[1] तब याहवेहले मोशालाई भन्नुभयो,
[2] “इस्राएलीहरूलाई पछि फर्केर मिग्दोल र समुद्रको बीचमा पी-हहीरोतको छेउमा पाल टाँगेर बस्नू भन्। तिनीहरू बाल-सेफोनको ठिक विपरीत समुद्रनिर डेरा हालेर बसून्।
[3] फारोले विचार गर्नेछ, ‘इस्राएलीहरू त उजाडस्थानमा थुनिएर अलमलमा परी देशमा भौँतारिरहेका छन्।’
[4] अनि म फारोको हृदय कठोर पार्नेछु, र त्यसले तिनीहरूलाई खेद्नेछ। तर म फारो र त्यसका सेनाद्वारा आफ्नो महिमा लिनेछु, र इजिप्टियनहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।” यसकारण इस्राएलीहरूले त्यसै गरे।
[5] जब इजिप्टका राजालाई ती मानिसहरू भागे भनी बताइयो, फारो अनि तिनका अधिकारीहरूले तिनीहरूको विषयमा आफ्ना मन बदली गरे, र भने, “हामीले यो के गर्यौँ? हामीले इस्राएलीहरूलाई जान दिएर तिनीहरूको सेवा गुमायौँ!”
[6] यसकारण तिनले आफ्नो रथ तयार गराए, र आफ्नो सेना आफूसित लिए।
[7] तिनले आफ्ना उत्तम रथहरूमध्ये छ सय वटा लिए, र साथमा इजिप्टका अरू सबै रथहरूमाथि पदाधिकारीहरू सवार गराए।
[8] याहवेहले इजिप्टका राजा फारोको हृदय कठोर पारिदिनुभयो, र तिनले साहससित अगि बढिरहेका इस्राएलीहरूलाई खेदे।
[9] इजिप्टियनहरू—फारोका सबै घोडाहरू, रथहरू, घोडसवारहरू र सेनाले—इस्राएलीहरूलाई खेदे, र बाल-सेफोनको विपरीत पी-हहीरोतको नजिक समुद्रनिर डेरा हालेर बसेको बेलामा तिनीहरूलाई भेटे।
[10] फारो नजिक आइपुग्दा इस्राएलीहरूले आँखा उठाएर हेरे, र इजिप्टियनहरूलाई तिनीहरूको पछि आइरहेका देखे। तिनीहरू साह्रै डराए; अनि याहवेहलाई पुकार गरे।
[11] तिनीहरूले मोशालाई भने, “के इजिप्टमा चिहानहरू थिएनन् र तपाईंले हामीलाई यस उजाडस्थानमा मर्न भनी ल्याउनुभयो? हामीलाई इजिप्टबाट यहाँ ल्याएर तपाईंले यो के गर्नुभएको?
[12] के हामीले इजिप्टमा तपाईंलाई ‘हामीलाई त्यसै छोडिदिनुहोस्; हामीलाई इजिप्टियनहरूको सेवा गर्न दिनुहोस्’ भनेका थिएनौँ र? यस उजाडस्थानमा मर्नुभन्दा त हामीलाई इजिप्टियनहरूको सेवा गर्नु असल हुनेथियो।”
[13] मोशाले मानिसहरूलाई जवाफ दिए, “नडराओ, दृढतासाथ खडा रहो। आज याहवेहले तिमीहरूमा ल्याउनुहुने छुटकारा तिमीहरूले देख्नेछौ। तिमीहरूले आज देखेका इजिप्टियनहरूलाई फेरि कहिल्यै देख्नेछैनौ।
[14] याहवेहले तिमीहरूका पक्षमा युद्ध गर्नुहुनेछ; तिमीहरू केवल शान्त होऊ।”
[15] तब याहवेहले मोशालाई भन्नुभयो, “तिमीहरू किन मेरो पुकार गर्छौ? इस्राएलीहरूलाई अगि बढ्नू भन्।
[16] तेरो लहुरो उठा, र इस्राएलीहरू समुद्र भएर ओबानो जमिनबाट जाऊन् भनेर पानी दुई भाग गर्नलाई तेरो हात पसार्।
