Skip to content
Opens in a new window
Listen to this chapter • 6:29

[1] फेरि याहवेहले मोशालाई भन्‍नुभयो, “फारोकहाँ जा, किनकि मैले त्यसको र त्यसका अधिकारीहरूको हृदय कठोर बनाइदिएको छु, ताकि म तिनीहरूमाथि आफ्ना यी अलौकिक चिन्हहरू गर्न सकूँ;

[2] अनि मैले इजिप्टियनहरूसित कति कडा व्यवहार गरेँ, र मैले कसरी तिनीहरूबीच मेरा अलौकिक चिन्हहरू देखाएँ भनी तिमीहरूले आफ्ना छोराछोरीहरू र नातिनातिनाहरूलाई भन्‍नेछौ, र तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।”

[3] यसकारण मोशा र हारून फारोकहाँ गएर तिनलाई भने, “याहवेह, हिब्रूहरूका परमेश्‍वर, यसो भन्‍नुहुन्छ: ‘मेरो अगि आफूलाई नम्र तुल्याउन तँ कहिलेसम्म अस्वीकार गर्छस्? मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्।

[4] तैँले तिनीहरूलाई जान दिन अस्वीकार गरिस् भने म भोलि तेरो देशमा सलहहरू ल्याउनेछु।

[5] तिनीहरूले जमिनलाई नदेखिने गरी ढाकिदिनेछन्। असिनापछि अलि-अलि जे जति बाँकी रहेका छन्, तिनीहरूले ती सबै अनि तिमीहरूका खेतहरूमा बढ्दै गरेका प्रत्येक रूखलाई खाइदिनेछन्।

[6] तिनीहरूले तेरा घरहरू, तेरा सबै अधिकारीहरू र सारा इजिप्टियनहरूका घरहरू भरिनेछन्; यस्ता सलहहरू न तेरा पिताले, न त तेरा पुर्खाहरूले नै यस देशमा बसोबास गरेको समयदेखि आजसम्म देखेका छन्।’ ” तब मोशा फर्के, र फारोलाई छोडेर गए।

[7] फारोका अधिकारीहरूले तिनलाई भने, “यो मानिस कहिलेसम्म हाम्रा निम्ति पासो बन्‍ने? यी मानिसहरूलाई जान दिनुहोस्, ताकि याहवेह तिनीहरूका परमेश्‍वरको आराधना गरून्। इजिप्ट नाश भइसक्यो भनेर के तपाईंलाई अझ थाहा छैन र?”

[8] तब मोशा र हारून फारोकहाँ फर्काएर ल्याइए। अनि तिनले उनीहरूलाई भने, “जाओ, गएर याहवेह तिमीहरूका परमेश्‍वरको आराधना गर। तर जानेहरूचाहिँ को-को हुन्?”

[9] मोशाले जवाफ दिए, “हामी आफ्ना साना-ठूलासित, आफ्ना छोराछोरीहरूसित, आफ्ना बगाल र बथान सहित जानेछौँ; किनकि हामीले याहवेहका निम्ति चाड मनाउनुपर्छ।”

[10] फारोले भने, “म तिमीहरूलाई तिमीहरूका स्त्रीहरू र छोराछोरीहरूसहित जान दिनेछु, याहवेह तिमीहरूसित होऊन्, तर होशियार होऊ; किनभने तिमीहरूको यसमा दुष्‍टता देखिन्छ।

[11] अहँ, त्यसो होइन; तिमीहरू पुरुषहरू मात्र जाओ, र याहवेहको आराधना गर, जसका निम्ति तिमीहरूले बिन्ती गरिरहेका छौ।” तब मोशा र हारून फारोको उपस्थितिबाट निकालिए।

[12] अनि याहवेहले मोशालाई भन्‍नुभयो, “तेरो हात इजिप्टमाथि पसार्, र सलहहरूका हुल यस देशमा आऊन्, र खेतमा बढिरहेका घाँसपात, असिनाबाट बचेको सबै थोक खाइदेऊन्।”

[13] तब मोशाले आफ्नो लहुरो इजिप्टमाथि पसारे; अनि याहवेहले देशको चारैतिर दिनभरि र रातभरि पूर्वीय बतास चलाइदिनुभयो। तब बिहान भएपछि पूर्वीय बतासले सलहहरू ल्यायो।

