Skip to content
Opens in a new window
Listen to this chapter • 5:57

[1] फरिसी दलका निकोदेमस नाउँ भएका एकजना मानिस थिए, जो यहूदीहरूका सभाका एक सदस्य पनि थिए।

[2] तिनी एक राती येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, तपाईं परमेश्‍वरबाट आउनुभएको एक शिक्षक हुनुहुन्छ भनी हामी जान्दछौं; किनकि परमेश्‍वर साथमा नभईकन तपाईंले गरिरहनुभएका यी अलौकिक चिन्हहरू कसैले पनि गर्न सक्दैन।”

[3] येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, कोही नयाँ गरी जन्मेन भने त्यसले परमेश्‍वरको राज्य देख्न सक्दैन।”

[4] निकोदेमसले सोधे, “मानिस बूढो भएपछि फेरि कसरी जन्मन सक्छ? निश्‍चय नै फेरि जन्मनलाई ऊ आफ्नी आमाको गर्भमा दोस्रोचोटि पस्‍न त सक्दैन!”

[5] येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, पानी र आत्माद्वारा नजन्मेसम्म कोही पनि परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्नेछैन।

[6] शरीरले शरीर जन्माउँछ, तर आत्माले आत्मा जन्माउँछ।

[7] ‘तिमीहरू नयाँ गरी जन्मनुपर्छ’ भन्‍ने मेरो भनाइमा अचम्म नमान।

[8] बतास जता मन लाग्यो त्यतै बहन्छ, तिमीले त्यसको आवाज त सुन्छौ, तर त्यो कहाँबाट आउँछ वा कहाँ जाँदैछ, त्यो भन्‍न सक्दैनौ। आत्माद्वारा जन्मेको हरेक व्यक्‍ति पनि त्यस्तै हुन्छ।”

[9] निकोदेमसले सोधे, “यो कसरी हुन सक्छ?”

[10] येशूले भन्‍नुभयो, “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुराहरू तिमी बुझ्दैनौ?

[11] म तिमीलाई साँच्‍चै भन्दछु, हामी जे जान्दछौं, त्यो भन्दछौं, र हामीले जे देखेका छौं, त्यसको गवाही दिन्छौं, तर पनि तिमीहरूले हाम्रा गवाही ग्रहण गर्दैनौ।

[12] मैले तिमीहरूलाई पृथ्वीका कुराहरू भनेको छु र पनि तिमीहरू विश्‍वास गर्दैनौ, तिमीहरूलाई मैले स्वर्गका कुरा बताएँ भने झन् कसरी विश्‍वास गरौला?

[13] स्वर्गबाट ओर्लिआएका मानिसका पुत्र कोही पनि स्वर्गमा गएका छैनन्।

[14] जसरी मोशाले उजाडस्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसका पुत्र पनि उचालिनैपर्छ,

[15] तब उहाँमाथि विश्‍वास गर्ने हरेकले अनन्त जीवन पाउन सक्छ।”

[16] किनकि परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना अद्वितीय पुत्रलाई बलिदानको लागि दिनुभयो; उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।

[17] किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउनका निम्ति आफ्ना पुत्रलाई संसारमा पठाउनुभएको होइन, तर उहाँद्वारा संसारलाई बचाउन पठाउनुभयो।

[18] जसले उहाँमाथि विश्‍वास गर्दछ, त्यो दोषी ठहरिँदैन; तर जसले विश्‍वास गर्दैन, त्यो अघिबाटै दोषी ठहरिएको हुन्छ; किनकि उसले परमेश्‍वरका अद्वितीय पुत्रको नाउँमा विश्‍वास गरेको छैन।

[19] फैसला यही हो: ज्योति संसारमा आएको छ, तर मानिसहरूले ज्योतिको साटो अन्धकारलाई रुचाए; किनकि तिनीहरूका कामहरू खराब थिए।

[20] हरेक जसले दुष्‍ट काम गर्दछ, त्यसले ज्योतिलाई घृणा गर्दछ, र त्यसका कामहरू प्रकट होलान् भन्‍ने डरले त्यो ज्योतिमा आउँदैन।

