[1] यसको केही समयपछि येशू गालील, अर्थात् तिबेरियास तालको पारिपट्टि जानुभयो।
[2] अनि मानिसहरूको एउटा ठूलो भीडले उहाँलाई पछ्यायो; किनकि उहाँले रोगीहरूमाथि गर्नुभएका अलौकिक चिन्हहरू तिनीहरूले देखेका थिए।
[3] त्यसपछि येशू एउटा डाँडामा जानुभयो, र चेलाहरूसँग त्यहाँ बस्नुभयो।
[4] यहूदीहरूको निस्तार चाड नजिकै थियो।
[5] येशूले आँखा उठाएर हेर्नुभयो र एउटा ठूलो भीड आफूतिर आउँदै गरेको देखेर उहाँले फिलिपलाई भन्नुभयो, “यी मानिसहरूले खानका निम्ति हामीले रोटी कहाँबाट किनौं?”
[6] उहाँले तिनलाई जाँच्नका लागि मात्र यो कुरा सोध्नुभएको थियो, किनकि उहाँले जे गर्न लाग्नुभएको थियो, त्यो उहाँलाई थाहा थियो।
[7] फिलिपले उहाँलाई भने, “दुई सय दिनारले प्रत्येकलाई एक-एक गाँस पुग्नेजति रोटी किन्न पनि पर्याप्त हुँदैन!”
[8] उहाँका चेलाहरूमध्येका अर्का एकजना, सिमोन पत्रुसका भाइ, अन्द्रियासले भने,
[9] “यहाँ एउटा ठिटोसँग जौका पाँचओटा रोटी र दुईओटा ससाना माछा छन्, तर यति धेरैका निम्ति ती कति पो पुग्ला र?”
[10] येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लगाओ।” त्यस ठाउँमा प्रशस्त घाँसको चउर थियो र मानिसहरू त्यहीं बसे। त्यहाँ लगभग पाँच हजार पुरुषहरू थिए।
[11] त्यसपछि येशूले रोटी लिएर धन्यवाद दिनुभयो, र त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहेजति बाँडिदिनुभयो। उहाँले माछा पनि त्यसै गरी बाँडिदिनुभयो।
[12] तिनीहरू सबैले प्रशस्त खाएर अघाएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “उब्रेका टुक्राहरू बटुल, र केही पनि खेर नजाओस्।”
[13] तिनीहरूले त्यो बटुले, र पाँचओटा जौका रोटीबाट मानिसहरूले खाएर उबारेका टुक्राहरूले बाह्र डालाहरू भरे।
[14] येशूले गर्नुभएको अलौकिक चिन्ह देखेपछि मानिसहरूले यसो भन्न लागे, “निश्चय नै संसारमा आउनुहुने अगमवक्ता उहाँ नै हुनुहुन्छ।”
[15] तिनीहरू आएर उहाँलाई जबरजस्ती राजा बनाउन लैजान खोज्दैछन् भन्ने थाहा पाएर येशू फेरि तिनीहरूबाट अलग हुनुभएर एकलै डाँडातिर जानुभयो।
[16] साँझ परेपछि उहाँका चेलाहरू तालतिर झरे,
[17] र त्यहाँबाट डुङ्गामा चढेर तिनीहरू तालपारि कफर्नहुमतिर लागे। त्यस बेलासम्म अँध्यारो भइसकेको थियो, अनि येशू अझैसम्म पनि तिनीहरूकहाँ आउनुभएको थिएन।
[18] एउटा ठूलो बतास चलिरहेको थियो, र तालमा छाल उर्लिन थाल्यो।
[19] तिनीहरू डुङ्गा खियाउँदै लगभग पाँच किलोमिटरजति गएका थिए, तब तिनीहरूले येशूलाई पानीमाथि हिँडेर डुङ्गातिर आउँदै गर्नुभएको देखे, र तिनीहरू डराए।
[20] तर उहाँले तिनीहरूलाई भन्नुभयो, “म नै हुँ, नडराओ!”
[21] तब तिनीहरूले उहाँलाई खुशीसाथ डुङ्गामा चढाए, अनि तुरुन्तै डुङ्गा उहाँहरू जान चाहेको किनारमा पुग्यो।
[22] भोलिपल्ट तालको अर्को किनारमा रहेका भीडले त्यहाँ एउटा मात्र डुङ्गा रहेको र येशू चेलाहरूसँग त्यो डुङ्गामा नचढ्नुभएको, तर चेलाहरूमात्रै त्यहाँबाट गएका थिए भनी थाहा गरे।
[23] त्यसपछि तिबेरियास शहरबाट केही डुङ्गाहरू आए, जहाँ अघिल्लो दिन प्रभुले धन्यवाद दिनुभएपछि मानिसहरूले रोटी खाएका ठाउँ नजिकै आइपुगे।
[24] त्यहाँ न येशू हुनुहुन्छ, न ता उहाँका चेलाहरू नै छन् भन्ने थाहा पाएपछि तिनीहरू डुङ्गामा चढे, र येशूको खोजी गर्दै कफर्नहुममा गए।
[25] तिनीहरूले उहाँलाई तालको पारिपट्टि भेट्टाएर सोधे, “गुरुज्यू, तपाईं यहाँ कहिले आउनुभयो?”
