Skip to content
Opens in a new window
Listen to this chapter • 5:22

[1] हप्‍ताको पहिलो दिन बिहान, अँध्यारैमा मरियम मग्दलिनी चिहानमा गइन्, र चिहानको मुखको ढुङ्गा एकातिर पन्छ्याइएको भेट्टाइन्।

[2] तिनी दौडिँदै सिमोन पत्रुस र येशूले औधी माया गर्ने अर्को चेलाकहाँ आइन्, र भनिन्, “तिनीहरूले प्रभुको शरीर चिहानबाट लगेछन्; र कहाँ राखेका छन्, हामीलाई थाहा भएन!”

[3] तब पत्रुस र अर्को चेला चिहानतिर दौडे।

[4] पत्रुसलाई उछिनेर अर्को चेला पहिले चिहानमा पुगे।

[5] तिनले निहुरेर भित्र हेरे र मलमलका कपडाका पट्टिहरू मात्र त्यहाँ रहिरहेको देखे, तर उनी भित्र पसेनन्।

[6] त्यसै बेला सिमोन पत्रुस आइपुगे, अनि चिहान भित्रै पसे। उनले मलमलको कपडा त्यहीं रहिरहेको देखे।

[7] शिरमा बाँधिएको लास बाँध्ने कपडाचाहिँ सुती कपडाहरूसित होइन, तर अलग्गै एक ठाउँमा पट्याएर राखिएको देखे।

[8] आखिरमा चिहानमा पहिले आइपुग्ने अर्को चेला पनि भित्र पसे, र त्यो देखेर तिनले विश्‍वास गरे।

[9] (तिनीहरूले उहाँ मृतकहरूबाट जीवित भएर उठ्नुपर्छ भन्‍ने धर्मशास्त्रको वचन अहिलेसम्म पनि बुझेकै थिएनन्।)

[10] त्यसपछि चेलाहरू आ-आफ्ना घरमा गए।

[11] तर मरियम रुँदै चिहानबाहिर उभिरहिन्। तिनले रुँदै चिहानतिर निहुरिएर हेरिन्,

[12] अनि त्यहाँ सेतो लुगा पहिरेका दुईजना स्वर्गदूतहरूलाई येशूका शव राखिएको ठाउँमा शिर र खुट्टापट्टि एक-एक जनालाई बसिरहेका देखिन्।

[13] ती स्वर्गदूतहरूले सोधे, “हे नारी, तिमी किन रोइरहेकी छ्यौ?” तिनले उत्तर दिइन्, “तिनीहरूले मेरा प्रभुलाई लगेका छन्, र तिनीहरूले उहाँलाई कहाँ राखेका छन्, मलाई थाहा भएनँ।”

[14] तब तिनले पछि फर्केर हेरिन्, र येशूलाई उभिरहनुभएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्थ्यो भनेर चाहिँ चिनिनन्।

[15] “हे नारी! तिमी किन रोइरहेकी छ्यौ?” उहाँले तिनलाई सोध्नुभयो, “तिमी कसलाई खोज्दैछ्यौ?” तिनीसँग बोल्ने व्यक्‍ति माली पो रहेछ भनी तिनले सोचिन् र भनिन्, “हजुर, तपाईंले उहाँलाई लैजानुभएको भए उहाँलाई कहाँ राख्नुभएको छ, भनिदिनुहोस्, र म उहाँलाई लैजानेछु।”

[16] येशूले तिनलाई भन्‍नुभयो, “मरियम।” तिनी उहाँतिर फर्किन् र आरामाईक भाषामा चिच्याएर भनिन्, “रब्बोनी!” (जसको अर्थ हो, गुरुज्यू।)

[17] येशूले भन्‍नुभयो, “मलाई नछोऊ, किनकि म अझै पिताकहाँ गएको छैनँ। तर बरु जाऊ, र मेरा भाइहरूलाई भेटेर ‘म मेरा पिता र तिमीहरूका पिता अर्थात् मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ जाँदैछु’ भन्‍ने समाचार भनिदेऊ।”

[18] मरियम मग्दलिनी चेलाहरूकहाँ आइन् र भनिन्, “मैले प्रभुलाई देखें।” अनि प्रभुले यी कुराहरू तिनलाई भन्‍नुभएको हो भनी तिनले भनिन्।

[19] हप्‍ताको त्यो पहिलो दिनको साँझमा, चेलाहरू, यहूदी अगुवाहरूको डरले ढोकाहरू बन्द गरी भेला भएकै बेलामा येशू तिनीहरूका बीचमा आउनुभयो, र त्यहाँ उभिएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्!”

[20] यति भनिसक्नुभएपछि येशूले आफ्ना हातहरू र कोखा तिनीहरूलाई देखाउनुभयो। तब प्रभुलाई देखेर चेलाहरू अत्यन्तै आनन्दित भए।

[21] येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्! पिताले मलाई पठाएझैं, म पनि तिमीहरूलाई पठाउँदैछु।”

[22] त्यसपछि उहाँले तिनीहरूमाथि आफ्नो सास फुकिदिनुभयो र भन्‍नुभयो, “पवित्र आत्मा लेओ।

[23] यदि तिमीहरूले कसैको पाप क्षमा गर्‍यौ भने ती क्षमा हुन्छन्, र तिमीहरूले क्षमा गरेनौ भने, ती क्षमा हुनेछैनन्।”

[24] बाह्र चेलाहरूमध्ये एकजना “दिदुमस” भन्‍ने थोमा येशू आउनुहुँदा त्यहाँ थिएनन्।

[25] “हामीले प्रभुलाई देख्यौं” भनेर अरू चेलाहरूले थोमालाई भने। तर तिनले तिनीहरूलाई यसो भने, “उहाँको हातमा काँटीहरूका चोट नदेखेसम्म, र मैले मेरा औंलाहरू त्यहाँ नहालेसम्म, अनि उहाँको कोखामा हात नराखेसम्म, म यो कुरा विश्‍वास गर्नेछैनँ।”

[26] एक हप्‍तापछि उहाँका चेलाहरू फेरि घरमा भेला हुँदा, थोमा पनि तिनीहरूसँग थिए। ढोका बन्द भए तापनि येशू तिनीहरूका बीचमा आउनुभयो, र तिनीहरूका सामु उभिएर उहाँले भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्!”

[27] त्यसपछि थोमालाई उहाँले भन्‍नुभयो, “तिम्रा औंलाहरू यहाँ राख, मेरा हातहरू हेर; र तिम्रा हात मेरा कोखामा राख। अबदेखि उसो, अविश्‍वासी नहोऊ, तर विश्‍वास गर।”

[28] थोमाले उहाँलाई भने, “मेरा प्रभु, मेरा परमेश्‍वर!”

[29] त्यसपछि येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई देखेको कारण विश्‍वास गरेका छौ; तर मलाई नदेखिकन पनि विश्‍वास गर्नेहरू धन्यका हुन्।”

[30] येशूले आफ्ना चेलाहरूका अघि अरू पनि धेरै अलौकिक चिन्हहरू गर्नुभयो, जुन यस पुस्तकमा लेखिएका छैनन्।

[31] तर यो लेखिएको छ कि, तिमीहरूले येशू नै परमेश्‍वरका पुत्र, ख्रीष्‍ट हुनुहुन्छ भनेर विश्‍वास गर; र विश्‍वास गरेको कारणले तिमीहरूले उहाँको नाउँमा जीवन प्राप्‍त गर्न सक।

यूहन्‍ना — Chapters