[1] त्यहाँबाट जाँदै गर्नुहुँदा, येशूले एउटा जन्मैको दृष्टिविहीनलाई देख्नुभयो।
[2] उहाँका चेलाहरूले उहाँलाई सोधे, “गुरुज्यू, कसले पाप गर्यो, यो मानिसले कि यसका आमाबुबाले, जसको कारण यो दृष्टिविहीन जन्म्यो?”
[3] येशूले भन्नुभयो, “न यसले, न ता यसका आमाबुबाले पाप गरे, तर यस मानिसमा परमेश्वरको काम प्रकट होस् भन्ने हेतुले यसो भएको हो।
[4] दिन छँदा नै हामीले मलाई पठाउनुहुनेको काम गर्नुपर्छ। रात आउँदैछ, जब कसैले काम गर्न सक्दैन।
[5] म संसारमा रहुन्जेल संसारको ज्योति म नै हुँ।”
[6] यी कुराहरू भनेर उहाँले भुइँमा थुक्नुभयो, र सो थुकले माटो मुछेर त्यस मानिसको आँखामा लगाइदिनुभयो।
[7] उहाँले त्यसलाई भन्नुभयो, “जाऊ, सिलोआमको पोखरीमा गएर पखाल” (सिलोआमको अर्थ “पठाइएको” हो)। त्यो मानिस गयो र पखाल्यो, अनि देख्ने भएर घर फर्किआयो।
[8] त्यसका छिमेकीहरू र त्यसलाई भीख मागिरहेको देख्ने अरूहरूले आपसमा सोध्न लागे, “के यो बसेर भीख माग्ने त्यही मानिस होइन र?”
[9] कतिले ऊ त्यही मानिस हो भन्ने दाबी गरे। अरूहरूले भने, “होइन, तर यो त्योजस्तै देखिन्छ।” तर ऊ आफैले भन्यो, “म त्यही मानिस हुँ।”
[10] तिनीहरूले त्यसलाई सोधे, “तेरा आँखा कसरी खोलिए त?”
[11] त्यसले जवाफ दियो, “येशू भन्ने एकजना मानिसले माटो मुछेर मेरा आँखामा लगाइदिनुभयो। उहाँले मलाई सिलोआममा गएर पखाल्न अह्राउनुभयो। तब म गएँ, र पखालें, अनि मैले देख्नसक्ने भएँ।”
[12] तिनीहरूले त्यसलाई सोधे, “ती मानिस कहाँ छन् त?” त्यसले भन्यो, “मलाई थाहा छैन।”
[13] पहिले दृष्टिविहीन भएको त्यस मानिसलाई तिनीहरूले फरिसीहरूकहाँ ल्याए।
[14] येशूले माटो मुछेर त्यस मानिसको आँखा खोल्नुभएको दिन विश्रामदिन थियो।
[15] त्यसकारण फरिसीहरूले त्यसलाई पनि त्यसले कसरी दृष्टि पायो भनी सोधपुछ गरे। त्यस मानिसले जवाफ दियो, “उहाँले माटो मुछेर मेरा आँखामा लगाइदिनुभयो, अनि मैले पखालें, र अहिले म देख्नसक्ने भएको छु।”
[16] फरिसीहरूमध्ये कसैले भने, “यो मानिस परमेश्वरबाट आएको होइन, किनकि यसले विश्रामदिन पालन गर्दैन।” तर अरूले भने, “पापी मानिसले कसरी यस्ता आश्चर्यमय चिन्हहरू गर्न सक्छ र?” यसरी तिनीहरूमा फाटो भयो।
[17] अन्त्यमा तिनीहरूले फेरि त्यस दृष्टिविहीनलाई सोधे, “उसको विषयमा तँ के भन्छस्? उसले खोलिदिएको आँखा त तेरो हो।” त्यस मानिसले जवाफ दियो, “उहाँ एक अगमवक्ता हुनुहुन्छ।”
[18] त्यसका आमाबुबालाई बोलाएर नसोधेसम्म त्यो मानिस दृष्टिविहीन थियो, र त्यसले दृष्टि पाएको हो भनी यहूदी अगुवाहरूले अझै पनि विश्वास गरेनन्।
[19] तिनीहरूले त्यसका आमाबुबालाई सोधे, “के यो तिमीहरूको छोरो हो? तिमीहरूले दृष्टिविहीन जन्मेको भनेको यसैलाई हो? यो अहिले कसरी देख्नसक्ने भयो त?”
