Skip to content
Opens in a new window
Listen to this chapter • 6:17

[1] “म तिमीहरूलाई साँच्‍चै भन्दछु, जुन मानिस ढोकाबाट भेडागोठभित्र पस्दैन, तर कुनै अर्कै ठाउँबाट चढेर पस्छ, त्यो चोर र डाँकू हो।

[2] तर ढोकाबाट भित्र पस्‍ने मानिसचाहिँ आफ्नो भेडाको गोठालो हो।

[3] पहरेदारले उसको निम्ति ढोका खोलिदिन्छ, अनि भेडाहरूले उसको स्वर सुन्छन्। उसले आफ्ना भेडाहरूलाई नाउँ काढेर बोलाउँछ र तिनीहरूलाई बाहिर लैजान्छ।

[4] उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालिसकेपछि ऊ तिनीहरूका अघि-अघि जान्छ, अनि उसका भेडाहरूले उसलाई पछ्याउँछन्; किनकि तिनीहरूले उसको स्वर चिन्छन्।

[5] तर तिनीहरूले नचिनेको व्यक्‍तिलाई कहिल्यै पछ्याउँदैनन्, बरु त्यसदेखि त तिनीहरू भाग्छन्, किनकि तिनीहरूले नचिनेको व्यक्‍तिको स्वर चिन्दैनन्।”

[6] येशूले यो दृष्‍टान्तको प्रयोग गर्नुभयो, तर उहाँले तिनीहरूलाई के भन्दैहुनुहुन्छ भनी तिनीहरूले बुझेनन्।

[7] त्यसकारण येशूले फेरि भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, भेडाहरूका ढोका म नै हुँ।

[8] मभन्दा अघि आउनेहरू सबै चोर र डाँकूहरू थिए, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन्।

[9] ढोका म नै हुँ, जो मद्वारा भित्र पस्छ, ऊ बचाइनेछ; ऊ भित्र र बाहिर आउने जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ।

[10] चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ, म ता तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भनेर आएँ।

[11] “म असल गोठालो हुँ। असल गोठालाले भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्दछ।

[12] भाडाको मालिक भेडाहरूको आफ्नै होइनन्, त्यसकारण जब त्यसले ब्वाँसो आउँदै गरेको देख्छ, तब त्यसले भेडाहरूलाई छोड्छ र भाग्छ; त्यसपछि ब्वाँसोले बगाललाई आक्रमण गर्छ र तितरबितर पारिदिन्छ।

[13] त्यो मानिसचाहिँ भाग्छ, किनकि त्यो ता भाडाको मानिस हो, र भेडाहरूका लागि त्यसले केही वास्ता गर्दैन।

[14] “असल गोठालो म नै हुँ; म आफ्ना भेडाहरूलाई चिन्छु र मेरा भेडाहरूले मलाई चिन्छन्।

[15] जसरी पिताले मलाई चिन्‍नुहुन्छ, र म पितालाई चिन्छु, अनि म मेरो प्राण आफ्ना भेडाहरूका लागि अर्पण गर्छु।

[16] मेरा अरू पनि भेडाहरू छन्, जो यस गोठका होइनन्। मैले तिनीहरूलाई पनि ल्याउनैपर्छ। तिनीहरूले पनि मेरो स्वर सुन्‍नेछन्; र त्यहाँ एउटै बगाल र एउटै गोठालो हुनेछ।

[17] मेरा पिताले मलाई प्रेम गर्नुहुने कारण यही हो कि, म आफ्नो प्राण अर्पण गर्दछु, तर त्यो फेरि फिर्ता लिनका लागि।

[18] मेरो प्राण मबाट कसैले लिन सक्दैन, तर म स्वेच्छाले यो अर्पण गर्दछु। मसँग यो अर्पण गर्ने अधिकार पनि छ र त्यो फेरि लिने अधिकार पनि छ; किनकि यो आज्ञा मैले मेरा पिताबाट प्राप्‍त गरेको हुँ।”

[19] यी वचनहरूका कारण यहूदी समूहहरूको बीचमा फेरि फाटो आयो।

[20] तिनीहरूमध्ये धेरैले यसो भने, “यसलाई भूत लागेको छ, र यो बहुलाएको छ; यसका कुरा किन सुन्छौ?”

[21] तर अरूहरूले भने, “यी वचनहरू भूत लागेको मानिसका होइनन्। के कुनै भूतले दृष्‍टिविहीनका आँखा खोलिदिन सक्छ र?”

