Skip to content
Opens in a new window
Listen to this chapter • 10:13

[1] तर येशू जैतुन डाँडामा जानुभयो।

[2] भोलिपल्ट एकाबिहानै उहाँ फेरि मन्दिरको चोकमा देखा पर्नुभयो, जहाँ सबै मानिसहरू उहाँको वरिपरि जम्मा भए; अनि उहाँ तिनीहरूलाई शिक्षा दिन बस्‍नुभयो।

[3] व्यवस्थाका शिक्षकहरू र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई त्यहाँ ल्याए। तिनीहरूले त्यसलाई भीडको अघि उभ्याए,

[4] र येशूलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचार गर्दा-गर्दै पक्राउ परेकी हो।

[5] व्यवस्थामा मोशाले यस्ता स्त्रीहरूलाई ढुङ्गाले हानिनुपर्छ भनी हामीलाई आज्ञा दिएका छन्। तपाईंचाहिँ के भन्‍नुहुन्छ?”

[6] तिनीहरूले यो प्रश्न उहाँलाई दोष लगाउने आधार प्राप्‍त गर्नलाई पासोको रूपमा प्रयोग गर्दैथिए। येशू निहुरनुभयो र औंलाले भुइँमा लेख्न थाल्नुभयो।

[7] जब तिनीहरूले उहाँलाई प्रश्न गरिरहे, तब उहाँ उभिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरूमा कोही पापरहित छ भने, यस स्त्रीलाई त्यसैले पहिले ढुङ्गाले हानोस्।”

[8] अनि उहाँले फेरि निहुरेर भुइँमा लेख्नुभयो।

[9] त्यसपछि यो कुरा सुन्‍नेहरू, बुढापाकादेखि सुरु गरेर सानासम्म एक-एक गर्दै त्यहाँबाट गए; अनि त्यहाँ उभिरहेकी त्यस स्त्रीसँग केवल येशू मात्र छोडिनुभयो।

[10] येशू उठेर त्यस स्त्रीलाई सोध्नुभयो, “ए नारी, तिनीहरू खोइ कहाँ छन्? के कसैले पनि तिमीलाई दोषी ठहराएन?”

[11] त्यसले भनी, “हजुर, कसैले पनि ठहराएन।” येशूले भन्‍नुभयो, “म पनि तिमीलाई दोषी ठहराउँदिनँ। अब जाऊ, फेरि पाप नगर।”

[12] फेरि मानिसहरूसँग बोल्नुहुँदा येशूले भन्‍नुभयो, “म संसारको ज्योति हुँ। जसले मलाई पछ्याउँछ, त्यो कहिल्यै अँध्यारोमा हिँड्‍डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।”

[13] तब फरिसीहरूले उहाँलाई भने, “तिमीले ता आफ्नै विषयमा गवाही दिइरहेका छौ, तिम्रो गवाही सत्य ठहरिँदैन।”

[14] येशूले जवाफ दिनुभयो, “मैले आफ्नै विषयमा गवाही दिए तापनि मेरो गवाही सत्य ठहर्छ; किनकि म कहाँबाट आएको हुँ, र कहाँ जाँदैछु; सो म जान्दछु; तर म कहाँबाट आएको हुँ, र कहाँ जाँदैछु भन्‍ने बारेमा तिमीहरू जान्दैनौ।

[15] तिमीहरू मानिसको दृष्‍टिले न्याय गर्दछौ; म कसैको न्याय गर्दिनँ।

[16] तर यदि मैले न्याय गरें भने पनि मेरो निर्णय सत्य हुन्छ; किनकि म एकलो छैनँ। मलाई पठाउनुहुने पिताको साथमा म छु।

[17] अनि तिमीहरूको आफ्नै व्यवस्थामा पनि दुईजनाको गवाही सत्य ठहरिन्छ भनी लेखिएको छ।

[18] मेरो आफ्नै विषयमा गवाही दिने एकजना म नै हुँ, मेरो अर्को गवाही मलाई पठाउनुहुने पिता हुनुहुन्छ।”

[19] तब तिनीहरूले उहाँलाई सोधे, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरू मलाई चिन्दैनौ, मेरा पितालाई पनि चिन्दैनौ। तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्‍नेथियौ।”

[20] येशूले यी कुराहरू मन्दिरमा शिक्षा दिँदैगर्नुहुँदा भेटी चढाउने ढुकुटीनिर नै भनिसक्नुभएको थियो। तापनि कसैले उहाँलाई पक्रेन; किनकि उहाँको समय अझै आएको थिएन।

[21] येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म जाँदैछु, अनि तिमीहरूले मलाई खोज्नेछौ, र तिमीहरू आफ्ना पापमा मर्नेछौ। म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।”

[22] ती यहूदी अगुवाहरूले आपसमा सोधे, “यिनले आत्महत्या त गर्ने होइनन्? के त्यसैकारण नै यिनले ‘म जहाँ जाँदैछु, तिमीहरू त्यहाँ आउन सक्दैनौ’ भनी भनेका हुन्?”