[20] त्यसका आमाबुबाले जवाफ दिए, “यो हाम्रै छोरो हो, र यो दृष्टिविहीन नै जन्मेको थियो भनेर हामी जान्दछौं।
[21] तर अहिले यसले कसरी देख्नसक्छ, अथवा कसले यसका आँखा खोलिदियो, सो हामी जान्दैनौं। यसैलाई सोध्नुहोस्। यसको उमेर पुगेको छ, आफ्नो विषयमा यो आफै बोल्न सक्छ।”
[22] यहूदी अगुवाहरूसँग डराएका हुनाले त्यसका आमाबुबाले यसो भनेका थिए, किनकि यहूदी अगुवाहरूले यदि कसैले येशूलाई उहाँ ख्रीष्ट हुनुहुन्छ भनी स्वीकार गर्यो भने त्यसलाई सभाघरबाट निकालिनेछ भनी अघिबाटै निर्णय गरिसकेका थिए।
[23] त्यसैले त्यसका आमाबुबाले भने, “यसको उमेर पुगेको छ, यसैलाई सोध्नुहोस्।”
[24] तिनीहरूले पहिले दृष्टिविहीन भएको त्यस मानिसलाई फेरि दोस्रोपल्ट बोलाएर भने, “परमेश्वरलाई महिमा दे, हामी जान्दछौं, यो मानिस पापी हो।”
[25] त्यसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ वा हुनुहुन्न, त्यो म जान्दिनँ। तर एउटा कुरा म जान्दछु। म दृष्टिविहीन थिएँ, तर अब देख्नसक्ने भएको छु!”
[26] तब तिनीहरूले त्यसलाई सोधे, “उसले तँलाई के गर्यो? उसले कसरी तेरा आँखा खोलिदियो?”
[27] उसले भन्यो, “मैले तपाईंहरूलाई अघि नै भनिसकें, तर तपाईंहरूले सुन्नुभएन। अब फेरि किन सुन्न चाहनुहुन्छ? के तपाईंहरू पनि उहाँका चेला बन्न चाहनुहुन्छ?”
[28] तब तिनीहरूले त्यसलाई निन्दा गर्दै भने, “तँ पो उसको चेलो होस्! हामी ता मोशाका चेला हौं!
[29] परमेश्वर मोशासँग बोल्नुभएको कुरा हामीलाई थाहा छ, तर यस मानिसको विषयमा ता यो कहाँबाट आएको हो भन्ने कुरासमेत हामी जान्दैनौं।”
[30] त्यस मानिसले भन्यो, “कस्तो अचम्मको कुरो! तपाईंहरूले उहाँ कहाँबाट आउनुभएको हो भनेर पनि जान्नुहुन्न, तापनि उहाँले मेरा आँखा खोलिदिनुभयो।
[31] हामी जान्दछौं, परमेश्वरले पापीहरूका कुरा सुन्नुहुन्न, तर उहाँले परमेश्वरका भक्त र उहाँको इच्छा पालन गर्ने मानिसका कुरा सुन्नुहुन्छ।
[32] आजसम्म कसैले जन्मैको दृष्टिविहीनको आँखा खोलिदिएको कुरा कहिल्यै सुनिएको छैन।
[33] यदि उहाँ परमेश्वरबाट नआउनुभएको भए उहाँले केही गर्न सक्नुहुने थिएन।”
[34] यस कुरामा तिनीहरूले त्यसलाई यसरी जवाफ दिए, “तँ ता बिलकुलै पापमा जन्मिएको होस्, र पनि अब के हामीलाई सिकाउन खोज्छस्?” त्यसपछि तिनीहरूले त्यसलाई बाहिर निकालिदिए।
[35] तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भनी येशूले सुन्नुभयो; र त्यसलाई भेट्टाएपछि भन्नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्वास गर्छौ?”
[36] त्यस मानिसले सोध्यो, “हजुर, उहाँ को हुनुहुन्छ? मलाई भनिदिनुहोस् र म उहाँमाथि विश्वास गर्नेछु।”
[37] येशूले भन्नुभयो, “तिमीले अब उसलाई देखेका छौ, वास्तवमा तिमीसँग बोलिरहेको म उही नै हुँ।”
[38] तब त्यस मानिसले भन्यो, “प्रभु, म विश्वास गर्दछु,” अनि त्यसले उहाँलाई दण्डवत् गर्यो।
[39] येशूले भन्नुभयो, “म न्यायको लागि यस संसारमा आएँ, ताकि दृष्टिविहीनहरूले देखून् र जसले देख्छन्, तिनीहरू दृष्टिविहीन होऊन्।”
[40] उहाँसँगै हुने कोही-कोही फरिसीहरूले उहाँले यसो भन्नुभएको सुनेर सोधे, “के भन्यौ? के हामी पनि दृष्टिविहीन हौं?”
[41] येशूले भन्नुभयो, “यदि तिमीहरू दृष्टिविहीन भएका भएता तिमीहरू पापको दोषी हुने थिएनौ, तर तिमीहरूले हामी देख्छौं भनी दाबी गरेका कारण तिमीहरूको दोष रहिरहन्छ।