[1] निस्तार चाड सुरु हुनुभन्दा छ दिन अघि येशू लाजरस बस्ने ठाउँ बेथानीमा आइपुग्नुभयो। तिनै लाजरस, जसलाई येशूले मरेकाबाट जीवित पार्नुभएको थियो।
[2] येशूको सम्मानमा त्यहाँ भोज तयार गरिएको थियो। मार्थाले भोजनको तयार गरिन्, लाजरस पनि येशूसँग खान बस्नेहरूमध्ये एक थिए।
[3] अनि मरियमले जटामसीबाट बनेको आधा लिटर जति सुगन्धित र अति महङ्गो अत्तर ल्याइन् र येशूको पाउमा खन्याएर आफ्नै कपालले येशूको पाउ पुछी; अनि अत्तरको सुवास्नाले घर भरियो।
[4] उहाँका चेलाहरूमध्ये उहाँलाई पछि गएर विश्वासघात गर्ने यहूदा इस्करियोतले विरोध गर्दै भन्यो,
[5] “यो अत्तर बेचेर गरिबहरूलाई पैसा किन बाँडिएन?” यसको मोल एक वर्षको ज्याला बराबर थियो।
[6] तर त्यसले गरिबहरूको चिन्ता गरेर नै यसो भनेको होइन, तर त्योचाहिँ चोर थियो, र चेलाहरूको पैसाको थैलो बोक्ने र समय-समयमा आफ्नै निम्ति त्यहाँबाट सुटुक्कै खर्च चलाउने गरेको हुनाले त्यसले यसो भनेको थियो।
[7] येशूले जवाफ दिनुभयो, “यिनले जे गर्दैछिन्, सो गर्नदेऊ। यिनले मेरो अन्तिम संस्कारको निम्ति यो अत्तर जोगाउनैपर्ने थियो।
[8] गरिबहरू त तिमीहरूसँग जहिले पनि हुन्छन्, तर म ता तिमीहरूसँग सधैं रहनेछैनँ।”
[9] यसै बीचमा यहूदीहरूको एउटा ठूलो भीडले येशू बेथानीमा हुनुहुन्छ भन्ने थाहा पाए, र उहाँलाई मात्र होइन, तर उहाँले मरेकाबाट जीवित पार्नुभएको लाजरसलाई समेत हेर्न त्यो भीड त्यहाँ आए।
[10] त्यसकारण मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने योजना गरे।
[11] किनकि लाजरसकै कारण धेरै यहूदीहरू येशूलाई पछ्याउन र उहाँमाथि विश्वास गर्न थालेका थिए।
[12] भोलिपल्ट निस्तार चाडमा आउने ठूलो भीडले येशू यरूशलेमतिर जाँदैहुनुहुन्छ भन्ने खबर सुने।
[13] तिनीहरू खजूरका हाँगाहरू लिएर उहाँलाई भेट्न जयजयकार गर्दैगए। “होसन्ना!” “उहाँ जो प्रभुको नाउँमा आउनुहुन्छ धन्य हुनुहुन्छ!” “इस्राएलका राजा धन्यका हुन्!”
[14] अनि येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो र त्यसमाथि बस्नुभयो। उहाँको यस सवारीबाट धर्मशास्त्रमा लेखिएको यो अगमवाणी पूरा भयो:
[15] “ए यरूशलेमका मानिसहरूहो, नडराओ, हेर, तिम्रा राजा, गधाको बछेडामाथि चढेर आउँदै हुनुहुन्छ।”
[16] त्यस समय उहाँका चेलाहरूले यस घटनाका कुराहरू बुझेनन्, तर येशू आफ्नो महिमामा प्रवेश हुनुभएपछि मात्र तिनीहरूले यी सबै कुराहरू उहाँको बारेमा लेखिएका थिए; र त्यसकारण तिनीहरूले उहाँका निम्ति यी सबै गरेका रहेछन् भनी बुझे।
[17] अब उहाँले लाजरसलाई चिहानबाट बोलाउनुभएको र तिनलाई मृत्युबाट जीवित पार्नुभएको बेला उहाँसँग रहने भीडले यो खबर फैल्याइरहे।
[18] त्यसैले गर्दा यति धेरै मानिसहरू उहाँलाई हेर्न आएका थिए, किनकि उहाँले यो अलौकिक चिन्ह गर्नुभएको छ भनेर तिनीहरूले सुनेका थिए।
[19] त्यसकारण फरिसीहरूले आपसमा भने, “हेर! हामीले केही गर्न सकेनौं, हामी असफल भयौं! हेर त, सारा संसार नै त्यसको पछि लाग्दैछ!”