[14] सलहहरूले सम्पूर्ण इजिप्टमाथि आक्रमण गरे, र देशका सबै भागहरूमा धेरै संख्यामा बसे। यसअगि कहिल्यै यति धेरै सलहहरू आएका थिएनन्, न त फेरि त्यो कहिल्यै आउनेछन्।

[15] तिनीहरूले सम्पूर्ण जमिनलाई कालो हुने गरी ढाकिदिए। तिनीहरूले असिनाले बचेका हरेक वनस्पति र रूखका सबै फलहरू खाइदिए। इजिप्टभरिका रूखहरू अथवा बोटबिरुवाहरूमा हरियो पात केही बाँकी रहेन।

[16] त्यसैले फारोले तुरुन्तै मोशा र हारूनलाई बोलाएर भने, “मैले याहवेह तिमीहरूका परमेश्‍वर र तिमीहरूका विरुद्धमा पाप गरेको छु।

[17] अब फेरि एकपल्ट मेरो पाप क्षमा गरिदेओ, र यो घातक विपत्ति मबाट हटाइदेऊन् भनी याहवेह तिमीहरूका परमेश्‍वरसित बिन्ती गरिदेओ।”

[18] तब मोशा फारोकहाँबाट निस्केर गइहाले र याहवेहलाई बिन्ती चढाए।

[19] अनि याहवेहले बतासलाई ठूलो पश्‍चिमी बतासमा परिणत गरिदिनुभयो, जसले सलहहरूलाई उडाएर लाल समुद्रमा फालिदियो। त्यसपछि इजिप्टमा एउटै सलह पनि रहेन।

[20] तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो; र तिनले इस्राएलीहरूलाई जान दिएनन्।

[21] तब याहवेहले मोशालाई भन्‍नुभयो, “तेरो हात आकाशतिर पसार्, र इजिप्टमाथि अँध्यारो भइजाओस्—छाम्दा पनि थाहा पाउनेजस्तो अन्धकार।”

[22] यसकारण मोशाले आफ्नो हात आकाशतिर पसारे, र इजिप्टभरि तीन दिनसम्म घनघोर अन्धकार भयो।

[23] तीन दिनसम्म कसैले एक-अर्कालाई देख्न सकेनन्, र आफ्नो ठाउँ छोड्न सकेनन्। तरै पनि इस्राएलीहरूका निम्ति त तिनीहरू बसेको ठाउँहरूमा उज्यालो रह्‍यो।

[24] तब फारोले मोशालाई बोलाएर भने, “जाऊ, याहवेहको आराधना गर। तिमीहरूका स्त्रीहरू र छोराछोरीहरू पनि तिमीहरूसित जाऊन्; केवल तिमीहरूका बगाल र बथान मात्र यहाँ रहून्।”

[25] तर मोशाले भने, “तपाईंले हामीलाई याहवेह हाम्रा परमेश्‍वरका निम्ति बलिदान र होमबलि चढाउन दिनुपर्छ।

[26] हाम्रा गाईबस्तुहरू पनि हामीसित जानेछन्, र एउटै खुर समेत छोडिनेछैन; किनकि हामीले तीमध्ये कुनै-कुनै बस्तुभाउ हाम्रा याहवेह परमेश्‍वरलाई चढाउनुपर्छ; जबसम्म हामी त्यहाँ पुग्दैनौँ, तबसम्म हामीले याहवेहलाई के-के चढाएर आराधना गर्नुपर्छ, सो हामीलाई थाहा हुँदैन।”

[27] तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो; अनि उनले तिनीहरूलाई जान दिएनन्।

[28] फारोले मोशालाई भने, “यहाँबाट गईहाल! अब फेरि मेरो सामु तिमी देखा पर्दै नपर! तिमीले मेरो अनुहार देखेको त्यही दिन तिमी मर्नेछौ।”

[29] मोशाले जवाफ दिए, “तपाईंले भन्‍नुभएझैँ म फेरि तपाईंको सामु कहिल्यै देखा पर्नेछैनँ।”

प्रस्थान — Chapters