Skip to content
Opens in a new window
Listen to this chapter • 4:46

[1] येशूले यी कुराहरू भनिसक्नुभएपछि, उहाँले स्वर्गतिर हेर्नुभयो र प्रार्थना गर्नुभयो: “हे पिता, समय भयो। तपाईंको पुत्रको महिमा गर्नुहोस्, र पुत्रले पनि तपाईंलाई महिमा दिन सकोस्।

[2] किनकि तपाईंले दिनुभएका हरेकलाई उसले अनन्त जीवन दिन सकोस् भनेर तपाईंले उसलाई यस पृथ्वीको मानिस जातिमाथि अधिकार दिनुभएको छ।

[3] अनन्त जीवन यही हो: तिनीहरूले तपाईं एक मात्र सत्य परमेश्‍वरलाई, अनि तपाईंले पठाउनुभएको येशू ख्रीष्‍टलाई चिनून्।

[4] तपाईंले मलाई अह्राउनुभएको प्रत्येक काम गरेर मैले तपाईंलाई पृथ्वीमा महिमा दिएको छु।

[5] हे पिता, तपाईंको सामु मलाई त्यो महिमाले महिमित गराउनुहोस्, जुन महिमा संसारको सृष्‍टिअघि तपाईंमा मेरो निम्ति थियो।

[6] “संसारबाट तपाईंले मलाई दिनुभएका मानिसहरूका बीचमा तपाईंलाई मैले प्रकट गरेको छु। ती तपाईंकै थिए, र ती तपाईंले फेरि मलाई दिनुभयो; र तिनीहरूले तपाईंको वचन पालन गरेका छन्।

[7] मसित जे-जति छन्, ती सबै तपाईंबाट नै आएका हुन् भनेर अब तिनीहरूले थाहा गरेका छन्।

[8] किनकि तपाईंले मलाई दिनुभएका वचनहरू मैले तिनीहरूलाई पनि दिएँ; र तिनीहरूले पनि ती सब ग्रहण गरेका छन्। म तपाईंबाटै आएको हुँ भनेर पक्‍कै जानेका छन्, र तपाईंले मलाई पठाउनुभयो भनी विश्‍वास पनि गरेका छन्।

[9] म तिनीहरूका लागि प्रार्थना गर्दछु। संसारको लागि म प्रार्थना गर्दिनँ, तर तपाईंले मलाई दिनुभएकाहरूको लागि म प्रार्थना गर्छु; किनकि तिनीहरू तपाईंका नै हुन्।

[10] मेरा सबै थोक तपाईंकै हुन्, र तपाईंका सबै थोक मेरा हुन्; अनि तिनीहरूद्वारा महिमा मकहाँ आएको छ।

[11] म यस संसारमा अब रहँदिनँ, तर तिनीहरू यही संसारमा रहन्छन्, अनि म तपाईंकहाँ आउँदैछु। हे पवित्र पिता, तपाईंको नाउँको शक्‍तिले तिनीहरूलाई जोगाइराख्नुहोस्, जुन नाउँ तपाईंले मलाई दिनुभएको छ, जसद्वारा तिनीहरू पनि हामीजस्तै एक होऊन्।

[12] म तिनीहरूसँग हुँदा, तपाईंले मलाई दिनुभएको नाउँले तिनीहरूलाई जोगाइराखें। तिनीहरूमध्ये एउटाबाहेक अरू कोही पनि नष्‍ट भएनन्, तर धर्मशास्त्र पूरा होस् भनेर एक जनाचाहिँ विनाशको पुत्र नै भयो।

[13] “अब म तपाईंकहाँ आउँदैछु। मेरो आनन्दले तिनीहरू पूरा भरपूर होऊन् भनेर मैले यी कुराहरू म संसारमा हुँदा नै भनिदिएको छु।

[14] मैले तिनीहरूलाई तपाईंको वचन दिएको छु। संसारले तिनीहरूलाई घृणा गरेको छ; किनकि जसरी म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्।

[15] संसारबाट तिनीहरूलाई लैजानुहोस् भनेर म तपाईंसँग विन्ती गर्दिनँ, तर दुष्‍टको शक्‍तिबाट तिनीहरूलाई जोगाइराख्नुहोस् भनी विन्ती गर्छु।

[16] म यस संसारको नभएजस्तै, तिनीहरू पनि अब यस संसारका होइनन्।

[17] सत्यताद्वारा तिनीहरूलाई पवित्र गर्नुहोस्; तपाईंको वचन सत्य छ।

[18] तपाईंले मलाई संसारमा पठाउनुभएझैं, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु।

[19] तिनीहरू पनि साँचो रूपले पवित्र होऊन् भनेर म आफूलाई तिनीहरूका लागि पवित्र गर्दछु।

[20] “तिनीहरूका निम्ति मात्र म प्रार्थना गर्दिनँ, तर तिनीहरूका साक्षीद्वारा पछि मलाई विश्‍वास गर्नेहरू सबैका लागि पनि म प्रार्थना गर्दछु।

[21] हे पिता, जस्तो म तपाईंमा छु र तपाईं ममा हुनुहुन्छ, त्यसरी नै तिनीहरू पनि हामीमा एक होऊन्। तिनीहरू पनि हामीमा रहन सकून्; ताकि तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्‍वास गरोस्।

[22] तिनीहरू पनि हामीजस्तै एक होऊन् भनेर तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई पनि दिएको छु:

[23] म तिनीहरूमा अनि तपाईं ममा। तपाईंले मलाई संसारमा पठाउनुभएको हो, र मलाई प्रेम गर्नुभएझैं तिनीहरूलाई पनि गर्नुहुन्छ भन्‍ने कुरा संसारलाई थाहा दिन तिनीहरूमा पूरा एकता आओस्।

[24] “हे पिता, म इच्छा गर्दछु जो जति तपाईंले मलाई दिनुभएको छ, तिनीहरू पनि म जहाँ छु, मसितै त्यहीं रहून् र मेरो महिमा तिनीहरूले देखून्, जुन महिमा तपाईंले संसारको सृष्‍टिभन्दा पहिलेदेखि नै मलाई प्रेम गर्नुभएको हुनाले मलाई दिनुभयो।

[25] “हे धार्मिक पिता, संसारले तपाईंलाई नचिने तापनि म तपाईंलाई चिन्दछु; अनि तपाईंले मलाई पठाउनुभएको हो भनेर तिनीहरूले जान्दछन्।

[26] मैले तपाईंलाई तिनीहरूकहाँ प्रकट गरेको छु, अनि मलाई तपाईंले गर्नुभएको त्यो गहिरो प्रेम तिनीहरूमा पनि रहोस् र म आफू पनि तिनीहरूमा रहूँ भनेर तिनीहरूकहाँ तपाईंलाई म प्रकट गरिरहनेछु।”

यूहन्‍ना — Chapters