Skip to content
Opens in a new window
Listen to this chapter • 7:40

[1] केही समयपछि येशू यहूदीहरूको एउटा चाडको निम्ति यरूशलेम जानुभयो।

[2] यरूशलेममा भेडा ढोकाको नजिकै एउटा पोखरी छ, जसलाई आरामाईक भाषामा बेथस्दा भनिन्छ, र यो पाँचओटा दलानहरूले घेरिएको थियो।

[3] त्यहाँ दृष्‍टिविहीन, हिँड्न नसक्ने, पक्षघाती तथा थुप्रै रोगीहरू पस्रिरहेका हुन्थे। तिनीहरू पानी छचल्किएको पर्खिरहन्थे।

[4] किनकि बेला-बेलामा प्रभुका दूत तल ओर्लेर पानी हल्‍लाइदिन्थे; अनि हरेकपल्ट पानी छचल्किएपछि जो पहिला पानीभित्र पस्थ्यो, त्यो जस्तोसुकै रोग लागेको भए तापनि निको भइहाल्थ्यो।

[5] त्यहाँ एकजना मानिस थियो, जो अठतीस वर्षदेखिको पक्षघाती रोगी थियो।

[6] जब येशूले त्यसलाई त्यहाँ पस्रिएको देख्नुभयो र त्यो लामो समयदेखि त्यस अवस्थामा रहेछ भनी थाहा पाउनुभयो, तब उहाँले त्यसलाई सोध्नुभयो, “के तिमी निको हुन चाहन्छौ?”

[7] त्यस रोगीले भन्यो, “हजुर, पानी छचल्काइँदा मलाई पोखरीमा हालिदिन सहायता गर्ने कोही पनि छैन। म पस्‍ने कोसिस गर्दा-गर्दै अर्को मान्छे मभन्दा अगाडि पसिहाल्छ।”

[8] त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “उठ! तिम्रो ओछ्यान उठाऊ, र हिँड।”

[9] तुरुन्तै त्यो मानिस निको भयो, अनि आफ्नो ओछ्यान उठाएर हिँड्यो। यो घटना भएको दिन विश्रामदिन थियो,

[10] त्यसकारण यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “आज विश्रामदिन हो, व्यवस्थाले तिमीलाई ओछ्यान बोक्न समेत निषेध गरेको छ।”

[11] तर त्यसले जवाफ दियो, “मलाई निको पार्नुहुने व्यक्‍तिले नै मलाई भन्‍नुभयो, ‘आफ्नो ओछ्यान उठाऊ, र हिँड।’ ”

[12] तिनीहरूले त्यसलाई सोधे, “तिमीलाई यो उठाएर हिँड भन्‍ने त्यो मानिस को हो?”

[13] निको भएको मानिसलाई उहाँ को हुनुहुन्थ्यो भन्‍ने बारेमा केही थाहा थिएन; किनकि येशू त्यहाँ भएको भीडभित्र पसिसक्नुभएको थियो।

[14] त्यसपछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाएर भन्‍नुभयो, “हेर, तिमी निको भएका छौ। पाप गर्न छोड, नत्र तिमीमाथि अझ नराम्रो अवस्था आउनसक्छ।”

[15] त्यो मानिस गयो, र त्यसलाई निको पार्ने व्यक्‍ति ता येशू हुनुहुँदोरहेछ भनी यहूदी अगुवाहरूलाई भनिदियो।

[16] त्यसकारण येशूले यी कामहरू विश्रामदिनमा गर्नुभएको हुनाले यहूदी अगुवाहरूले उहाँको खेदो गर्न लागे।

[17] येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरा पिताले आजको दिनसम्म काम गरिरहनुभएको छ, र म पनि काम गरिरहनेछु।”

[18] यसकारणले गर्दा तिनीहरूले उहाँलाई मार्न झन् धेरै प्रयत्‍न गर्न लागे; किनकि उहाँले केवल विश्रामदिनलाई मात्र भङ्ग गर्नुभएको थिएन, तर आफूलाई परमेश्‍वरको बराबरी तुल्याएर उहाँले परमेश्‍वरलाई पनि आफ्नै पिता भन्‍नुभएको थियो।

[19] येशूले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म तिमीहरूलाई साँच्‍चै भन्दछु, पुत्र आफूले केही गर्न सक्दैनन्, उनले ता पिताले जे गरिरहनुभएको देख्छन्, त्यही मात्र गर्नुहुन्छ, किनकि पिताले जे गर्नुहुन्छ, पुत्रले पनि त्यही गर्नुहुन्छ।

[20] किनकि पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँले जे गर्नुहुन्छ, त्यो सबै पुत्रलाई देखाउनुहुन्छ। तिमीहरूका आश्‍चर्यका निम्ति उहाँले पुत्रलाई यीभन्दा पनि अझै ठूला-ठूला कुराहरू देखाउनुहुनेछ।

[21] किनकि जसरी पिताले मरेकाहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्छन् त्यसलाई जीवन दिन्छन्।

[22] यसबाहेक पिताले कसैको न्याय गर्नुहुन्‍न, तर न्यायको सम्पूर्ण काम उहाँले पुत्रलाई सुम्पनुभएको छ,

[23] ताकि पितालाई आदर गरेझैं तिनीहरू सबैले पुत्रलाई पनि आदर गरून्। जसले पुत्रलाई आदर गर्दैन, त्यसले पुत्रलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन।