[20] चाडमा यरूशलेममा आराधना गर्न आएका मानिसहरूमध्ये कति ग्रीकहरू थिए।
[21] तिनीहरू गालीलको बेथसेदामा बस्ने फिलिपकहाँ आए, अनि यसो भनेर विन्ती गरे, “हजुर, हामी येशूलाई भेट्न चाहन्छौं।”
[22] फिलिपले गएर अन्द्रियासलाई बताइदिए, अनि अन्द्रियास र फिलिप दुवै गएर येशूलाई भने।
[23] येशूले भन्नुभयो, “मानिसको पुत्र महिमित हुने समय आइपुगेको छ।
[24] म तिमीहरूलाई साँच्चै भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एकलो रहन्छ; तर यदि त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ।
[25] आफ्नो प्राणलाई माया गर्ने मानिसले त्यो गुमाउनेछ; तर आफ्नो प्राणलाई यस संसारमा घृणा गर्नेले त्यो अनन्त जीवनका लागि बचाउनेछ।
[26] मेरो सेवा गर्नेले मलाई पछ्याउनैपर्छ; र म जहाँ छु, मेरा सेवकहरू पनि त्यहाँ हुनैपर्छ। मेरो सेवा गर्नेहरूलाई मेरा पिताले आदर गर्नुहुनेछ।
[27] “अहिले मेरो हृदय अति व्याकुल भएको छ। के म यसरी प्रार्थना गरूँ, ‘पिता, जे हुन आँटेको छ, त्यसदेखि मलाई बचाउनुहोस्?’ होइन, यसैको लागि म यहाँसम्म आएँ।
[28] हे पिता, तपाईं आफ्नो नाउँको महिमा गर्नुहोस्!” त्यसपछि स्वर्गबाट यस्तो एउटा स्वर आयो, “मैले मेरो नाउँको महिमा गरिसकेको छु, र म फेरि महिमा गर्नेछु।”
[29] त्यो भीडमा भएका यो स्वर सुन्नेहरूमध्ये कतिले यसलाई गर्जन हो भनी ठाने, तर अरूले स्वर्गदूत उहाँसँग बोल्नुभएको हो भनी भने।
[30] येशूले भन्नुभयो, “यो स्वरचाहिँ तिमीहरूको फाइदाको निम्ति थियो, मेरो निम्ति होइन।
[31] अब संसारको न्यायको समय आइपुगेको छ, अब यस संसारको शासक बाहिर फालिनेछ।
[32] यदि म पृथ्वीबाट माथि उचालिएँ भने मैले सबै मानिसहरूलाई मकहाँ खिँच्नेछु।”
[33] उहाँको मृत्यु कुन प्रकारको हुनेछ भन्ने सङ्केत गर्न उहाँले यसो भन्नुभएको थियो।
[34] भीडले प्रश्न गर्यो, “हामीले ख्रीष्ट सदा-सर्वदा जीवित रहनुहुनेछ र कहिल्यै मर्नुहुनेछैन भनेर व्यवस्थाबाट सुनेका थियौं। त्यसो हो भने ‘मानिसका पुत्र उचालिनुपर्छ’ भनी तपाईं कसरी भन्न सक्नुहुन्छ? यो ‘मानिसका पुत्र’ भनेको को हुन्?”