[26] येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले अलौकिक चिन्हहरू देखेर होइन, तर तिमीहरूले अघाउन्जेल रोटी खाएका हुनाले मलाई खोजिरहेका छौ।
[27] नष्ट हुने भोजनका निम्ति परिश्रम नगर, तर अनन्त जीवनसम्म रहिरहने भोजनका निम्ति परिश्रम गर, जुन भोजन तिमीहरूलाई मानिसको पुत्रले दिनेछन्। परमेश्वर पिताले उनैमाथि आफ्नो स्वीकृतिको छाप लगाउनुभएको छ।”
[28] तब तिनीहरूले उहाँलाई प्रश्न गरे, “परमेश्वरले चाहनुहुने काम गर्नका लागि हामीले के गर्नुपर्छ?”
[29] येशूले जवाफ दिनुभयो, “परमेश्वरले चाहनुहुने काम यही हो: उहाँले पठाउनुभएको जनलाई विश्वास गर।”
[30] यसकारण तिनीहरूले उहाँलाई सोधे, “तपाईंले के अलौकिक चिन्ह दिनुहुन्छ, ताकि हामीले त्यो देखेर तपाईंमाथि विश्वास गरौं? तपाईं के काम गर्नुहुन्छ?
[31] हाम्रा पुर्खाहरूले उजाडस्थानमा मन्ना खाए, धर्मशास्त्रमा लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानका लागि स्वर्गबाट रोटी दिनुभयो।’ ”
[32] येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिनुभयो, त्यो मोशा होइनन्, तर तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ।
[33] किनकि परमेश्वरको रोटी त्यही हो, जो स्वर्गबाट तल ओर्लिआउँछन् र संसारलाई जीवन दिन्छन्।”
[34] तिनीहरूले भने, “हजुर, अबदेखि हामीलाई यही रोटी दिनुहोस्।”
[35] तब येशूले घोषणा गर्नुभयो, “जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, त्यो कहिल्यै भोकाउनेछैन; र जसले ममाथि विश्वास गर्छ, त्यो कहिल्यै तिर्खाउनेछैन।
[36] तर मैले तिमीहरूलाई अघि भनेझैं, तिमीहरूले मलाई देखेका छौ, तर पनि मलाई विश्वास गर्दैनौ।
[37] पिताले मलाई दिनुहुनेहरू सबै मकहाँ आउनेछन्; र मकहाँ आउने कसैलाई पनि म कहिल्यै त्याग्नेछैनँ।
[38] किनकि मेरो इच्छा पूरा गर्नलाई म स्वर्गबाट ओर्लिआएको होइन, तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नलाई आएको हुँ।
[39] अनि मलाई पठाउनुहुनेको इच्छा यही हो, कि उहाँले मलाई दिनुभएका कसैलाई पनि मैले नगुमाऊँ, तर तिनीहरूलाई अन्त्यको दिनमा फेरि जीवित पारेर उठाऊँ।
[40] किनकि मेरा पिताको इच्छा यही छ कि, प्रत्येक जसले पुत्रलाई हेर्छ र उसमाथि विश्वास गर्छ, त्यसले अनन्त जीवन प्राप्त गरोस्; र म त्यसलाई अन्त्यको दिनमा फेरि जीवित पार्नेछु।”
[41] यस कुरामा यहूदीहरू उहाँको विरुद्धमा गनगन गरे, किनकि उहाँले भन्नुभयो, “स्वर्गबाट ओर्लिआएको रोटी म नै हुँ।”
[42] अनि तिनीहरूले भने, “के यो योसेफको छोरो येशू होइन र, जसका बुबा र आमालाई हामी चिन्दछौं? अहिले यसले कसरी ‘म स्वर्गबाट ओर्लिआएको हुँ’ भनी भन्न सक्छ?”
