Skip to content
Opens in a new window
Listen to this chapter • 8:51

[1] लाजरस नाउँ गरेका एकजना मानिस बिरामी थिए। उनी मरियम र तिनकी दिदी मार्थाको गाउँ बेथानीका थिए।

[2] यी तिनै मरियम हुन्, जसका भाइ लाजरस बिरामी परेका थिए; तिनैले येशूका पाउमा अत्तर खन्याएर आफ्नो कपालले पुछिदिएकी थिइन्।

[3] यसकारण ती दुई दिदी बहिनीले येशूकहाँ यसो भन्‍ने खबर पठाए, “प्रभु, तपाईंले माया गर्नुहुने व्यक्‍ति बिरामी छन्।”

[4] यो खबर सुनेर येशूले भन्‍नुभयो, “यो बिरामीले मृत्युमा पुर्‍याउँदैन, तर परमेश्‍वरको महिमाका लागि होस् भनेर यो भएको हो, अनि यसद्वारा परमेश्‍वरको पुत्रले पनि महिमा पाउनेछ।”

[5] येशूले मार्था, तिनकी बहिनी र लाजरसलाई औधी नै प्रेम गर्नुहुन्थ्यो।

[6] लाजरस बिरामी छन् भनी सुन्‍नुभए तापनि उहाँ जहाँ हुनुहुन्थ्यो, त्यहीं ठाउँमा अझै दुई दिन बस्‍नुभयो।

[7] त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “अब हामी यहूदियामा फर्केर जाऔं।”

[8] तर उहाँका चेलाहरूले भने, “गुरुज्यू, केही दिन अघि मात्र यहूदियाका यहूदी अगुवाहरूले तपाईंलाई ढुङ्गाले हान्‍न खोजेका थिए, अनि तपाईं फेरि त्यहीं जान चाहनुहुन्छ?”

[9] येशूले भन्‍नुभयो, “दिनमा बाह्र घण्टा उज्यालो हुँदैनन् र? दिनको उज्यालोमा हिँड्‍डुल गर्ने मानिसले ठेस खाँदैन, किनकि त्यसले संसारको ज्योतिद्वारा देख्छ।

[10] तर राती हिँड्दा त्यसले ठेस खान्छ, किनकि त्यसले ज्योति पाउँदैन।”

[11] त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हाम्रा मित्र लाजरस सुतेका छन्, र अब म गएर तिनलाई उठाउनेछु।”

[12] उहाँका चेलाहरूले भने, “प्रभु, तिनी निदाएका मात्र छन् भने निको हुनेछन्।”

[13] येशूले चाहिँ लाजरसको मृत्युको विषयमा भन्‍नुभएको थियो, तर उहाँका चेलाहरूले भने उनी सुतेकै छन् भनी ठानेका थिए।

[14] त्यसपछि येशूले तिनीहरूलाई स्पष्‍टसँग भनिदिनुभयो, “लाजरस मरेका छन्।

[15] अनि तिमीहरूका निम्ति म त्यहाँ नभएको पनि राम्रै भयो; किनकि यसले तिमीहरूलाई ममाथि विश्‍वास गर्ने तुल्याउनेछ। अब हामी लाजरस भएका ठाउँमा जाऔं।”

[16] अनि थोमा, जसको दिदुमस भनेर बोलाउने नाउँ थियो, उनले अरू चेलाहरूलाई भने, “हामी पनि जाऔं र उहाँसँगै मरौं।”

[17] येशू आइपुग्नुहुँदा लाजरस मरेर चिहानमा राखेको पनि चार दिन भइसक्यो भनेर उहाँले थाहा पाउनुभयो।

[18] यरूशलेमदेखि बेथानी लगभग तीन किलोमिटर टाढा थियो।

[19] धेरै यहूदीहरू, मार्था र मरियमलाई तिनीहरूका भाइको मृत्युमा सान्त्वना दिन त्यहाँ आएका थिए।

[20] येशू आउँदै हुनुहुन्छ भन्‍ने सुनेर मार्था उहाँलाई भेट्न गइन्। तर मरियमचाहिँ घरमै बसिन्।

[21] मार्थाले येशूलाई भनिन्, “प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्नेथिएन।

