[1] त्यसपछि पिलातसले येशूलाई कोर्राले हान्न लगाए।
[2] अनि सिपाहीहरूले काँडाहरू बटारेर एउटा मुकुट बनाएर उहाँको शिरमा लगाइदिए। तिनीहरूले उहाँलाई बैजनी लुगा पहिर्याइदिए,
[3] र घरी-घरी येशूकहाँ आएर “यहूदीहरूका राजाको जय!” भने। अनि तिनीहरूले येशूलाई मुखमा हिर्काए।
[4] फेरि एकपल्ट बाहिर निस्केर पिलातसले यहूदीहरूलाई भने, “हेर! म यसलाई अब तिमीहरूका सामु बाहिर ल्याउँदैछु, ताकि तिमीहरूलाई यो स्पष्ट थाहा होस्, यस मानिसमा मैले कुनै दोष पाइनँ।”
[5] जब येशू काँडाको मुकुट र बैजनी लुगा लगाएर बाहिर आउनुभयो, तब पिलातसले भने, “हेर! मान्छे त्यहीं छ!”
[6] उहाँलाई देख्नेबित्तिकै मुख्य पूजाहारीहरू र हाकिमहरू यसरी चिच्याउन थाले, “त्यसलाई क्रूसमा टाँग्नुहोस्! क्रूसमा टाँग्नुहोस्!” तर पिलातसले भने, “तिमीहरूले नै यिनलाई क्रूसमा टाँग, किनकि म ता यिनलाई दोष लगाउने कुनै आधार पाउँदिनँ।”
[7] यहूदीहरूले तिनलाई जिद्दी गर्दै भने, “हाम्रो आफ्नै व्यवस्था छ, र त्यस व्यवस्थाअनुसार यो मानिस मर्नैपर्छ; किनकि यसले आफूलाई परमेश्वरको पुत्र भनेर दाबी गरेको छ।”
[8] जब पिलातसले यो सुने, तिनी झन् धेरै डराए।
[9] तिनले फेरि येशूलाई महलभित्र लगे, र उहाँलाई सोधे, “तिमी कहाँबाट आएका हौ?” तर येशूले केही जवाफ दिनुभएन।
[10] पिलातसले सोधे, “के तिमी मलाई उत्तर दिँदैनौ? तिमीलाई छोडिदिने अथवा क्रूसमा टाँग्ने अधिकार मसित छ भनी के तिमी जान्दैनौ?”
[11] तब येशूले भन्नुभयो, “यदि माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुनेथिएन; त्यसकारण मलाई तपाईंकहाँ ल्याउने व्यक्ति अझ बढ्ता पापको दोषी छ।”
[12] यो सुनेर पिलातसले येशूलाई छोडिदिने कोसिस गरे, तर यहूदीहरूले चिच्याउँदै भने, “तपाईंले यस मान्छेलाई छोडिदिनुभयो भने तपाईं सिजरको मित्र हुनुहुन्न। आफूलाई राजा घोषणा गर्ने जो पनि सिजरको विरोधी हुन्छ।”
[13] यो कुरा सुनेर, पिलातसले फेरि येशूलाई बाहिर तिनीहरूका अघि ल्याए र आफूचाहिँ ढुङ्गाको पाटी हिब्रू भाषामा “गब्बथा” भनिने न्याय आसनमाथि बसे।
[14] यतिबेला निस्तार चाडको तयारी गर्ने दिनको मध्यान्ह भएको थियो। अनि पिलातसले यहूदीहरूलाई भने, “लौ हेर! तिमीहरूको राजा।”
[15] तर तिनीहरूले चिच्याउँदै भने, “त्यसलाई लैजानुहोस्! त्यसलाई लैजानुहोस्! क्रूसमा टाँग्नुहोस्!” पिलातसले सोधे, “के तिमीहरूका राजालाई मैले क्रूसमा टाँगूँ?” मुख्य पूजाहारीहरूले चिच्याएर जवाफ दिए, “सिजरबाहेक हाम्रो अरू कुनै राजा छैन।”
[16] आखिरमा पिलातसले येशूलाई क्रूसमा टाँग्नलाई तिनीहरूका हातमा सुम्पिदिए। त्यसपछि सिपाहीहरूले येशूको जिम्मा लिए।
[17] येशू आफ्नो क्रूस आफैले बोकेर खप्परे भनिने ठाउँमा (आरामाईक भाषामा गलगथा भनिन्छ) पुग्नुभयो।
[18] त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, अनि अरू दुईजनालाई पनि उहाँसँगै, एकजनालाई दायाँ र अर्कोलाई बायाँ अनि येशूलाई बीचमा टाँगे।
[19] अनि यसो भनेर लेखिएको दोषपत्र पिलातसले उहाँको शिरमाथि क्रूसमा टाँसिदिए: “नासरतका येशू, यहूदीहरूका राजा।”
[20] धेरै यहूदीहरूले त्यो पढे, किनकि येशूलाई क्रूसमा टँगाइएको ठाउँ शहरको नजिक थियो; अनि सो दोषपत्र आरामाईक, ल्याटिन र ग्रीक भाषामा लेखिएको थियो।
[21] यहूदीहरूका मुख्य पूजाहारीहरूले आपत्ति जनाउँदै पिलातसलाई भने, “ ‘यहूदीहरूको राजा’ होइन, तर यसले आफूलाई ‘म यहूदीहरूको राजा हुँ’ भन्थ्यो भनी लेखिदिनुहोस्।”
[22] तर पिलातसले जवाफ दिए, “मैले जे लेखें, सो लेखें।”
[23] येशूलाई क्रूसमा टाँगेपछि सिपाहीहरूले उहाँको लुगालाई चार भाग लगाए; र तिनीहरूले आफू आफूमा त्यो भाग लगाए, अनि तिनीहरूले उहाँको ओढ्ने पनि लिए। त्यो नसिलाएको, तर सिङ्गै बुनिएको थियो।
[24] तिनीहरूले आपसमा सल्लाह गरे, “यो ओढ्नेचाहिँ नच्यातौं, तर यो कसको भागमा पर्ने हो, चिट्ठा हालेर हेरौं।” धर्मशास्त्रमा लेखिएको कुरा यसरी पूरा भयो। “तिनीहरूले मेरो वस्त्रहरू आपसमा बाँडे र मेरो ओढ्नेमा चाहिँ चिट्ठा हाले।” यसकारण सिपाहीहरूले त्यसै गरे।
[25] येशूको क्रूसको नजिकै उहाँकी आमा मरियम, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्नी मरियम र मरियम मग्दलिनी उभिरहेका थिए।
[26] जब येशूले त्यहाँ आफ्नो आमालाई र उहाँले धेरै प्रेम गर्नुहुने चेलालाई नजिकैमा उभिरहेको देख्नुभयो, तब उहाँले आफ्नी आमालाई भन्नुभयो, “हे नारी! हेर, तिम्रो छोरो!”
