[1] तिनीहरूले पवित्रस्थानका सेवाका निम्ति निलो, बैजनी र रातो धागोले बुनेका पोशाकहरू बनाए। याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले हारूनका निम्ति पनि पवित्र पोशाकहरू बनाए।
[2] तिनीहरूले एपोदचाहिँ सुन, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाको बनाए।
[3] तिनीहरूले सुनलाई पिटेर पातलो पाताबाट स-साना डोरीहरू बनाए; अनि त्यसलाई निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो सुती कपडामा जडे, जुनचाहिँ निपूर्ण कारिगरको हातको काम थियो।
[4] एपोदका निम्ति तिनीहरूले दुई वटा काँधे-जोर्नीहरू बनाए; अनि त्यसलाई बाँध्नका निम्ति त्यसका छेउमा लगाइदिए।
[5] याहवेहले मोशालाई आज्ञा गर्नुभएबमोजिम सिपालु गरी बुनेको पटुका एपोदसँग एकै प्रकारका सामग्रीहरूबाट बनिएको थियो: सुन, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाको थियो।
[6] तिनीहरूले आनिक्स पत्थरहरू सुनका मणिघरहरूमा जडे, र छापमा झैँ इस्राएलका छोराहरूका नाम त्यसमा खोपे।
[7] याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले ती पत्थरहरू सम्झनाका निम्ति इस्राएलका छोराहरूका एपोदका काँधे-जोर्नीहरूमा लगाए।
[8] सिपले निपूर्ण मानिसलेझैँ तिनीहरूले छाती-पाता बनाए। सुन, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाबाट तिनीहरूले त्यो एपोदजस्तै बनाए।
[9] त्यो वर्गाकार, एक बित्ता लामो र एक बित्ता चौडा, अनि दोबारेर पट्ट्याइएको थियो।
[10] तब तिनीहरूले त्यसका चार पङ्क्तिमा बहुमूल्य पत्थरहरू जडे। पहिलो पङ्क्तिमा माणिक, पुष्पराज र पन्ना;
[11] दोस्रो पङ्क्तिमा फिरोजा, नीलमणि र हीरा;
[12] तेस्रो पङ्क्तिमा धूम्रकान्त, सूर्यकान्त र नीलमणि;
[13] अनि चौथो पङ्क्तिमा फिरोज, गोमेद र स्फटिक थिए। ती सुनको मणिघरहरूमा जडिएका थिए।
[14] बाह्र पत्थरहरूमा इस्राएलका बाह्र कुलहरू जनाउन प्रत्येकमा छापमा खोपेझैँ एक-एक गरी इस्राएलका छोराहरूका नाम थिए।
[15] छाती-पाताको निम्ति तिनीहरूले डोरीजस्तो बाटेको निखुर सुनका सिक्रीहरू बनाए।
[16] तिनीहरूले सुनका दुई वटा मणिघरहरू र दुई वटा मुन्द्राहरू बनाए; अनि ती दुवै मुन्द्राहरूलाई छाती-पाताको दुई कुनामा लगाए।
[17] तिनीहरूले बनाएका ती सुनका दुई सिक्रीहरूलाई छाती-पाताको कुनामा भएका मुन्द्राहरूमा लगाए,
[18] अनि सिक्रीका अरू छेउहरूलाई अगिल्तिर भएको एपोदका काँधे-जोर्नीहरूका अगाडिपट्टि मिलाएर दुवैलाई सुनका मणिघरहरूमा लगाए।
[19] तिनीहरूले सुनका दुई वटा मुन्द्रा बनाएर छाती-पाताको अर्को दुई किनारमा एपोदको भित्री भागमा लगाए।
[20] तब तिनीहरूले सुनका अरू दुई वटा मुन्द्राहरू बनाए, र दुवै काँधे-जोर्नीहरूका मुनि एपोदको अगाडिपट्टि पटुकाको ठिक माथि सिउनीनिर लगाए।
[21] याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले छाती-पाताका मुन्द्राहरूलाई निलो धागोले बाँधे, ताकि त्यो एपोदबाट सर्न नसकोस्।
