[1] इस्राएलीहरूले इजिप्ट छोडेको तेस्रो महिनाको पहिलो दिन, त्यही दिन तिनीहरू सीनैको उजाडस्थानमा आइपुगे।
[2] इस्राएलीहरू रेफिदीमबाट हिँडेपछि सीनैको उजाडस्थानमा प्रवेश गरे, र तिनीहरूले त्यही पर्वतको सामु उजाडस्थानमा पाल टाँगेर बसे।
[3] तब मोशा माथि डाँडामा परमेश्वरलाई भेट्न गए; अनि याहवेहले पर्वतबाट तिनलाई भन्नुभयो, “तैँले याकोबको घरानालाई भन्नुपर्ने र इस्राएलका मानिसहरूलाई बताउनुपर्ने यही हो:
[4] ‘मैले इजिप्टलाई के गरेँ, मैले कसरी तिमीहरूलाई गरुडहरूझैँ पखेटामा उडाएर मकहाँ ल्याएँ, त्यो तिमीहरूले देखेका छौ।
[5] अब यदि तिमीहरूले मैले भनेको कुरा सुन्यौ, र मेरा करारहरू पूर्ण पालन गर्यौ भने सबै जातिमध्ये तिमीहरू मेरा निज धन हुनेछौ। सारा पृथ्वी मेरै हुन्।
[6] तिमीहरू मेरा निम्ति पुजारीहरूको एउटा राज्य र एउटा पवित्र जाति हुनेछौ।’ तैँले इस्राएलीहरूलाई भन्नुपर्ने कुराहरू यिनै हुन्।”
[7] मोशा फर्किएर मानिसहरूका प्रधानहरूलाई बोलाइपठाए, र याहवेहले तिनलाई आज्ञा गर्नुभएका सबै कुराहरू तिनीहरूका सामु राखिदिए।
[8] ती सबै मानिसहरूले एकसाथ जवाफ दिए, “याहवेहले भन्नुभएका सबै कुराहरू हामी गर्नेछौँ।” यसकारण मोशाले तिनीहरूका जवाफ याहवेहकहाँ आएर सुनाए।
[9] याहवेहले मोशालाई भन्नुभयो, “म बाक्लो बादलमा तँकहाँ आउनेछु; मानिसहरूले म तँसित कुरा गरेको सुनून्, र तिनीहरूले सधैँ आफ्ना भरोसा तँमाथि राखून्।” तब मोशाले याहवेहलाई मानिसहरूले भनेका कुरा भनिदिए।
[10] याहवेहले मोशालाई भन्नुभयो, “मानिसहरूकहाँ गएर तिनीहरूलाई आज र भोलि शुद्ध पार्। तिनीहरूले आफ्ना वस्त्र धोऊन्,
[11] अनि तेस्रो दिनको लागि तिनीहरू तयार रहून्; किनकि त्यस दिन याहवेह सबै मानिसहरूका आँखाका सामु सीनै पर्वतमाथि ओर्लिआउनुहुनेछ।
[12] पर्वतको चारैतिर मानिसहरूका लागि सिमाना लगाएर तिनीहरूलाई यसो भन्नू, ‘होशियार रहो, पर्वतमाथि नचढ्नू र त्यसको फेद पनि नछुनू। जसले यस पर्वतलाई छुन्छ, त्यो निश्चय मारिनेछ।
[13] त्यसलाई कसैले पनि नछुनू। तर त्यसलाई ढुङ्गाले हानेर अथवा काँडले छेडेर मार्नू। मानिस होस् वा पशु, त्यो जीवित रहनेछैन।’ केवल तुरही फुकेको आवाज सुनेपछि मात्र तिनीहरू पर्वतको नजिक जाऊन्।”
[14] मोशा पर्वतबाट तल मानिसहरूकहाँ ओर्लेर आएपछि तिनले उनीहरूलाई शुद्ध पारे; अनि तिनीहरूले आफ्ना वस्त्रहरू धोए।
[15] तब तिनले मानिसहरूलाई भने, “आफूलाई तेस्रो दिनको लागि तयार पार्नू। यौन सम्बन्धबाट अलग रहनू।”
[16] तेस्रो दिनको बिहान गर्जन भयो, बिजुली चम्क्यो र पर्वतमा बाक्लो बादल देखियो; अनि अति चर्को आवाजले तुरही बजेको आवाज सुनियो। छाउनीमा भएका हरेक व्यक्ति थरथर कामे।
[17] तब मोशाले मानिसहरूलाई परमेश्वरसित भेट्न छाउनीबाहिर निकालेर ल्याए; अनि तिनीहरू पर्वतको फेदमा उभिए।
[18] सीनै पर्वत धुवैँधुवाँले भरिएको थियो; किनकि याहवेह त्यहाँ आगोमा भई ओर्लनुभएको थियो। त्यहाँ इँटाभट्टाको धुवाँझैँ मुस्लो उठिरहेको थियो; अनि सम्पूर्ण पर्वत जोडसित काम्यो,
[19] र तुरहीको आवाज झन्-झन् चर्को हुँदैगयो। तब मोशा बोले, र परमेश्वरको आवाजले तिनलाई जवाफ दियो।
[20] याहवेह सीनै पर्वतको टाकुरामा ओर्लनुभयो; र मोशालाई पर्वतको टाकुरामा बोलाउनुभयो। यसकारण मोशा माथि गए,
[21] अनि याहवेहले मोशालाई भन्नुभयो, “तल गएर मानिसहरूलाई चेतावनी दे, र याहवेहलाई हेर्न भनी तिनीहरू जबरजस्ती नआऊन्, र तिनीहरूमध्ये धेरै नमरून्।
[22] याहवेहको नजिकमा आउने पुजारीहरू समेतले आफूलाई शुद्ध पारून्, नत्रता याहवेहले तिनीहरूलाई नाश गर्नुहुनेछ।”
[23] मोशाले याहवेहलाई भने, “मानिसहरू सीनै पर्वतमाथि आउन सक्दैनन्; किनकि तपाईंले हामीलाई ‘पर्वतका चारैतिर सिमाना लगाएर त्यसलाई पवित्र गरी अलग गर्नू’ भनी चेतावनी दिनुभएको छ।”
[24] याहवेहले जवाफ दिनुभयो, “तल गएर हारूनलाई तँसित माथि लिएर आइज; तर पुजारीहरू र मानिसहरू याहवेहकहाँ जबरजस्ती गरेर नआऊन्; नत्रता उहाँले तिनीहरूलाई नाश गर्नुहुनेछ।”
[25] यसकारण मोशा तल मानिसहरूकहाँ ओर्लेर गए, र तिनीहरूलाई यी कुरा भनिदिए।