[35] येशूले तिनीहरूलाई भन्नुभयो, “अब केही बेर मात्र तिमीहरूले ज्योति पाउनेछौ। तिमीहरूसँग ज्योति भएकै बेला र अन्धकारले ढाक्नुभन्दा अघि नै हिँड्डुल गर। अन्धकारमा हिँड्ने मानिसले ऊ कहाँ जाँदैछ भन्ने थाहा पाउँदैन।
[36] तिमीहरूसँग ज्योति हुँदा नै आफ्नो भरोसा त्यसमा राख, तब तिमीहरू ज्योतिका सन्तान बन्नेछौ।” यति भनिसक्नुभएपछि येशू जानुभयो र फेरि तिनीहरूबीचमा देखा पर्नुभएन।
[37] येशूले तिनीहरूका अघि यतिका धेरै अलौकिक चिन्हहरू गर्नुभएको थियो, तापनि तिनीहरूले उहाँलाई विश्वास गरेनन्।
[38] यो कुरा यशैया अगमवक्ताले गरेका यो अगमवाणी पूरा हुनालाई भएको थियो: “हे प्रभु, हाम्रो समाचार कसले विश्वास गरेको छ र प्रभुको बाहुबल कसलाई प्रकट गरिएको छ?”
[39] यसैकारणले गर्दा तिनीहरूले विश्वास गर्न सकेनन्, किनकि यशैयाले फेरि भनेका छन्:
[40] “तिनीहरूका आँखाले नदेखून्, र हृदयले नबुझून्, न ता निको हुनालाई मकहाँ आऊन् भनेर, परमेश्वरले नै तिनीहरूका आँखाहरू नदेख्ने र तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ।”
[41] यशैयाले यो कुरा येशूको बारेमा भनेका थिए, किनकि उहाँको महिमाको दर्शन तिनले पाएका थिए।
[42] तर यस्तै समयमा पनि धेरै यहूदी अगुवाहरूले समेत उहाँलाई विश्वास गरे, तर सभाघरहरूबाट तिनीहरूलाई फरिसीहरूले निकालिदिनेछन् भन्ने डरले तिनीहरूले आफ्नो विश्वासलाई खुल्लमखुल्ला स्वीकार गरेनन्।
[43] किनकि परमेश्वरको प्रशंसाभन्दा मानिसहरूको प्रशंसा तिनीहरूले रुचाए।
[44] येशूले चर्को सोरमा भन्नुभयो, “मलाई विश्वास गर्नेले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेलाई पनि विश्वास गर्दछ।
[45] जसले मलाई हेर्छ, त्यसले मलाई पठाउनुहुनेलाई देख्छ।
[46] म संसारमा ज्योति भएर आएको हुँ, यसकारण ममाथि विश्वास राख्नेहरू कोही पनि अब अन्धकारमा रहनेछैन।
[47] “मेरो वचन सुनेर पनि मेरो आज्ञा पालन नगर्नेलाई, म न्याय गर्दिनँ; किनकि म संसारलाई बचाउन आएँ, यसको न्याय गर्नलाई होइनँ।
[48] तर मलाई र मेरो वचनलाई अस्वीकार गर्नेहरू सबैको निम्ति एउटा न्यायकर्ता हुनुहुन्छ। अन्त्यको दिनमा मैले बोलेको यही वचनले त्यसलाई दोषी ठहराउनेछ।
[49] किनकि मैले आफ्नै विचारले बोलिनँ, तर मलाई पठाउनुहुने पिताले नै के बोल्ने, र कसरी बोल्ने भनी मलाई आज्ञा दिनुभयो।
[50] अनि उहाँका आज्ञाहरूले अनन्त जीवनमा पुर्याउँछन् भनेर म जान्दछु। त्यसकारण म जे भन्दछु, ती सबै पिताले मलाई भन्न लगाउनुभएका कुराहरू नै हुन्।”