[22] हुन त अहिले पनि तपाईंले परमेश्‍वरसँग जेसुकै विन्ती गर्नुभयो भने पनि उहाँले दिनुहुन्छ भनी म जान्दछु।”

[23] येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो भाइ फेरि जीवित हुनेछ।”

[24] मार्थाले भनिन्, “म जान्दछु, अन्तिम दिनमा मरेकाहरू पुनर्जीवित हुँदा ऊ पनि जीवित पारिनेछ।”

[25] येशूले तिनलाई भन्‍नुभयो, “जीवित पार्ने र जीवन दिने म नै हुँ। ममाथि विश्‍वास गर्ने मर्‍यो भने पनि ऊ जीवित हुनेछ।

[26] जो ममाथि विश्‍वास गरेर बाँच्दछ, ऊ कहिल्यै मर्नेछैन; मार्था, के तिमी यो विश्‍वास गर्छ्यौ?”

[27] “निश्‍चय गर्छु, गुरुज्यू,” तिनले भनिन्, “यस संसारमा आउने परमेश्‍वरको पुत्र, ख्रीष्‍ट तपाईं नै हुनुहुन्छ भनी म विश्‍वास गर्छु।”

[28] अनि यति भनेर मार्था फर्केर गइन्, र मरियमलाई अलग्गै बोलाएर भनिन्, “गुरुज्यू आउनुभएको छ, र तिमीलाई भेट्न चाहनुहुन्छ।”

[29] यो सुनेर मरियम तुरुन्तै उठिन् र येशूकहाँ गइन्।

[30] येशू अझै पनि गाउँमा पसिसक्नुभएको थिएन। उहाँ मार्थासँग भेट भएको ठाउँमा नै हुनुहुन्थ्यो।

[31] मरियम झट्टै उठेर गएको देखेपछि तिनलाई सान्त्वना दिन आएका यहूदीहरूले तिनी लाजरसको चिहानमा रुन गएकी होलिन् भनी ठानेर तिनीहरू मरियमको पछि लागे।

[32] जब येशू हुनुभएको ठाउँमा मरियम आइपुगिन्, तब उहाँलाई देखेपछि पाउमा परेर भनिन्, “प्रभु, तपाईं यहाँ हुनुभएको भए, मेरो भाइ मर्नेथिएन।”

[33] मरियम रोइरहेकी र तिनीसँगै आएका अरू यहूदीहरूलाई पनि मरियमसँग रोइरहेका देख्नुभएर येशू आत्मामा दुःखित र अति विचलित हुनुभयो।

[34] “लाजरसलाई तिमीहरूले कहाँ राखेका छौ?” उहाँले तिनीहरूलाई सोध्नुभयो। तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, आएर हेर्नुहोस्।”

[35] येशू रुनुभयो।

[36] यो देखेर यहूदीहरूले भने, “हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्थ्यो!”

[37] तर कतिले भने, “दृष्‍टिविहीनलाई दृष्‍टि दिने यी मानिसले लाजरसलाई मर्नबाट बचाउन सक्ने थिएनन् र?”

[38] येशू फेरि दुःखित भएर चिहानसम्म जानुभयो। यो चिहान ओडारमा थियो, अनि यसको मुखमा ठूलो ढुङ्गा राखिएको थियो।

[39] येशूले तिनीहरूलाई भन्‍नुभयो, “ढुङ्गो हटाइदेओ।” मर्नेकी दिदी मार्थाले भनिन्, “तर प्रभु, यस बेलासम्म लास पनि गन्हाउन थाल्यो होला; किनकि उनी त्यहाँ रहेको चार दिन भइसक्यो।”

[40] येशूले भन्‍नुभयो, “विश्‍वास गर्‍यौ भने तिमीले परमेश्‍वरको महिमा देख्नेछौ भनी मैले तिमीलाई भनेको थिइनँ र?”

[41] त्यसकारण तिनीहरूले ढुङ्गा एकातिर हटाइदिए। त्यसपछि येशूले स्वर्गतिर हेरेर भन्‍नुभयो, “पिता! मेरो विन्ती सुनिदिनुभएको लागि धन्यवाद।

[42] तपाईंले मेरो कुरा सधैं सुन्‍नुहुन्छ भनी मलाई थाहा थियो; तर मलाई तपाईंले नै पठाउनुभएको हो भनी यिनीहरूले विश्‍वास गरून् भनेर यी वरिपरि उभिरहेका मानिसहरूका कारण मैले यसो भनेको हुँ।”

[43] यो कुरा भन्‍नुभएपछि येशू चर्को सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्केर आऊ!”

