[1] यसपछि येशू गालीलमा नै घुमफिर गरिरहनुभयो। उहाँले यहूदियाबाट अलग्गै रहने मनसायले नै यसो गर्नुभयो; किनकि त्यहाँका यहूदी अगुवाहरूले उहाँलाई मार्न पर्खिरहेका थिए।
[2] तर यहूदीहरूको छाप्रो-वासको चाड नजिकै आएपछि
[3] येशूका भाइहरूले उहाँलाई भने, “तपाईं यो ठाउँ छोडेर यहूदिया जानुहोस्, जसबाट तपाईंले गर्नुभएका शक्तिशाली कामहरू तपाईंका चेलाहरूले पनि देखून्।
[4] समाजमा ख्याति प्राप्त गर्न चाहने कसैले पनि गुप्तमा काम गर्दैन। तपाईंले यी कामहरू गर्दै हुनुहुन्छ, त्यसकारण आफूलाई संसारमा प्रकट गराउनुहोस्।”
[5] किनकि उहाँका आफ्नै भाइहरूले पनि उहाँमाथि विश्वास गर्दैनथिए।
[6] त्यसकारण येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो लागि अझै ठीक समय आएको छैन, तर तिमीहरूका निम्ति सबै समय ठीकै हुन्छ।
[7] संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर मलाई घृणा गर्दछ; किनकि यसले जे गर्दैछ, त्यो दुष्ट काम हो भनी मैले त्यसको साक्षी दिन्छु।
[8] तिमीहरू चाडमा जाओ, म अहिले यस चाडमा जान्नँ; किनकि मेरो निम्ति ठीक समय अझै आएको छैन।”
[9] यी कुराहरू भन्नुभएपछि उहाँ गालीलमा नै रहनुभयो।
[10] तर उहाँका भाइहरू चाडमा गएपछि, उहाँ पनि खुल्लमखुल्ला होइन, तर गुप्त रूपमा त्यहाँ जानुभयो।
[11] चाडमा यहूदीहरूले उहाँलाई खोज्दै, “ती मानिस कहाँ छन्?” भनी सोधिरहेका थिए।
[12] भीडहरूका बीचमा उहाँको विषयमा व्यापक खासखुस भइरहेको थियो। कतिले भन्थे, “तिनी असल मानिस हुन्।” अरूले भन्थे, “होइन, त्यसले मानिसहरूलाई भ्रममा पारिरहेको छ।”
[13] तर यहूदी अगुवाहरूका डरको कारणले गर्दा कसैले पनि उहाँको विषयमा खुल्लमखुल्ला केही भन्दैनथिए।
[14] अब चाड आधा-आधी भइसकेपछि नै येशू मन्दिरका चोकहरूमा जानुभयो, र शिक्षा दिन थाल्नुभयो।
[15] यहूदीहरूले छक्क परेर सोधे, “केही अध्ययन नै नगरीकन पनि यिनले यस्तो ज्ञान कसरी प्राप्त गरे?”
[16] येशूले जवाफ दिनुभयो, “मेरो शिक्षा मेरो आफ्नै होइन; यो ता उहाँबाट आउँछ, जसले मलाई पठाउनुभयो।
[17] यदि कसैले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने, मेरो शिक्षा परमेश्वरतर्फबाट आएको हो अथवा म आफैले बोलेको हुँ, सो उसले थाहा पाउनेछ।
[18] जसले आफ्नै तर्फबाट बोल्छ, त्यसले आफ्नै आदर खोज्न त्यसो गर्छ; तर जसले उसलाई पठाउनुहुनेको आदरको निम्ति काम गर्छ, त्यो सत्यको मानिस हो, उनमा केही झूट हुँदैन।
[19] के मोशाले तिमीहरूलाई व्यवस्था दिएका छैनन् र? तापनि तिमीहरूमध्ये एउटैले पनि व्यवस्था पालन गर्दैनौ। तिमीहरू मलाई किन मार्न खोज्छौ?”
[20] भीडले जवाफ दियो, “तिमीलाई भूत लागेको छ। कसले तिमीलाई मार्न खोज्दैछ र?”
[21] येशूले तिनीहरूलाई भन्नुभयो, “मैले एउटा आश्चर्य काम गरें, अनि तिमीहरू सबै छक्क पर्दछौ।
[22] तर मोशाले तिमीहरूलाई खतनाको रीति दिएका (हुन ता त्यो मोशाबाट होइन, तर पितापुर्खाहरूबाट हो।) यसकारण तिमीहरूले विश्रामदिनमा बालकको खतना गर्दछौ।
[23] अब यदि मोशाको व्यवस्था भङ्ग नहोस् भनेर विश्रामदिनमा समेत बालकको खतना गर्न सकिन्छ भने मैले एकजना मानिसलाई विश्रामदिनमा निको पारेको कारण तिमीहरू मसँग किन रिसाउँछौ?
[24] केवल मुख हेरेर न्याय गर्न छोड, र ठीक न्याय गर।”
[25] तब यरूशलेमका बासिन्दाहरूमध्ये कतिले भन्न लागे, “के तिनीहरूले मार्न खोजेका व्यक्ति यिनी नै होइनन् र?
[26] अनि यिनी त त्यहीं छन्, र खुल्लमखुल्ला बोल्दैछन्, तर तिनीहरूले यिनलाई एक शब्द पनि भन्दैनन्। के अधिकार प्राप्त मानिसहरूले पनि यिनी नै ख्रीष्ट हुन् भनी साँच्चै ठहर गरे कि कसो?
