[1] प्रार्थना गरिसक्नुभएपछि येशू आफ्ना चेलाहरूसँग किद्रोन खोल्सापारि जानुभयो। पारिपट्टि एउटा जैतुनको बगैँचा थियो, अनि उहाँ आफ्ना चेलाहरूसँग त्यहाँ जानुभयो।
[2] उहाँलाई धोका दिने यहूदालाई यो ठाउँ थाहा थियो, किनकि येशू प्रायजसो त्यहाँ आफ्ना चेलाहरूसँग भेटघाट गर्नुहुन्थ्यो।
[3] अनि यहूदाले मुख्य पूजाहारीहरू र फरिसीहरूको दलबाट केही रोमी सिपाहीहरू र केही हाकिमहरू लिएर त्यहाँ आयो। तिनीहरूले आफूसँग राँको, लालटिन र हातहतियार ल्याएका थिए।
[4] तब आफूमाथि आइपर्न लागेका सबै घटनाहरू थाहा पाएर येशू बाहिर जानुभयो र सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?”
[5] “नासरतका येशूलाई,” तिनीहरूले उत्तर दिए। “म उही नै हुँ,” येशूले जवाफ दिनुभयो। (उहाँलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो।)
[6] उहाँले “म उही नै हुँ,” भन्नसाथ ती सबै पछि हटे, र भुइँमा लोटे।
[7] फेरि एकपल्ट उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?” “नासरतका येशूलाई” तिनीहरूले फेरि उत्तर दिए।
[8] येशूले भन्नुभयो, “मैले भनिहालें, म उही नै हुँ, अनि मलाई नै खोजेका हौ भने, यिनीहरूलाई जान देओ।”
[9] उहाँले भन्नुभएको यो वचन पूरा होस् भनेर यी कुराहरू भए: “तपाईंले मलाई दिनुभएको एउटैलाई पनि मैले गुमाएको छैनँ।”
[10] तब सिमोन पत्रुसले तरवार थुतेर प्रधान पूजाहारीको सेवकलाई प्रहार गर्यो र उसको दाहिने कान च्वाट्टै काटिदियो। (त्यस सेवकको नाम माल्खस थियो।)
[11] येशूले पत्रुसलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा हाल! के पिताले दिनुभएको कचौराबाट मैले नपिउनूँ?”
[12] त्यसपछि सिपाहीहरू, अफिसरहरू र यहूदी हाकिमहरूले येशूलाई पक्रेर पाता कसे।
[13] पहिले तिनीहरूले उहाँलाई त्यस वर्षको प्रधान पूजाहारी, कैयाफाका ससुरा, हन्नासकहाँ लगे।
[14] सबैको निम्ति एकजना मर्नु नै असल हुन्छ भनी अरू यहूदीहरूलाई सल्लाह दिने व्यक्ति कैयाफा नै थिए।
[15] सिमोन पत्रुस र अर्को चेलाले येशूलाई पछ्याउँदै थिए। प्रधान पूजाहारीसँग परिचय भएको हुनाले यी अर्का चेला येशूसँगै पूजाहारीको आँगनभित्रै पसे।
[16] तर पत्रुस बाहिर ढोकामा बस्नुपर्यो। प्रधान पूजाहारीलाई चिन्ने ती अर्का चेला फर्केर आई ढोकामा पाले बस्ने केटीलाई भनसुन गरेर पत्रुसलाई भित्र ल्याए।
[17] ढोकामा बस्ने त्यस केटीले पत्रुसलाई सोधी, “तिमी पनि येशूका चेलाहरूमध्ये एक होइनौ र?” “अहँ, म होइनँ।” तिनले भने।
[18] जाडोले गर्दा ती घरका सेवकहरू र हाकिमहरू न्यानो पार्न आफूले बालेका आगो वरिपरि बसिरहेका थिए। पत्रुस पनि तिनीहरूसँग मिसिएर आगो ताप्न लागे।
[19] यसै बीचमा प्रधान पूजाहारीले येशूलाई उहाँका चेलाहरू र उहाँले दिनुभएको शिक्षाको विषयमा सोध्न थाले।
[20] येशूले जवाफ दिनुभयो, “संसारसँग म खुल्लमखुल्ला बोलेको छु। मैले सधैं सभाघरहरू र मन्दिरमा शिक्षा दिन्थें, जहाँ सबै यहूदीहरू भेला हुन्थे। मैले गोप्यमा केही भनेको छैनँ।
[21] तपाईंहरू मलाई यो प्रश्न किन सोध्नुहुन्छ? जसले मेरा शिक्षा सुनेका छन् तिनीहरूलाई सोध्नुहोस्। निश्चय मैले भनेका कुरा तिनीहरूलाई थाहा छ।”
[22] येशूको कुरा सुनेर त्यहाँ उभिरहेको एकजना हाकिमले उहाँलाई मुक्का लगायो। “प्रधान पूजाहारीलाई उत्तर दिने तरिका यही हो?” भनेर त्यसले सोध्यो।
[23] “मैले गलत बोलेको भए त्यसको प्रमाण देऊ,” येशूले जवाफ दिँदै भन्नुभयो, “मैले सत्य बोल्छु भने, किन तिमी मलाई हिर्काउँछौ?”
