको साढे दुई क्यूबिट लामो र साढे एक क्यूबिट चौडा एउटा पाप समाधान-स्थान बनाउनू।

[18] त्यसपछि पाप समाधान-स्थानको किनारहरूमा पिटिएको सुनका दुई वटा करूबहरू बनाउनू।

[19] एउटा करूब त्यस पाप समाधान-स्थानको एकापट्टि र अर्को करूब अर्कोपट्टि बनाउनू। ती करूबहरू पाप समाधान-स्थानसित एउटै टुक्रा हुने गरी दुवैतिर बनाउनू।

[20] ती करूबहरूका पखेटाहरू पाप समाधान-स्थानलाई ढाक्ने गरी उँभोतिर फर्केका होऊन्। ती करूबहरू पाप समाधान-स्थानतिर हेर्दै एक-अर्कापट्टि फर्केका होऊन्।

[21] त्यस पाप समाधान-स्थानलाई सन्दुकको माथिपट्टि राख्नू; अनि मैले तँलाई दिने साक्षी पाटी त्यसभित्र राख्नू।

[22] अनि त्यहीँ करारको सन्दुकमाथि भएका दुई करूबहरूको बीचमा भएको पाप समाधान-स्थानमाथि म तँलाई भेट्नेछु; र इस्राएलीहरूका निम्ति मेरा सबै आज्ञाहरू तँलाई दिनेछु।

[23] “तैँले बबुल काठको एउटा टेबुल—दुई क्यूबिट लामो, एक क्यूबिट चौडा र साढे एक क्यूबिट अग्लो बनाउनू।

[24] त्यसलाई तैँले निखुर सुनले मोहोर्नू, र त्यसका चारैतिर सुनको बिट बनाउनू।

[25] साथै त्यसका चारैतिर चार औँला चौडाइ भएको घेरा बनाउनू, र त्यसमा सुनको बिट लगाउनू।

[26] टेबुलको लागि सुनका चार वटा मुन्द्राहरू बनाएर ती चार कुनाहरूमा भएका खुट्टाहरूमा बाँध्नू।

[27] त्यो टेबुल बोक्नलाई चलाइने डण्डाहरूलाई समातिराख्न ती मुन्द्राहरू घेराका छेवैमा होऊन्।

[28] बबुल काठका डण्डाहरू बनाएर त्यसलाई सुनले मोहोर्नू, र तिनीहरूकै सहायताले टेबुल बोक्नू।

[29] त्यसका थालहरू अनि कचौराहरू, साथै करूवाहरू र भेटी खन्याउने कचौराहरू पनि निखुर सुनको बनाउनू।

[30] यस टेबुलमाथि उपस्थितिको रोटी मेरो सामु हर समय राख्नू।

[31] “तैँले निखुर सुनको एउटा सामदान बनाउनू; घनले पिटेर त्यसको आधार र डण्डा बनाउनू; त्यसका फूलजस्ता कचौराहरू, कोपिलाहरू र फूलहरू त्यससित एउटै टुक्राबाट बनाउनू।

[32] तीन वटा एकपट्टि र तीन वटा अर्कोपट्टि गरेर जम्मा सामदानका दुई छेउमा छ वटा हाँगाहरू निस्केका होऊन्।

[33] एउटा हाँगामा कोपिला र फूल भएको बदामको फूलजस्तै आकारका तीन वटा कचौराहरू होऊन्; अर्को हाँगामा तीन वटा र यसै गरी सामदानबाट निस्केका छ वटै हाँगाहरूमा होऊन्।

[34] अनि सामदानमा कोपिला र कोपिला भएको बदामको फूलको आकारमा चार वटा कचौराहरू बनाउनू।

[35] पहिलो कोपिला सामदानबाट निस्केको हाँगाको पहिलो जोडीमुनि होऊन्—दोस्रो कोपिला दोस्रो जोडीमुनि र तेस्रो कोपिला तेस्रो जोडीमुनि गरेर जम्मा छ वटा हाँगाहरू।

[36] ती कोपिलाहरू र हाँगाहरू सामदानसित एउटै टुक्राबाट घनले पिटेको निखुर सुनले बनिएको होस्।

[37] “तब त्यसका सात वटा दियाहरू बनाउनू र त्यसको नजिक ठाउँमा उज्यालो देखियोस् भनेर तिनलाई त्यसमाथि राख्नू।

[38] त्यसको सलेदो ठिक गर्ने चिम्टा र मोसोदानी निखुर सुनका होऊन्।

[39] सामदान र त्यसका सबै पात्रहरू एक टालेन्ट निखुर सुनको बनाउनू।

[40] ती सबै तँलाई पर्वतमा देखाइएको नमुनाअनुसार बनाउनू।

प्रस्थान — Chapters