[1] येशूले भन्नुभयो, “साँचो दाखको बोट म नै हुँ, र मेरा पिताचाहिँ किसान हुनुहुन्छ।
[2] ममा फल नफल्ने प्रत्येक हाँगालाई उहाँले काटिदिनुहुन्छ, तर फल्ने हाँगाहरूलाई अझ बढी फलोस् भनेर उहाँले छिँवल्नुहुन्छ।
[3] मैले तिमीहरूसँग बोलेका वचनले तिमीहरू शुद्ध भइसकेका छौ।
[4] ममा रहो, र म तिमीहरूमा रहनेछु। कुनै पनि हाँगाले आफै फल फलाउन सक्दैन, त्यो हाँगा दाखको बोटमा नै रहनुपर्छ। त्यसै गरी ममा नरहेसम्म तिमीहरूले पनि फल फलाउन सक्दैनौ।
[5] “दाखको बोट म नै हुँ; अनि तिमीहरू हाँगाहरू हौ। यदि कुनै मानिस ममा रहन्छ, र म त्यसमा रहन्छु भने त्यसले धेरै फल फलाउँछ। मबाट अलग रहेर तिमीहरूले केही गर्न सक्दैनौ।
[6] यदि कोही ममा रहिरहँदैन भने त्यो मिल्काइने, र सुक्ने हाँगाजस्तै हो, त्यस्ता हाँगाहरूलाई टिपेर आगोमा फालि जलाइन्छन्।
[7] तर यदि तिमीहरू ममा रहिरह्यौ र मेरा वचन तिमीहरूमा रहिरहे भने तिमीहरूले चिताएको जे पनि माग, र त्यो दिइनेछ।
[8] तिमीहरू मेरा चेलाहरू हौ भनी देखाउन धेरै फल फलायौ भने, त्यसबाट मेरा पितालाई ठूलो महिमा मिल्नेछ।
[9] “पिताले मलाई प्रेम गर्नुभएझैं, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। अब मेरो प्रेममा रहिरहो।
[10] मेरा आज्ञा तिमीहरूले मान्यौ भने, तिमीहरू मेरो प्रेममा रहेका हुन्छौ, जसरी मैले पनि मेरा पिताको आज्ञा मानेर उहाँको प्रेममा रहेको छु।
[11] मेरो आनन्द तिमीहरूमा रहोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको हुँ, ताकि तिमीहरूको आनन्दपूर्ण होस्।
[12] मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु।
[13] आफ्नो जीवन आफ्ना मित्रहरूका लागि अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन।
[14] यदि तिमीहरूले मेरो आज्ञा मान्यौ भने, तिमीहरू मेरा मित्रहरू हौ।
[15] अबदेखि म तिमीहरूलाई सेवक भन्दिनँ, किनकि सेवकलाई आफ्ना मालिकको कामकुरा थाहा हुँदैन; तर मैले तिमीहरूलाई मित्रहरू भनेको छु; किनकि पिताबाट मैले सिकेका सबै कुरा मैले तिमीहरूलाई थाहा दिएको छु।
[16] तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनें; र तिमीहरूलाई सधैं रहिरहने फल फलाउनलाई नियुक्त गरें। मेरो नाउँमा तिमीहरूले जे मागौला, पिताले सो तिमीहरूलाई दिनुहुनेछ।
[17] मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर।
[18] “यदि संसारले तिमीहरूलाई घृणा गर्यो भने, त्यसले पहिला मलाई नै घृणा गरेको हो भनी सम्झ।
[19] तिमीहरू संसारका हुँदा हौ ता यसले तिमीहरूलाई आफ्नैलाई झैं प्रेम गर्नेथियो; तर तिमीहरू यस संसारका होइनौ, किनकि संसारदेखि अलग रहन मैले तिमीहरूलाई चुनें। यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।
[20] मैले तिमीहरूलाई भनेका कुरा सम्झ: ‘कुनै पनि सेवक आफ्नो मालिकभन्दा ठूलो हुँदैन।’ यदि तिनीहरूले मलाई सताएका छन् भने, तिमीहरूलाई पनि तिनीहरूले सताउनेछन्। तिनीहरूले मेरा शिक्षा सुनेका भए, तिमीहरूका शिक्षा पनि सुन्नेथिए।
[21] मेरो नाउँको कारणले गर्दा तिनीहरूले तिमीहरूलाई यस्तो व्यवहार गर्नेछन्; किनकि मलाई पठाउनुहुनेलाई तिनीहरूले चिन्दैनन्।
[22] म आएर तिनीहरूलाई नभनेको भएदेखि, तिनीहरू पापको दोषी ठहरिने थिएनन्; तर अब तिनीहरूलाई आफ्नो पापको निम्ति कुनै बहाना छैन।
[23] मलाई घृणा गर्नेले मेरा पितालाई पनि घृणा गरेको हुन्छ।
[24] पहिला अरू कसैले नगरेका कामहरू मैले तिनीहरूका बीचमा नगरेको भए तिनीहरू पापको दोषी ठहरिने थिएनन्; तर अब ता तिनीहरूले यी आश्चर्य कर्महरू देखेका छन्, तापनि म र पिता हामी दुवैलाई तिनीहरूले घृणा गरेका छन्।
[25] तर तिनीहरूका व्यवस्थामा लेखिएको यो कुरा पूरा हुनालाई यसो भएको हो: ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे।’
[26] “जब मैले पिताको तर्फबाट तिमीहरूकहाँ सल्लाहकार पठाउनेछु, अर्थात् पिताबाट आउनुहुने सत्यको आत्मा तिमीहरूकहाँ आउनुहुनेछ, तब उहाँले मेरो विषयमा साक्षी दिनुहुनेछ।
[27] अनि तिमीहरूले पनि साक्षी दिनैपर्छ; किनकि तिमीहरू सुरुदेखि नै मसँग रहेका छौ।”