[24] “म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्‍वास गर्छ, त्यससित अनन्त जीवन छ, र त्यो दोषी ठहराइने छैन, तर त्यो मृत्युबाट जीवनमा प्रवेश गरिसकेको हुन्छ।

[25] म तिमीहरूलाई साँच्‍चै भन्दछु, एउटा समय आइरहेको छ, र त्यो अहिले नै आइसकेको छ, जब मरेकाहरूले परमेश्‍वरका पुत्रको स्वर सुन्‍नेछन्; र जसले सुन्छन्, तिनीहरू बाँच्नेछन्।

[26] किनकि जसरी पिता आफैमा जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि आफैमा जीवन हुने अधिकार दिनुभएको छ।

[27] अनि उहाँले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ; किनकि ऊ मानिसका पुत्र हो।

[28] “यस कुरामा आश्‍चर्य नमान; किनकि समय आइरहेको छ, जब चिहानमा हुनेहरू सबैले उनको स्वर सुन्‍नेछन्,

[29] र बाहिर निस्किआउनेछन्, जसले असल काम गरेका छन्, तिनीहरू अनन्तसम्म जिउनलाई र जसले कुकर्म गरेका छन्, तिनीहरू अनन्तसम्म दण्ड पाउनलाई जीवित हुनेछन्।

[30] म आफै ता केही गर्न सक्दिनँ,” मैले जस्तो सुन्दछु, त्यसैअनुसार न्याय गर्दछु, अनि मेरो न्याय उचित छ; किनकि म आफ्नो इच्छा होइन, तर मलाई पठाउनुहुनेको इच्छा खोज्दछु।

[31] “यदि मैले आफ्नै विषयमा गवाही दिएँ भने मेरो साक्षी साँचो हुँदैन।

[32] मेरो पक्षमा गवाही दिने अर्को एकजना हुनुहुन्छ, अनि म जान्दछु, मेरो विषयमा उहाँले दिनुहुने गवाही सत्य ठहर्छ।

[33] “तिमीहरूले यूहन्‍नाकहाँ सोध्न पठायौ, र तिनले सत्यताको गवाही दिएका छन्।

[34] मैले मानिसको गवाही ग्रहण गर्छु भनेर ता होइन, तर तिमीहरूले उद्धार पाउन सक भनेर मैले यो कुरा भनेको हुँ।

[35] यूहन्‍ना बलिरहने र ज्योति दिइरहने बत्ती थिए, अनि तिमीहरू केही समय तिनको प्रकाशमा रमाउन खोज्यौ।

[36] “मसँग यूहन्‍नाको भन्दा ठूलो गवाही छ; किनकि पिताले मलाई पूरा गर्न भनी दिनुभएको काम, जो मैले गरिरहेको छु, त्यही कामले नै पिताले मलाई पठाउनुभएको हो भनी गवाही दिन्छन्।

[37] अनि पिता जसले मलाई पठाउनुभयो, उहाँ आफैले मेरो विषयमा साक्षी दिनुभएको छ। तिमीहरूले कहिल्यै पनि उहाँको स्वर सुनेका छैनौ, न उहाँको रूप देखेका छौ,

[38] न ता उहाँको वचन तिमीहरूमा रहन्छ; किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गर्दैनौ।

[39] तिमीहरू लगनशील भई धर्मशास्त्रमा खोजी गर्दछौ; किनकि तिमीहरूले त्यसद्वारा तिमीहरूलाई अनन्त जीवन मिल्छ भनी विचार गर्दछौ। ती धर्मशास्त्रहरूले नै मेरो विषयमा गवाही दिन्छन्,

[40] तर पनि जीवन प्राप्‍त गर्न मकहाँ आउन तिमीहरू अस्वीकार गर्छौ।

[41] “म मानिसहरूबाट प्रशंसा ग्रहण गर्दिनँ,”

[42] तर म तिमीहरूलाई चिन्दछु। तिमीहरूको हृदयमा परमेश्‍वरको प्रेम छैन भनी म जान्दछु।

[43] म मेरा पिताको नाउँमा आएको छु, तर तिमीहरू मलाई ग्रहण गर्दैनौ; तर अर्को कोही उसको आफ्नै नाउँमा आयो भने, तिमीहरूले त्यसलाई ग्रहण गर्छौ।

[44] यदि तिमीहरूले एका-अर्काबाट प्रशंसा ग्रहण गर्छौ, तर एक मात्र परमेश्‍वरबाट आउने प्रशंसा प्राप्‍त गर्न केही वास्ता नै गर्दैनौ भने तिमीहरूले कसरी विश्‍वास गर्न सक्छौ र?

[45] “तर तिमीहरूलाई पिताको अघि मैले दोष्याउनेछु भनी नसम्झ। तिमीहरूलाई दोष्याउने ता मोशा हुन्, जसमाथि तिमीहरूको आशा रहेको छ।

[46] यदि तिमीहरूले मोशालाई विश्‍वास गरेका भए, तिमीहरूले मलाई पनि विश्‍वास गर्नेथियौ; किनकि तिनले मेरो विषयमा लेखेका थिए।

[47] तर उनले लेखेको कुरामा विश्‍वास नगरेपछि मैले भनेको कुराहरू तिमीहरूले कसरी विश्‍वास गर्छौ र?”

यूहन्‍ना — Chapters