[1] तब याहवेहले मोशालाई भन्नुभयो,
[2] “हेर्, मैले यहूदा कुलको हूरको नाति ऊरीको छोरा बजलेललाई चुनेको छु।
[3] अनि मैले त्यसलाई मेरो आत्मा, बुद्धि, समझ, ज्ञान र कारिगरीका सबै दक्षताले भरेको छु।
[4] त्यसले सुन, चाँदी र काँसोका कामहरू,
[5] पत्थर काटेर जड्ने काम, काठको काम, र सबै किसिमका कारिगरी गर्नेछ।
[6] यसबाहेक त्यसलाई सघाउन भनी मैले दानको कुलको अहीसामाकको छोरा ओहोलीआबलाई नियुक्त गरेको छु। “मैले तँलाई आज्ञा गरेका सबै कुरा बनाउनलाई सबै दक्ष कामदारहरूलाई पनि मैले सिप दिएको छु:
[7] “समागम पाल, साक्षी पाटीको सन्दुक, र त्यसमाथि भएको पाप समाधान-स्थान, र पालका अरू सबै सामग्रीहरू—
[8] टेबुल र त्यसका सामग्रीहरू, निखुर सुनको सामदान र त्यसका सबै सामग्रीहरू, धूपको वेदी,
[9] होमबलिको वेदी र त्यसका सबै पात्रहरू, काँसोका बाटा र त्यसलाई उभ्याउने सामानहरू—
[10] बुनेका पोशाकहरू पनि, हारून पुजारीका पवित्र पोशाकहरू, पुजारी भई सेवा गर्दा लगाउने तिनका छोराहरूका पोशाकहरू,
[11] अभिषेक गर्ने तेल र पवित्रस्थानको लागि सुगन्धित धूप। “मैले तँलाई आज्ञा गरेअनुसार नै तिनीहरूले यी सबै कुराहरू ठिकठिक बनाउनुपर्छ।”
[12] तब याहवेहले मोशालाई भन्नुभयो,
[13] “इस्राएलीहरूलाई भन्, ‘तिमीहरूले मेरो शब्बाथ दिन पालन गर्नू। आउने पुस्ताहरूका लागि मेरो र तिमीहरू बीचको चिन्ह यो हुनेछ, ताकि तिमीहरूले जान्नेछौ कि म याहवेह हुँ, जसले तिमीहरूलाई पवित्र बनाउँछु।
[14] “ ‘शब्बाथ दिन मान्नू; किनकि यो दिन तिमीहरूका लागि पवित्र छ। जसले यसलाई अपवित्र पार्छ, त्यो मारिनुपर्छ; जसले यस दिनमा काम गर्छ, त्यसलाई मानिसहरूबाट बहिष्कार गरिनुपर्छ।
[15] छ दिनसम्म काम गरिनुपर्छ, तर सातौँ दिनचाहिँ शब्बाथ दिन हो, जुन याहवेहका निम्ति पवित्र छ। जसले शब्बाथ दिनमा काम गर्छ, त्यो मारिनुपर्छ।
[16] इस्राएलीहरूले शब्बाथ दिनलाई आउने पुस्ताहरूका लागि सधैँको करारको रूपमा मनाउनुपर्छ।
[17] मेरो र इस्राएलीहरूको बीचमा यो अनन्तका लागि चिन्ह हुनेछ; किनकि याहवेहले छ दिनमा आकाश र पृथ्वी बनाउनुभयो; अनि सातौँ दिनमा उहाँले काम गर्नुभएन, तर आरामले विश्राम लिनुभयो।’ ”
[18] परमेश्वरले मोशासित सीनै पर्वतमा कुरा गरिसक्नुभएपछि उहाँका आफ्ना औँलाले लेखेका दुई वटा साक्षीका ढुङ्गा पाटीहरू उनलाई दिनुभयो।