[23] तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू तलका हौ, म माथिको हुँ। तिमीहरू यस संसारका हौ, म यस संसारको होइनँ।

[24] मैले तिमीहरूलाई आफ्ना पापमा मर्नेछौ भनी भनें, यदि तिमीहरूले मैले आफूलाई जे हुँ भनी दाबी गर्छु; म उही नै हुँ भनी विश्‍वास गरेनौ भने तिमीहरू अवश्य नै आफ्ना पापहरूमा मर्नेछौ।”

[25] तिनीहरूले सोधे, “तिमी को हौ ता?” येशूले जवाफ दिनुभयो, “म जो हुँ भनी मैले सुरुदेखि नै दाबी गर्दैआएको छु, म उही हुँ।

[26] तिमीहरूको न्याय गर्नका निम्ति मैले भन्‍नुपर्ने कुरा धेरै नै छन्; तर जसले मलाई पठाउनुभयो, उहाँ विश्‍वासयोग्य हुनुहुन्छ, अनि उहाँबाट मैले जे सुनेको छु, त्यही कुरा म संसारलाई भन्दछु।”

[27] उहाँले पिताको विषयमा भन्‍नुभएको हो भनी तिनीहरूले बुझेनन्।

[28] त्यसकारण येशूले भन्‍नुभयो, “जब तिमीहरूले मानिसको पुत्रलाई उचाल्नेछौ, तब मैले दाबी गरेको व्यक्‍ति म उही हुँ, र मैले आफ्नै तर्फबाट केही पनि नगर्ने रहेछु, तर पिताले सिकाउनुभएका कुराहरू मात्र बोल्दो रहेछु भनी तिमीहरूले थाहा पाउनेछौ।

[29] जसले मलाई पठाउनुभयो, उहाँ मसँग हुनुहुन्छ। उहाँले मलाई एकलो छोड्नुभएको छैन; किनकि म सधैं उहाँलाई प्रसन्‍न तुल्याउने काम गर्दछु।”

[30] उहाँले यी कुरा बोल्दाबोल्दै धेरैले उहाँमाथि विश्‍वास गरे।

[31] येशूले उहाँमाथि विश्‍वास गरेका यहूदीहरूलाई भन्‍नुभयो, “तिमीहरू मेरा शिक्षामा रहिरह्‍यौ भने, तिमीहरू साँच्‍चै नै मेरा चेलाहरू हौ।

[32] तब तिमीहरूले सत्यतालाई चिन्‍नेछौ, अनि सत्यताले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”

[33] तिनीहरूले उहाँलाई भने, “तर हामी ता अब्राहामका सन्तान हौं, र कहिल्यै कसैको सेवक बनेका छैनौं। त्यसकारण हामी स्वतन्त्र तुल्याइनेछौं भन्‍ने कुरा तपाईं कसरी भन्‍न सक्नुहुन्छ?”

[34] येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, पाप गर्ने हरेक मानिस पापको एउटा सेवक हो।

[35] घरमा कुनै पनि सेवकको स्थायी स्थान हुँदैन, तर पुत्रचाहिँ सधैंभरि घरमा रहन्छन्।

[36] त्यसकारण पुत्रले स्वतन्त्र तुल्याए भने, तिमीहरू साँच्‍चै स्वतन्त्र हुनेछौ।

[37] तिमीहरू अब्राहामका सन्तान हौ, म जान्दछु, तापनि तिमीहरू मलाई मार्न तयार छौ; किनकि मेरा शिक्षाको लागि तिमीहरूको हृदयमा ठाउँ छैन।

[38] मैले मेरा पिताको उपस्थितिमा जे-जे देखें, सो तिमीहरूलाई भन्दैछु; तर तिमीहरूले चाहिँ तिमीहरूका आफ्नै पिताबाट सुनेका कुरा मात्र गर्दछौ।”

[39] तिनीहरूले जवाफ दिए, “हाम्रा पिता त अब्राहाम हुन्।” येशूले भन्‍नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तान हुँदा हौ ता, तिमीहरूले पनि अब्राहामले गरेका काम गर्नेथियौ।

[40] तर यसको सट्टामा तिमीहरूले मलाई मार्ने निश्‍चय गरेका छौ, जसले तिमीहरूलाई सत्य कुरा बताएको छ, जुन सत्यता मैले परमेश्‍वरबाट सुनेको हुँ। अब्राहामले यस्तो काम गरेनन्।