[22] तिनीहरूले एपोदको अलखा सबै निलो रङ्गले बुनेको कपडाको बनाए।
[23] त्यसको बीचमा कठालोको प्वालजस्तो अलखाको प्वाल बनाए, र वरिपरि बिट बुनिदिए, ताकि त्यो नफाटोस्।
[24] त्यसको तल्लो फेरोमा तिनीहरूले निलो, बैजनी, र रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको दारिमहरू बनाए।
[25] तिनीहरूले निखुर सुनका घण्टीहरू बनाए, र ती अलखाको फेरोको वरिपरि र दारिमहरूको बीचमा लगाए।
[26] याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले सेवा गर्दा लगाउनका निम्ति ती सुनका घण्टीहरू अलखाको फेरो र दारिमहरूको वरिपरि लगाए।
[27] तिनीहरूले हारून र तिनका छोराहरूका निम्ति मसिनो सुती कपडाका लवेदाहरू
[28] अनि मसिनो सुती कपडाका फेटा, टोपीहरू र सुती कपडाकै भित्री वस्त्रहरू पनि बनाए।
[29] त्यसै गरी याहवेहले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले शिल्पकारीले झैँ मसिनो गरी बाटेको सुतीको कपडा, निलो, बैजनी र रातो रङ्गको बुट्टेदार भएको पटुका बनाए।
[30] तिनीहरूले पाता, अर्थात् निखुर सुनले पवित्र मुकुट बनाए, र छापको खोपझैँ यी कुरा खोपे: याहवेहका निम्ति पवित्र।
[31] तब याहवेहले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले त्यस पातालाई निलो डोरीले फेटामा लगाउनलाई बाँधे।
[32] यसरी भेट हुने पाल, अर्थात् समागम पालको सम्पूर्ण कार्य सकियो। याहवेहले मोशालाई जस्तो आज्ञा गर्नुभएको थियो, त्यस्तै इस्राएलीहरूले गरे।
[33] तब तिनीहरूले मोशाकहाँ समागम पाल ल्याए: पाल र त्यसका सबै सरसामानहरू, त्यसका अङ्कुसेहरू, फल्याकहरू, तेर्सो बारहरू, खाँबाहरू र आधारहरू;
[34] रातो रङ्गले रङ्गाएका भेडाका छालाहरू र पर्दाहरू ढाक्नका निम्ति सीलका छालाहरू, छेक्ने पर्दा;
[35] करारको सन्दुक, त्यसका डण्डाहरू र पाप समाधान-स्थान;
[36] टेबुल र त्यसका सबै सरसामानहरू र उपस्थितिको रोटी;
[37] निखुर सुनको सामदान, त्यसका दियाहरू, सबै सरसामानहरू अनि प्रकाशको निम्ति जैतुनको तेल;
[38] सुनको वेदी, अभिषेक गर्ने तेल, सुगन्धित धूप र पालको ढोकाको निम्ति पर्दा;
[39] काँसोका वेदी, त्यसको जाली, डण्डाहरू र सबै सामानहरू; हात धुने बाटा र त्यसका आसन;
[40] आँगनका पर्दाहरू, त्यसका खाँबाहरू, त्यसका आधारहरू र आँगनको ढोकाको निम्ति पर्दाहरू; आँगनका निम्ति डोरीहरू र किलाहरू; समागम पालको भेट हुने पालको निम्ति सबै सरसामानहरू;
[41] अनि पवित्रस्थानमा सेवाको निम्ति बुनिएका पोशाकहरू, पुजारी हारूनका निम्ति पवित्र पोशाकहरू र पुजारीकै पदमा रही सेवा गर्नका निम्ति हारूनका छोराहरूका पोशाकहरू।
[42] याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार इस्राएलीहरूले सबै काम गरे।
[43] मोशाले सबै काम हेरे; अनि ती काम याहवेहले आज्ञा गर्नुभएअनुसार थिए। त्यसकारण मोशाले तिनीहरूलाई आशिष् दिए।