[21] तर जो सत्यतामा जिउँछ, उसले जे गरेको छ, त्यो परमेश्‍वरद्वारा गरिएका हुन् भन्‍ने कुरा स्पष्‍ट देखिन सकियोस् भनी ज्योतिकहाँ आउँछ।

[22] यसपछि येशू र उहाँका चेलाहरू यहूदियाका गाउँहरूतिर जानुभयो; अनि उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो; र बप्‍तिस्मा दिनुभयो।

[23] यसै समयमा यूहन्‍नाले पनि सालीमको नजिकै एनोनमा बप्‍तिस्मा दिइरहेका थिए; किनकि त्यहाँ प्रशस्त पानी थियो, अनि बप्‍तिस्मा लिनलाई मानिसहरू निरन्तर आइरहेका थिए।

[24] (यो यूहन्‍ना झ्यालखानामा पर्नुभन्दा अघिको कुरा थियो।)

[25] यूहन्‍नाका केही चेलाहरू र एउटा यहूदीका बीचमा शुद्धीकरणको विषयमा वाद-विवाद चल्यो।

[26] तिनीहरू यूहन्‍नाकहाँ आएर तिनलाई भने, “गुरुज्यू, यर्दन नदीपारि तपाईंसँग हुनुभएको व्यक्‍ति, जसको बारेमा तपाईंले गवाही दिनुभएको थियो, उहाँले पनि बप्‍तिस्मा दिँदैहुनुहुन्छ, अनि सबै मानिसहरू उहाँकहाँ जाँदैछन्।”

[27] यसै कुरालाई यूहन्‍नाले यसरी जवाफ दिए, “कुनै पनि मानिसलाई स्वर्गबाट उसलाई जे दिइन्छ, त्यो मात्र पाउन सक्छ।

[28] ‘म ता ख्रीष्‍ट होइनँ; तर उहाँको अगाडि पठाइएको हुँ’ भन्‍ने बारेमा तिमीहरू आफैले गवाही दिन सक्छौ।

[29] दुलही दुलहाको निम्ति हुन्छे। दुलहासँग रहने मित्रले उसको प्रतीक्षा गर्छ र उसका कुरा सुन्छ, अनि उसको स्वर सुनेर ऊ आनन्दले पूर्ण हुन्छ। त्यही नै मेरो आनन्द हो; र त्यो अब पूर्ण भएको छ।

[30] उहाँ बढ्नु, तर मचाहिँ घट्नु आवश्यक छ।

[31] “जो माथिबाट आउनुहुन्छ, उहाँ सबैभन्दा उच्‍च हुनुहुन्छ; पृथ्वीबाट आउनेचाहिँ पृथ्वीकै हो, र पृथ्वीबाट आउनेले झैं बोल्छ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्‍च हुनुहुन्छ।

[32] उहाँले जे देख्नु र सुन्‍नुभएको छ, त्यसैको गवाही दिनुहुन्छ; तर कसैले पनि उहाँको गवाही ग्रहण गर्दैनन्।

[33] जुन मानिसले उहाँको गवाही ग्रहण गरेको छ, उसले परमेश्‍वर सत्य हुनुहुन्छ भनी गवाही दिन्छ।

[34] किनकि परमेश्‍वरले जसलाई पठाउनुभएको छ, त्यसले परमेश्‍वरकै वचन बोल्दछ; किनकि परमेश्‍वरले पवित्र आत्मा विनानाप दिनुहुन्छ।

[35] पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र सबै थोक उहाँकै हातमा राखिदिनुभएको छ।

[36] जसले पुत्रमाथि विश्‍वास गर्दछ, त्यससित अनन्त जीवन छ; तर जसले पुत्रलाई इन्कार गर्दछ, त्यसले जीवन देख्नेछैन, किनकि परमेश्‍वरको क्रोध त्यसमा रहन्छ।”

यूहन्‍ना — Chapters