[41] तिमीहरूका आफ्ना पिताले जे काम गरे, तिमीहरूले पनि त्यही गर्दैछौ।” तिनीहरूले विरोध गर्दै भने, “हामी व्यभिचारबाट जन्मेका सन्तान होइनौं; हाम्रा एउटै मात्र पिता स्वयम् परमेश्‍वर नै हुनुहुन्छ।”

[42] येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरूका पिता परमेश्‍वर हुनुहुँदो हो ता, तिमीहरूले मलाई प्रेम गर्नेथियौ; किनकि म परमेश्‍वरबाट आएको हुँ, र अहिले यहाँ छु। म आफै आएको होइनँ, तर मलाई परमेश्‍वरले पठाउनुभयो।

[43] मैले भनेका कुराहरू तिमीहरू किन बुझ्दैनौ? किनकि तिमीहरूले मैले भनेका कुराहरू सुन्‍न सक्दैनौ।

[44] तिमीहरू ता तिमीहरूका पिता शैतानबाटका हौ, र तिमीहरूले आफ्नो पिताको इच्छा मात्र पूरा गर्न चाहन्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो, र सत्यतामा रहँदैन; किनकि त्यसमा केही सत्य छँदैछैन। झूटो बोल्नु ता त्यसको स्वभाव अनुसारको बोली हो; किनकि त्यो झूट हो, र झूटको पिता नै हो।

[45] किनभने म साँचो कुरा भन्दछु, र पनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ!

[46] के तिमीहरूमध्ये कसैले मलाई पापको दोषी ठहराउन सक्छौ? यदि म साँचो बोल्दछु भने किन तिमीहरू ममाथि विश्‍वास गर्दैनौ?

[47] जो परमेश्‍वरबाटको हो, त्यसले परमेश्‍वरले बोल्नुभएको वचन सुन्छ। तिमीहरूले नसुन्‍नुको कारण यही हो कि, तिमीहरू परमेश्‍वरका होइनौ।”

[48] यहूदीहरूले येशूलाई जवाफ दिए, “के तिमी एक सामरी हौ, र तिमीलाई भूत लागेको छ भनी हामीले ठीकै भनेका होइनौं र?”

[49] येशूले भन्‍नुभयो, “मलाई कुनै भूत लागेको छैन; तर म मेरा पिताको आदर गर्दछु, अनि तिमीहरू मेरो अनादर गर्दछौ।

[50] म आफ्नै महिमा खोज्दिनँ, तर महिमा खोज्नेचाहिँ एकजना हुनुहुन्छ र उहाँ न्यायकर्ता हुनुहुन्छ।

[51] म तिमीहरूलाई साँच्‍चै भन्दछु, यदि कसैले मेरो वचन पालन गर्छ, त्यसले कहिल्यै मृत्यु देख्नेछैन।”

[52] अनि यहूदी अगुवाहरूले भने, “अब हामीलाई पक्‍का थाहा भयो, तिमीलाई भूत नै लागेको रहेछ! अब्राहाम मरेर गए; त्यसै गरी अगमवक्‍ताहरू पनि मरे, तर तिमीलेचाहिँ जसले तिम्रो वचन पालन गर्छ, त्यसले कहिल्यै पनि मृत्यु चाख्नेछैन भनी भन्दैछौ।

[53] के तिमी हाम्रा पिता अब्राहामभन्दा पनि महान् हौ? तिनी मरे, अनि त्यसै गरी अगमवक्‍ताहरू पनि मरे। तिमीले आफूलाई को हो भनी ठान्छौ?”

[54] येशूले जवाफ दिनुभयो, “यदि मैले आफ्नै महिमा गरें भने, मेरो महिमाको केही अर्थ हुँदैन। मेरा पिता, जसलाई तिमीहरू आफ्ना परमेश्‍वर भनी दाबी गर्दछौ, मलाई महिमा दिने उहाँ नै हुनुहुन्छ।

[55] तिमीहरूले उहाँलाई चिन्दैनौ, तर म उहाँलाई चिन्दछु, यदि मैले उहाँलाई चिन्दिनँ भनेको भए, म पनि तिमीहरूसरह झूटो बन्‍ने थिएँ; तर म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु।

[56] तिमीहरूका पिता अब्राहाम म आउने दिन देख्ने आशामा आनन्दित भएका थिए। तिनले त्यो देखे, र खुशी भए।”

[57] यहूदीहरूले उहाँलाई भने, “तिमी आफै पचास वर्ष पनि पुगेका छैनौ, अनि तिमीले अब्राहामलाई कसरी देख्यौ?”

[58] येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, अब्राहाम जन्मनुभन्दा अघिदेखि नै म छँदैछु!”

[59] यतिबेला तिनीहरूले उहाँलाई हान्‍नलाई ढुङ्गा टिपे, तर येशू लुक्नुभयो र मन्दिरको क्षेत्रबाट सुटुक्‍क बाहिर निस्केर जानुभयो।

यूहन्‍ना — Chapters