[24] यति भएपछि हन्नासले येशूलाई बाँधिएकै अवस्थामा प्रधान पूजाहारी कैयाफाकहाँ पठाइदिए।
[25] सिमोन पत्रुस आगो ताप्दै उभिरहेका बेला तिनलाई कसैले फेरि सोध्यो, “तिमी उसैको चेलाहरूमध्येका एक होइनौ र?” तिनले इन्कार गर्दै भने, “म ता होइनँ।”
[26] प्रधान पूजाहारीका सेवकहरूमध्ये एक जनाले अर्थात् जसको कान पत्रुसले काटिदिएका थिए, त्यसैको आफन्तले सोध्यो, “के तिमीलाई मैले येशूसँग जैतुनको बगैँचामा देखेको होइन र?”
[27] पत्रुसले फेरि पनि अस्वीकार गरे, अनि यसै बेला भाले बास्यो।
[28] यसबेला बिहान भइसकेको थियो। यहूदीहरूले येशूलाई कैयाफाकहाँबाट रोमी राज्यपालको महलमा लगे। तिनीहरू निस्तार चाडको भोज खान चाहन्थे, तर यहूदीहरू आफ्नो संस्कारअनुसार अशुद्ध नहोऔं भनी महलभित्र पसेनन्।
[29] यसो हुँदा राज्यपाल पिलातस तिनीहरूकहाँ बाहिर आएर सोधे, “यस मान्छेको विरुद्धमा तिमीहरूले के आरोप लगाएका छौ?”
[30] “यो मानिस अपराधी नभएको भए, हामी यसलाई पक्रेर तपाईंकहाँ ल्याउने नै थिएनौं,” तिनीहरूले जवाफ दिए।
[31] पिलातसले तिनीहरूलाई भने, “तब तिमीहरूले यिनलाई लगेर तिमीहरूको व्यवस्थाअनुसार यिनको न्याय गर।” यहूदीहरूले भने, “तर कसैलाई मृत्युदण्ड दिने अधिकार हामीसँग छैन।”
[32] उहाँको मृत्यु कुन प्रकारको हुनेछ भन्ने बारेमा येशू आफूले भन्नुभएको वचन पूरा हुन यी सबै कुरा भइरहेका थिए।
[33] पिलातस दरबारभित्र पसे, र येशूलाई आफूकहाँ हाजिर गराउने आज्ञा दिए र उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?”
[34] येशूले सोध्नुभयो, “मेरो बारेमा यो तपाईंको आफ्नै भनाइ हो कि अरू कसैले मेरो बारेमा यो तपाईंलाई भनेको हो?”
[35] पिलातसले जवाफ दिए, “म यहूदी हुँ र? तिम्रा आफ्नै जातिहरू र मुख्य पूजाहारीहरूले तिमीलाई मकहाँ सुम्पेका हुन्। तिमीले के गर्यौ?”
[36] येशूले जवाफ दिनुभयो, “मेरो राज्य संसारको होइन। नत्र भने यहूदीहरूले मलाई पक्रँदा त्यो रोक्न मेरा सेवकहरूले युद्ध गर्नेथिए; तर मेरो राज्य यो संसारको हुँदै होइन।”
[37] पिलातसले भने, “त्यसो भए तिमी राजा नै हौ?” येशूले भन्नुभयो, “म राजा हुँ भनी तपाईंले ठीकै भन्नुभयो। वास्तवमा म जन्मिएँ, र संसारमा सत्यको साक्षी दिनको लागि आएको हुँ। सत्यताको पक्षमा रहने सबैले मेरा वचन सुन्छन्।”
[38] पिलातसले सोधे, “सत्यता के हो त?” त्यसपछि तिनी फेरि मानिसहरूका अघि गए, र भने, “उनको विरुद्धमा मैले केही दोष पाउँदिनँ।
[39] तर हरेक वर्ष निस्तार चाडको समय मैले तिमीहरूका निम्ति एकजना कैदीलाई छोडिदिने तिमीहरूको चलन छ। यसकारण तिमीहरू चाहन्छौ भने ‘के म यहूदीहरूको राजालाई’ छोडिदिऊँ?”
[40] तर तिनीहरूले चिच्याएर भने, “यस मान्छेलाई होइन! तर बारब्बालाई छोडिदिनुहोस्!” बारब्बाचाहिँ एक विद्रोही थियो।