[43] येशूले जवाफ दिनुभयो, “आपसमा गनगन गर्न बन्द गर।
[44] मलाई पठाउनुहुने पिताले त्यसलाई नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन; अनि म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु।
[45] अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ: ‘तिनीहरू सबै परमेश्वरद्वारा सिकाइनेछन्।’ हरेक व्यक्ति, जसले पिताबाट सुन्छ र सिक्छ, त्यो मकहाँ आउँछ।
[46] परमेश्वरबाट आएको जनले बाहेक अरू कसैले पितालाई देखेको छैन, केवल उसैले मात्र पितालाई देखेको छ।
[47] म तिमीहरूलाई साँच्चै भन्दछु, जसले विश्वास गर्दछ, त्यससित अनन्त जीवन छ।
[48] जीवनको रोटी म नै हुँ।
[49] तिमीहरूका पुर्खाहरूले उजाडस्थानमा मन्ना खाए, तापनि तिनीहरू मरे।
[50] तर स्वर्गबाट तल ओर्लिआएको रोटी यहाँ छ, जसलाई मानिसले खाओस् र नमरोस्।
[51] जीवित रोटी म नै हुँ, जो स्वर्गबाट ओर्लेर आयो। यदि कसैले यो रोटी खायो भने, त्यो सधैंभरि जिउनेछ। यो रोटी मेरो मासु हो, जो मैले संसारको जीवनका निम्ति दिनेछु।”
[52] त्यसपछि यहूदीहरू आपसमा चर्को बहस गर्न थाले, “यस मानिसले कसरी हामीलाई आफ्नो मासु खान दिन सक्छ र?”
[53] येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, जबसम्म तिमीहरूले मानिसको पुत्रको मासु खाँदैनौ र उसको रगत पिउँदैनौ, तबसम्म तिमीहरूमा जीवन हुँदैन।
[54] जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, ऊसँग अनन्त जीवन छ; र अन्त्यको दिनमा म उसलाई जीवित पार्नेछु।
[55] किनकि मेरो मासु साँच्चै खानेकुरा र मेरो रगत साँच्चै पिउने कुरा हो।
[56] जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, त्यो ममा रहन्छ र म उसमा रहन्छु।
[57] जसरी जीवित पिताले मलाई पठाउनुभएको छ, र म पिताको कारणले जिउँछु, त्यसै गरी जसले मलाई खान्छ, त्यो मेरो कारणले जिउनेछ।
[58] स्वर्गबाट ओर्लिआएको रोटी यही नै हो। तिमीहरूका पुर्खाहरूले मन्न खाए अनि मरे, तर जसले यो रोटी खान्छ, त्यो सधैंभरि जिउनेछ।”
[59] उहाँले यी कुराहरू कफर्नहुममा सभाघरमा शिक्षा दिनुहुँदा भन्नुभएको हो।
[60] यो सुनेपछि उहाँका चेलाहरूमध्ये धेरैले भने, “यो ता कठोर शिक्षा हो। कसले यो ग्रहण गर्न सक्छ र?”
[61] यस विषयमा आफ्ना चेलाहरू गनगन गर्दैछन् भन्ने येशू आफूले थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “के यस कुराले तिमीहरूलाई ठेस पुर्यायो?
[62] यदि तिमीहरूले मानिसको पुत्रलाई उनी पहिले जहाँ थिए, त्यहीं उक्लँदै गइरहेका देख्यौ भने के होला!
[63] आत्माले जीवन दिनुहुन्छ, शरीरले केही फाइदा दिँदैन। मैले तिमीहरूसँग बोलेका वचन आत्मा र जीवन हुन्।
[64] तर अझै पनि तिमीहरूमध्ये कतिजना छौ, जसले विश्वास गर्दैनौ।” किनकि तिनीहरूमध्ये कसले विश्वास गर्दैनन् र कसले उहाँलाई धोका दिनेछ भनी येशूले सुरुदेखि नै जान्नुभएको थियो।
[65] उहाँले फेरि भन्नुभयो, “यसैकारण ‘पिताले आउन नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन’ भनी मैले तिमीहरूलाई भनेको हुँ।”
[66] त्यस समयदेखि उहाँका चेलाहरूमध्ये धेरैजना पछि हटे, र त्यसपछि उहाँलाई पछ्याएनन्।
[67] तब येशूले बाह्र जनालाई सोध्नुभयो, “के तिमीहरू पनि छोडेर जान चाहन्छौ?”
[68] सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवनका वचनहरू ता तपाईंसँग छन्।
[69] हामी विश्वास गर्दछौं र जान्दछौं कि, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।”
[70] तब येशूले भन्नुभयो, “के मैले तिमीहरू बाह्रै जनालाई चुनेको होइन र? तर पनि तिमीहरूमध्ये एकजना शैतान हो!”
[71] (यो उहाँले सिमोन इस्करियोतको छोरो यहूदाको विषयमा भन्नुभएको थियो, जो बाह्रमध्ये एक हुँदाहुँदै पनि पछि उहाँलाई धोका दियो।)