[44] अनि मरिसकेका लाजरस हात र खुट्टा कात्रोले बेह्रिएकै र अनुहारमा लुगाले छोपिएकै अवस्थामा बाहिर निस्के। येशूले तिनीहरूलाई भन्‍नुभयो, “कात्रो फुकालिदेओ, र उनलाई जान देओ।”

[45] मरियमलाई भेट्न आएका धेरै यहूदीहरू, जसले येशूले गर्नुभएको यो आश्‍चर्य कर्म देखे, तिनीहरूले उहाँमाथि विश्‍वास गरे।

[46] कति जनाचाहिँ फरिसीहरूकहाँ गएर येशूले गर्नुभएको कुरा तिनीहरूलाई सुनाइदिए।

[47] त्यसपछि मुख्य पूजाहारीहरू र फरिसीहरूले एउटा महासभा बोलाए। “हामीले अब के गरौं?” तिनीहरूले आपसमा प्रश्न गरे, “यस मानिसले त साँच्‍चै अलौकिक चिन्हहरू गरेर देखाउँदैछ।

[48] अब हामीले यसलाई त्यसै छोडिदियौं भने ता सबै मानिसले यसमाथि विश्‍वास गर्नेछन्, र रोमीहरू हामीमाथि आइलाग्नेछन् र हाम्रो पवित्रस्थान र जातिलाई कब्जा गर्नेछन्।”

[49] अनि तिनीहरूमध्ये त्यस वर्षको प्रधान पूजाहारी कैयाफाले भने, “तिमीहरूलाई केही पनि थाहा छैन!

[50] मानिसहरूका निम्ति सम्पूर्ण जाति नाश हुनुभन्दा यो एउटा मानिस मर्नु नै असल हुन्छ भनी तिमीहरू महसुस गर्दैनौ?”

[51] कैयाफा आफूले सोचेर यसो भनेका थिएनन्, तर उनी प्रधान पूजाहारी भएको हुनाले येशू सम्पूर्ण यहूदी राष्ट्रका निम्ति मर्नुपर्छ भन्‍ने अगमवाणी तिनको मुखबाट निस्केको थियो,

[52] र त्यस राष्ट्रका लागि मात्र होइन, तर संसारभरि छरिएर बसेका परमेश्‍वरका सन्तानका निम्ति तिनीहरूलाई जम्मा गर्न र एउटै बनाउनलाई येशू मर्नुहुनेछ भन्‍ने यो भविष्यवाणी भएको थियो।

[53] यसकारण त्यही समयदेखि तिनीहरूले येशूलाई मार्ने षड्यन्त्र रच्न थाले।

[54] त्यसकारण येशू यहूदीहरूका बीचमा खुल्‍लमखुल्‍ला हिँड्नुभएन। उहाँ उजाडस्थानको छेउमा भएको एफ्राइम गाउँ जानुभयो र त्यहाँ आफ्ना चेलाहरूसँग बस्‍नुभयो।

[55] यहूदीहरूको निस्तार चाड नजिकै थियो। निस्तार चाड सुरु हुनुअघि शुद्धी-संस्कार पालन गर्न भनेर गाउँ-बस्तीबाट धेरै मानिसहरू यरूशलेम आएका थिए।

[56] तिनीहरू सबैले येशूलाई खोजिरहे, र मन्दिरमा उभिरहेका बेला तिनीहरूले आपसमा यसरी सोधा-सोध गरे, “तिम्रो के विचार छ? उहाँ निस्तार चाडको लागि आउनुहुन्‍न होला र?”

[57] तर मुख्य पूजाहारीहरू र फरिसीहरूले चाहिँ येशूलाई पक्रन सकियोस् भनेर, यदि कसैले येशूलाई देख्यो भने, त्यसले तिनीहरूलाई खबर गर्नू भन्‍ने आज्ञा दिएका थिए।

यूहन्‍ना — Chapters