[1] यसकारण बजलेल, ओहोलीआब र हरेक दक्ष मानिस, जसलाई याहवेहले पवित्रस्थान निर्माण गर्ने काममा दक्षता र क्षमता दिनुभएको छ, तिनीहरू सबैले याहवेहले आज्ञा दिनुभएअनुसार काम गरून्।”
[2] तब मोशाले बजलेल, ओहोलीआब अनि याहवेहले काम गर्न क्षमता दिनुभएका र इच्छुक हरेक दक्ष मानिसलाई बोलाइपठाए।
[3] तिनीहरूले पवित्रस्थान निर्माणका लागि इस्राएलीहरूले दिएका सबै भेटी मोशाबाट प्राप्त गरे। अनि मानिसहरूले हरेक बिहान स्वेच्छिक भेटीहरू ल्याउने गर्थे।
[4] तब पवित्रस्थानमा काम गर्ने सबै दक्ष कामदारहरूले आ-आफ्ना काम छोडे,
[5] अनि मोशालाई भने, “याहवेहले आज्ञा गर्नुभएको भन्दा धेरै सरसामानहरू मानिसहरूले ल्याएका छन्।”
[6] त्यसपछि मोशाले आदेश गरे, र छाउनीभरि नै सन्देश पठाए: “अब कुनै पुरुष वा स्त्रीले पवित्रस्थानको भेटीका लागि अरू केही नल्याउनू।” यसकारण मानिसहरूले अरू भेटी ल्याउन छोडे।
[7] किनकि तिनीहरूले ल्याएका भेटीहरू सबै काम सम्पन्न गर्न चाहिएभन्दा धेरै भयो।
[8] कामदारहरूमध्ये दक्ष भएकाहरूले दश वटा पर्दाले समागम पाल बनाए। ती पर्दाहरू मसिनो गरी बाटिएका सुती कपडाका निलो, बैजनी र रातो धागोका, र तिनमा दक्ष शिल्पकारद्वारा बनाइएका करूबहरूसहित समागम पाल थिए।
[9] सबै पर्दाहरू एउटै नापका थिए—अट्ठाइस क्यूबिट लम्बाइ र चार क्यूबिट चौडाइ।
[10] तिनीहरूले ती पाँच वटा पर्दाहरू एक-अर्कासित जोडे।
[11] त्यसपछि तिनीहरूले पहिलो जोडिएको पर्दाको अन्तिम किनारमा निलो कपडाको सुर्काउनी बनाए। अनि दोस्रो किनारमा जोडिएको भागको अर्को पर्दाको अन्तिम किनारमा पनि पहिलेको जस्तै गरे।
[12] तिनीहरूले एउटा भागको पर्दामा पचास वटा सुर्काउनी पनि बनाए। अर्को पर्दाको भागको अन्तिम किनारमा पचास वटा सुर्काउनी बनाए। ती सुर्काउनीहरू एक-अर्काका विपरीत थिए।
[13] त्यसपछि तिनीहरूले ती पर्दाहरू एक-आपसमा जोड्नलाई सुनका पचास वटा अङ्कुसेहरू बनाए। यसरी समागम पाल एउटै भयो।
[14] समागम पालमाथिको पालको लागि तिनीहरूले बाख्राको भुत्लाबाट एघार वटा पर्दाहरू बनाए।
[15] सबै एघार वटा पर्दाहरू एउटै नापका थिए—तीस क्यूबिट लम्बाइ र चार क्यूबिट चौडाइ।
[16] तिनीहरूले पाँच वटा पर्दाहरू जोडेर एउटा भाग र छ वटा पर्दाहरूका जोडेर अर्को भाग बनाए।
[17] त्यसपछि तिनीहरूले पहिलो गाँसिएको समूहको किनारमा पचास वटा सुर्काउनीहरू बनाए; अनि अर्को गाँसिएको समूहको पर्दाको किनारमा पनि पचास वटा सुर्काउनीहरू बनाए।
[18] ती दुवै पर्दालाई जोडेर एक-आपसमा एउटै बनाउन तिनीहरूले काँसोका पचास वटा अङ्कुसेहरू बनाए।