[22] यरूशलेममा मन्दिर समर्पणको चाड आयो। यो हिउँदको समय थियो।

[23] अनि येशू मन्दिरको क्षेत्रभित्र हुनुहुन्थ्यो, र सोलोमनको दलानमा हिँड्दैहुनुहुन्थ्यो।

[24] केही यहूदीहरू उहाँका वरिपरि भेला भए, र सोधे, “हामीलाई तपाईंले कहिलेसम्म दोधारमा राख्नुहुन्छ? यदि तपाईं नै ख्रीष्‍ट हुनुहुन्छ भने, हामीलाई स्पष्‍ट भनिदिनुहोस्।”

[25] येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिसकेको छु, तर तिमीहरू विश्‍वास गर्दैनौ। मैले मेरा पिताको नाउँमा गरेका आश्‍चर्य कर्महरूले मेरो विषयमा नै गवाही दिन्छन्,

[26] तर तिमीहरूले विश्‍वास गर्दैनौ, किनकि तिमीहरू मेरा बगालका भेडाहरू होइनौ।

[27] मेरा भेडाहरूले मेरो स्वर सुन्छन्, म तिनीहरूलाई चिन्छु, र तिनीहरूले मलाई पछ्याउँछन्।

[28] म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै पनि नाश हुनेछैनन्।

[29] मेरा पिता जसले ती सबै मलाई दिनुभयो; जो सबैभन्दा महान् हुनुहुन्छ, तिनीहरूलाई कसैले पनि मेरा पिताको हातबाट खोसेर लैजान सक्दैन।

[30] म र पिता एक हौं।”

[31] यहूदीहरूले फेरि उहाँलाई हान्‍नलाई भनी ढुङ्गाहरू टिपे।

[32] तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूलाई मेरा पिताबाट धेरै ठूला आश्‍चर्य कर्महरू देखाएँ। तीमध्ये कुन कामको कारण मलाई ढुङ्गाले हान्छौ?”

[33] ती यहूदीहरूले जवाफ दिए, “यीमध्ये कुनै पनि कामका कारण हामी तिमीलाई ढुङ्गाले हान्दैनौं, तर परमेश्‍वरको निन्दा गरेको कारण, किनकि तिमी केवल मानिस भएर पनि परमेश्‍वर भएको दाबी गर्छौ।”

[34] येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के तिमीहरूका व्यवस्थामा ‘तिमीहरू देवहरू हौ भनी मैले भनेको छु’ भनी लेखिएको छैन?

[35] त्यसकारण यदि जसकहाँ परमेश्‍वरको वचन आयो, तिनीहरूलाई त ‘देवहरू’ भनिन्छ, अनि धर्मशास्त्र भङ्ग हुन सक्दैन भने,

[36] पिताले उहाँको आफ्नैलाई झैं पवित्र र अलग गरी संसारमा पठाउनुभएको व्यक्‍तिका विषयमा चाहिँ के भन्‍ने त? त्यसो हो भने मैले ‘म परमेश्‍वरको पुत्र हुँ’ भनेकोमा मलाई किन ईश्‍वरनिन्दाको दोष दिन्छौ?

[37] मेरा पिताले जे गर्नहुन्छ, मैले पनि त्यही नगरेसम्म ममाथि विश्‍वास नगर।

[38] यदि मैले ती कामहरू गर्दछु भने, तिमीहरूले ममाथि विश्‍वास नगरे तापनि ती आश्‍चर्य कर्मलाई विश्‍वास गर; र तिमीहरूले यो जान्‍न र बुझ्न सक्नेछौ कि, पिता ममा हुनुहुन्छ र म पितामा छु।”

[39] फेरि तिनीहरूले उहाँलाई पक्रन खोजे, तर उहाँ तिनीहरूका हातबाट उम्कनुभयो।

[40] त्यसपछि येशू फर्केर यर्दन नदीपारि यूहन्‍नाले पहिले बप्‍तिस्मा दिने गरेका ठाउँमा जानुभयो। उहाँ त्यहाँ बस्‍नुभयो,

[41] र धेरै मानिसहरू उहाँकहाँ आए। तिनीहरूले भने, “यूहन्‍नाले कहिल्यै कुनै अलौकिक चिन्ह गरेनन्, तापनि यूहन्‍नाले यी मानिसका विषयमा बताएका सबै कुरा सत्य रहेछ।”

[42] अनि त्यस ठाउँमा धेरैले येशूमाथि विश्‍वास गरे।

यूहन्‍ना — Chapters