[17] म इजिप्टियनहरूको हृदय कठोर पारिदिनेछु, र तिनीहरू उनीहरूको पछि-पछि समुद्रभित्र जानेछन्। अनि म फारो र त्यसका सेनाद्वारा, त्यसका रथहरू र त्यसका घोडसवारहरूद्वारा महिमित हुनेछु।
[18] जब फारो, त्यसका रथहरू र त्यसका घोडसवारहरूद्वारा मेरो महिमा हुनेछ, तब इजिप्टियनहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।”
[19] त्यसपछि इस्राएली सेनाको अगि-अगि यात्रा गरिरहेका परमेश्वरका स्वर्गदूत पछि सरेर तिनीहरूका पछिल्तिर गए। बादलको खामो पनि अगिल्तिरबाट सरेर तिनीहरूका पछिल्तिर उभियो;
[20] अनि इजिप्ट र इस्राएलीहरूका सेनाका बीचमा आयो। रातभरि त्यस बादलले एकातिर अँध्यारो र अर्कोतिर उज्यालो ल्यायो। यसकारण रातभरि एकपट्टिको मानिस अर्कोपट्टि गएन।
[21] तब मोशाले समुद्रमाथि आफ्ना हात पसारे; अनि याहवेहले रातभरि शक्तिशाली पूर्वीय बतास चलाएर समुद्रलाई पछिल्तिर ठेलिदिनुभयो, र त्यसलाई ओबानो जमिनमा परिणत गरिदिनुभयो। पानी दुई भाग भयो,
[22] अनि इस्राएलीहरू समुद्रबीच ओबानो जमिनबाट भएर गए; तिनीहरूका दाहिने र देब्रेतिर पानीको पर्खाल खडा भयो।
[23] ती इजिप्टियनहरूले तिनीहरूलाई खेदे, र फारोका सबै घोडाहरू, रथहरू र घोडसवारहरूले तिनीहरूलाई समुद्रमा पछ्याए।
[24] मिरमिरे बिहानी याहवेहले आगो र बादलको खामोबाट इजिप्टका सेनालाई तल हेर्नुभयो र तिनीहरूलाई अलमल पारिदिनुभयो।
[25] उहाँले तिनीहरूका रथहरूका चक्काहरू फुस्काइदिनुभयो, र तिनीहरूलाई कुदाउन कठिन पर्यो। अनि इजिप्टियनहरूले भने, “हामी इस्राएलीहरूदेखि भागौँ! याहवेह तिनीहरूको पक्षमा भई हाम्रो विरुद्धमा युद्ध गर्दै हुनुहुन्छ।”
[26] तब याहवेहले मोशालाई भन्नुभयो, “पानी फेरि इजिप्टियनहरू, तिनीहरूका रथहरू र घोडसवारहरूमाथि पछिल्तिर फर्केर ओइरियोस् भनेर तेरो हात समुद्रमाथि पसार्।”
[27] मोशाले आफ्ना हात समुद्रमाथि पसारे, र बिहान समुद्र फेरि आफ्नो ठाउँमा सर्यो। इजिप्टियनहरू यसको विपरीत भाग्दैथिए; अनि याहवेहले तिनीहरूलाई सोहोरेर समुद्रमा हालिदिनुभयो।
[28] पानी फर्केर आयो, र इस्राएलीहरूलाई समुद्रमा पछिबाट लखेट्ने रथहरू र घोडसवारहरू, फारोका सम्पूर्ण सेनालाई ढाकिदियो। तिनीहरूमध्ये एउटै पनि बाँचेनन्।
[29] तर इस्राएलीहरू त तिनीहरूका दाहिने र देब्रेतिर पानीका पर्खाल भएकाले समुद्रबाट ओबानो जमिन भएर गए।
[30] त्यस दिन याहवेहले इस्राएलीहरूलाई इजिप्टियनहरूको हातबाट बचाउनुभयो; अनि इस्राएलीहरूले इजिप्टियनहरूलाई किनारमा मरेर पस्रिरहेका देखे।
[31] जब याहवेहले इजिप्टियनहरूको विरुद्धमा महान् शक्ति देखाउनुभएको इस्राएलीहरूले देखे, तब मानिसहरू याहवेहसित डराए र आफ्नो भरोसा याहवेह र उहाँका सेवक मोशामाथि राखे।