[19] त्यसपछि तिनीहरूले पालको निम्ति भेडाको रातो रङ्गाइएको छालाबाट छत बनाए; र त्यसमाथि सीलका छालाहरूबाट छत बनाए।
[20] तिनीहरूले समागम पालका निम्ति बबुल काठको ठाडो फल्याकहरू बनाए।
[21] प्रत्येक फल्याकका लम्बाइ दश क्यूबिट र चौडाइ डेढ क्यूबिट थियो।
[22] त्यसमा एक-अर्कामा समानान्तर रहेका दुई वटा चोसाहरू थिए। समागम पालका सबै फल्याकहरू यस किसिमले नै बनाए।
[23] तिनीहरूले समागम पालको दक्षिणपट्टिका लागि बीस वटा फल्याकहरू बनाए।
[24] अनि ती फल्याकहरूका मुन्तिर चालीस वटा चाँदीका आधारहरू बनाए—एउटा फल्याकको लागि दुई वटा आधारहरू, प्रत्येक चोसाको मुनि एउटा।
[25] अर्कोपट्टि, समागम पालको उत्तरपट्टि बीस वटा फल्याकहरू,
[26] अनि तिनको निम्ति दुई वटा आधार गरेर तिनीहरूले चाँदीका चालीस वटा आधारहरू बनाए।
[27] तिनीहरूले पछिल्तिरको भाग, जो समागम पालको पश्चिमतिरको भाग हो, त्यसका लागि छ वटा फल्याकहरू बनाए।
[28] अनि अन्तिम भागमा भएका समागम पालका कुनाहरूका लागि दुई वटा फल्याकहरू बनाइए।
[29] ती कुनाका दुई फल्याकहरू तलदेखि माथिसम्म दोबर खप्टिएका र माथिल्लो भागमा कुनाका फल्याकहरू एउटै मुन्द्रामा जोडिएका थिए। ती दुवै एकै किसिमले बनेका थिए।
[30] यसरी त्यहाँ पछाडिपट्टि आठ वटा फल्याकहरू र एउटाको मुन्तिर दुई वटा गरी चाँदीका सोह्र वटा आधारहरू थिए।
[31] तिनीहरूले बबुल काठका बारहरू र समागम पालको एकापट्टि पाँच वटा फल्याकहरू पनि बनाए।
[32] अनि अर्कोपट्टिका फल्याकहरूका लागि पाँच वटा बार र समागम पालको पश्चिमका अन्तिम भागका फल्याकहरूको लागि पाँच वटा बारहरू लगाए।
[33] तिनीहरूले फल्याकहरूको बीचमा पर्ने बारचाहिँ एक छेउदेखि अर्को छेउसम्म पुग्ने बनाए।
[34] तिनीहरूले सबै फल्याकहरू सुनले मोहोरे, र बारहरू पक्रनका लागि सुनका मुन्द्राहरू बनाए। ती बारहरू पनि सुनले नै मोहोरे।
[35] तिनीहरूले निलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको एउटा पर्दा बनाए; जसमा निपूर्ण शिल्पकारद्वारा बनाइएका करूबहरू थिए।
[36] तिनीहरूले त्यसका लागि बबुल काठका चार वटा खाँबाहरू बनाए; अनि तिनलाई सुनले मोहोरे। तिनीहरूले सुनका अङ्कुसेहरू बनाए; र चाँदीका चार वटा आधारहरू ढाले।
[37] तिनीहरूले पाल प्रवेशद्वारका लागि निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाले शिल्पकारको शिल्पकारी भएको एउटा पर्दा बनाए;
[38] अनि तिनीहरूले पाँच वटा खाँबाहरूसहित अङ्कुसेहरू पनि बनाए। तिनीहरूले खाँबोका टुप्पाहरू र तिनका फित्ताहरू सुनले मोहोरे, र तिनका पाँच वटा काँसोका आधारहरू बनाए।