[27] अनि चेलालाई उहाँले भन्नुभयो, “हेर, तिम्री आमा।” त्यस दिनदेखि त्यस चेलाले येशूकी आमालाई आफ्नै घरमा लगे।
[28] अब सबै कुरा सिद्धियो भनी जानेर धर्मशास्त्रमा लेखिएको कुरा पूरा होस् भनेर येशूले भन्नुभयो, “मलाई तिर्खा लाग्यो।”
[29] छेवैमा एउटा सिर्काको घैंटो थियो, एउटा स्पन्ज त्यसमा डुबाई हिसपको डाँठमा अड्काएर तिनीहरूले उहाँको ओठमा पुर्याइदिए।
[30] सिर्का लिनुभएपछि येशूले यसो भन्नुभयो, “अब पूरा भयो।” त्यसपछि उहाँले शिर निहुर्याउनुभयो र प्राण त्याग्नुभयो।
[31] त्यो दिन तयारीको दिन थियो, अनि भोलिपल्ट विशेष विश्रामदिन थियो। यहूदीहरूले विश्रामदिनमा शवहरू क्रूसमा रहेको चाहँदैनथिए, त्यसकारण तिनीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर लास झार्न लगाउन विन्ती गरे।
[32] सिपाहीहरू आएर येशूसँगै क्रूसमा टाँगिएका अरू दुई मान्छेहरूको खुट्टा भाँचिदिए।
[33] तर सिपाहीहरू येशूकहाँ आउँदा तिनीहरूले उहाँलाई अघि नै मरिसक्नुभएको भेट्टाए। यसकारण उहाँको खुट्टा तिनीहरूले भाँचेनन्।
[34] तैपनि एकजना सिपाहीले चाहिँ भालाले उहाँको कोखामा घोच्यो, र त्यहाँबाट रगत र पानी निस्क्यो।
[35] यो देख्ने मान्छेले आफ्नो साक्षी दिएको छ, अनि उसको साक्षी सत्य छ। साँच्चै बोल्दछु भनी उसले जानेकोले तिमीहरूले पनि विश्वास गर्न सक भनेर आफ्नो साक्षी उसले यसरी दिएको हो।
[36] “उहाँको एउटै हड्डी पनि भाँचिनेछैन” भन्ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यो कुरा हुन आएको हो।
[37] अनि फेरि अर्को ठाउँमा धर्मशास्त्रले भन्दछ, “जसले उहाँलाई घोचेका थिए, तिनीहरूले उहाँलाई हेर्नेछन्।”
[38] त्यसपछि अरिमथियाका योसेफले पिलातसकहाँ गएर उहाँको मृत शरीरलाई लैजाने अनुमति मागे। योसेफ येशूका चेला थिए, तर यो कुरा गोप्य थियो, किनकि उनी यहूदी अगुवाहरूदेखि डराउँथे। पिलातसको अनुमति लिएर तिनी आएर उहाँको मृत शरीर लगे।
[39] येशूकहाँ राती आउने मानिस, निकोदेमस पनि उनीसित साथमा थिए। निकोदेमसले चौंतीस किलो जति मूर्र र एलवाले बनिएको सुगन्धित मिश्रण ल्याए।
[40] ती दुईले येशूको शवलाई त्यो सुगन्धित मिश्रणमा राखेर लामो मलमलको कपडाले बेह्रे। यहूदीहरूको शव गाड्ने संस्कार यस्तै थियो।
[41] येशूलाई क्रूसमा टँगाइनुभएको ठाउँ नजिकै एउटा बगैँचा थियो, अनि त्यो बगैँचामा एउटा नयाँ चिहान थियो, जसमा कहिल्यै कसैलाई राखिएको थिएन।
[42] यहूदीहरूको तयारीको दिन भएकोले र त्यो चिहान नजिकै भएकोले तिनीहरूले येशूको मृत शरीरलाई त्यही चिहानमा राखे।