[27] तर यी मानिस कहाँबाटका हुन् भनी हामीलाई थाहा छ; तर ख्रीष्ट आउनुहुँदा त उहाँ कहाँबाटका हुनुहुन्छ भनी कसैलाई थाहा हुनेछैन।”
[28] तब अझै पनि मन्दिरको चोकमा शिक्षा दिँदै रहनुहुँदा येशूले उच्च सोरले भन्नुभयो, “तिमीहरू मलाई पक्कै चिन्दछौ, र म कहाँको हुँ भनी तिमीहरू जान्दछौ; अनि म यहाँ आफ्नै इच्छाले आएको होइनँ, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ। तिमीहरूले उहाँलाई चिन्दैनौ,
[29] तर म उहाँलाई चिन्दछु; किनकि म उहाँबाट आएको हुँ, र उहाँले मलाई पठाउनुभएको हो।”
[30] यो सुनेर तिनीहरूले उहाँलाई पक्रन खोजे, तर कसैले पनि उहाँमाथि हात हालेन; किनकि उहाँको समय अझै आइपुगेको थिएन।
[31] तर पनि भीडका धेरै मानिसहरूले उहाँमाथि विश्वास गरे। तिनीहरूले भने, “के ख्रीष्ट आउनुभएपछि उहाँले यी मानिसले गरेका भन्दा पनि बढी अलौकिक चिन्हहरू गर्नुहुनेछ र?”
[32] भीडले उहाँको विषयमा यस्तो चर्चा गरेको कुरा फरिसीहरूले सुने। त्यसपछि मुख्य पूजाहारीहरू र फरिसीहरूले उहाँलाई पक्रनका लागि मन्दिरका पहरेदारहरूलाई पठाए।
[33] येशूले भन्नुभयो, “म अब केही समयको निम्ति मात्र तिमीहरूसँग म रहन्छु, अनि त्यसपछि मलाई पठाउनुहुनेकहाँ जानेछु।
[34] तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ; र म जहाँ छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।”
[35] यहूदीहरूले आपसमा भने, “यी मानिस कहाँ जान लाग्दैछन्, र हामी यिनलाई भेट्टाउनेछैनौं? के यिनी ग्रीकहरूका बीचमा छरिएर बसेका हाम्रा मानिसहरूकहाँ जान, र ग्रीकहरूलाई शिक्षा दिन चाहन्छन्?
[36] यिनले यसो भन्नुको अर्थ के हो? ‘तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ’ र ‘म जहाँ छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ?’ ”
[37] चाडको अन्तिम र प्रमुख दिनमा येशू उभिएर उच्च सोरमा भन्नुभयो, “यदि कोही तिर्खाउँछ भने, त्यो मकहाँ आओस् र पिओस्।
[38] जसले ममाथि विश्वास गर्छ, धर्मशास्त्रले भनेअनुसार तिनीहरूका अन्तस्करणबाट जिउँदो पानीका नदीहरू बगेर निस्कनेछन्।”
[39] यो कुरा उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जसलाई उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए। त्यस बेलासम्म पवित्र आत्मा दिइएको थिएन; किनकि येशू अझैसम्म महिमित हुनुभएको थिएन।
[40] उहाँका वचन सुनेर भीडमा भएका मानिसहरूमध्ये कतिले भने, “निश्चय नै यी मानिस साँच्चै अगमवक्ता हुन्।”
[41] अरूहरूले भने, “उहाँ ख्रीष्ट हुनुहुन्छ।” तर अझै अरूहरूले प्रश्न गरे, “ख्रीष्ट कसरी गालीलबाट आउन सक्छन् र?
[42] के धर्मशास्त्रमा ख्रीष्ट दाविदको वंशबाट र दाविदकै शहर बेथलेहेमबाट आउनेछन् भनी लेखिएको छैन र?”
[43] यसरी येशूका कारण मानिसहरूका बीचमा फाटो आयो।
[44] कति मानिसहरूले उहाँलाई पक्रन चाहन्थे, तर उहाँमाथि कसैले पनि हात हालेन।
[45] अन्त्यमा मन्दिरका पहरेदारहरू मुख्य पूजाहारीहरू र फरिसीहरूकहाँ फर्केर गए। तिनीहरूले यिनीहरूलाई सोधे, “तिमीहरूले त्यसलाई किन ल्याएनौ?”
[46] पहरेदारहरूले जवाफ दिए, “यस मानिसले जस्तो ता कुनै पनि मानिसले कहिल्यै बोलेन।”
[47] फरिसीहरूले खिसी गर्दै भने, “त्यसको मतलब तिमीहरू पनि बहकिन पुग्यौ, होइन त?
[48] के शासकहरू अथवा फरिसीहरूमध्ये कसैले येशूमाथि विश्वास गरेको छ र?
[49] तर यो भीड, जसले व्यवस्था जान्दैनन्, तिनीहरू श्रापित छन्।”
[50] निकोदेमस, जो पहिले येशूकहाँ गएका थिए, र जो तिनीहरूमध्येकै एक थिए, तिनले भने,
[51] “के हाम्रो व्यवस्थाले कसैलाई उसले के गरिरहेको छ भनी जान्नको लागि नजाँची, र सुनुवाइ नै नगरी दोषी ठहराउँछ र?”
[52] तिनीहरूले जवाफ दिए, “के तिमी पनि गालीलकै हौ? धर्मशास्त्रमा खोजेर हेर; र तिमीले थाहा पाउनेछौ कि, गालीलबाट कुनै अगमवक्ता निस्किँदैन।”
[53] त्यसपछि सबैजना आ-आफ्ना घर गए।