Skip to content
Opens in a new window
Listen to this chapter • 5:09

[1] के म स्वतन्त्र छैनँ? के म प्रेरित होइनँ? के मैले हाम्रा प्रभु येशूलाई देखेको छैनँ? के तिमीहरू प्रभुमा मेरो कामको फल होइनौ र?

[2] म अरूको निम्ति प्रेरित नहूँला, निश्‍चय नै तिमीहरूको लागि त हुँ! किनकि प्रभुमा मेरो प्रेरितीयपनको छाप त तिमीहरू नै हौ।

[3] जसले मेरो बारेमा आलोचना गर्दछन्, उनीहरूलाई प्रतिवादमा मेरो भन्‍नु यही छः

[4] के हामीलाई खाने र पिउने अधिकार छैन र?

[5] के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले जस्तै हामीलाई पनि आफूसँगै विश्‍वासी पत्नीलाई लिएर हिँड्ने अधिकार छैन र?

[6] अथवा के म र बारनाबासले मात्र जिउनलाई काम गर्नुपर्ने?

[7] कसले उसको आफ्नै खर्चमा सिपाही भएर काम गर्छ र? कसले दाखबारी लगाएर त्यसको फलबाट खाँदैन र? कसले भेडाको बथान पालेर त्यसको दूधबाट पिउँदैन र?

[8] के मैले यो साधारण मानव दृष्‍टिकोणले मात्र भनेको हुँ र? के व्यवस्थाले पनि यही कुरा भन्दैन र?

[9] किनकि मोशाको व्यवस्थामा यसरी लेखिएको छ: “दाइँ गर्ने गोरुको मुखमा मोहोलो नलगाउनू।” के गोरुहरूको बारेमा मात्र परमेश्‍वरले वास्ता राख्नुहुन्छ?

[10] निश्‍चय नै उहाँले यो हाम्रो निम्ति भन्‍नुभएको होइन र? हो, यो हाम्रो निम्ति नै लेखिएको थियो; किनकि जोत्ने र दाइँ गर्नेले फसलको हिस्सा पाउने आशामा नै जोत्छन् र दाइँ गर्दछन्।

[11] यदि हामीले तिमीहरूका बीचमा आत्मिक बीउ छरेका छौं भने, के तिमीहरूबाट भौतिक थोकको कटनीको आशा गर्नु अति हुन्छ र?

[12] यदि तिमीहरूबाट अरूले भौतिक सहयोग पाउने अधिकार छ भने, के हामीलाई तिमीहरूबाट त्योभन्दा बढी भौतिक सहयोग पाउने अधिकार छैन र? तरै पनि हामीले यस अधिकारको प्रयोग गरेका छैनौं। बरु ख्रीष्‍टको सुसमाचार प्रचारमा बाधा नपुगोस् भनेर हामीले सबै कुरा सहेका छौं।

[13] के तिमीहरूलाई थाहा छैन, मन्दिरमा काम गर्नेहरूले मन्दिरबाटै भोजन पाउँछन् र वेदीमा काम गर्नेहरूले वेदीमा चढाएका चीजहरूबाट हिस्सा लिन्छन्?

[14] यसै प्रकारले, सुसमाचार प्रचार गर्नेले आफ्नो जीविका सुसमाचारबाटै चलाओस् भनी परमेश्‍वरले आज्ञा गर्नुभएको छ।

[15] तर मैले यी कुनै अधिकारहरू प्रयोग गरेको छैनँ। अनि यी सबै कुराहरू तिमीहरूले मेरो लागि यसरी नै गर भन्‍ने आशाले मैले यो लेखेको पनि होइनँ। किनकि मेरो गर्व गर्ने कारण कसैलाई खोस्‍ने अनुमति दिनुभन्दा त म बरु मर्न रुचाउँछु।

[16] किनकि जब म सुसमाचार सुनाउँछु, मैले घमण्ड गर्ने ठाउँ छैन, किनभने म प्रचार गर्न बाध्य छु। मलाई धिक्‍कार छ! यदि मैले सुसमाचार प्रचार गरिनँ भने!

[17] यदि मैले स्वेच्छापूर्वक प्रचार गरें भने मेरो निम्ति इनाम छ; यदि मैले स्वेच्छापूर्वक प्रचार गरिनँ भने मैले ममाथि दिइएको जिम्मेवारी मात्र गरिरहेको हुन्छु।

[18] त्यसो भए मेरो इनाम के हो त? यही हो, कि मैले सुसमाचार प्रचार गर्दा सुसमाचारलाई सित्तैंमा प्रचार गर्न सकूँ र सुसमाचार प्रचारकको रूपमा मैले पूर्ण अधिकार प्रयोग गर्नु नपरोस्।

[19] म कुनै मानिसको अधीनमा नभई सबैबाट स्वतन्त्र भए तापनि जति सक्दो धेरैलाई जितूँ भनेर मैले आफूलाई हरेक व्यक्‍तिको सेवक तुल्याएको छु।

[20] यहूदीहरूलाई जित्न म यहूदीझैं भइदिएँ, व्यवस्थाको अधीनमा रहेकाहरूलाई जित्नलाई म व्यवस्थाको अधीनमा रहेकाहरूझैं भइदिएँ।

[21] व्यवस्थाका अधीनमा नभएकाहरूलाई जित्न सकूँ भनेर म व्यवस्थाको अधीनमा नरहेको झैं भइदिएँ। यद्यपि म परमेश्‍वरको व्यवस्थाबाट स्वतन्त्र छैनँ, तर ख्रीष्‍टको व्यवस्थाको अधीनमा छु, कि तिनीहरूलाई जित्न सकूँ, जो व्यवस्थाको अधीनमा छैनन्।

[22] कमजोरहरूलाई जित्न सकूँ भनेर म कमजोरहरूका लागि कमजोर भइदिएँ। म सबैको निम्ति सबै भइदिएँ, ताकि हर प्रयासद्वारा कसै न कसैलाई बचाउन सकूँ।

[23] सुसमाचारको खातिर मैले यी सबै कुरा गरें, ताकि म यस सुसमाचारको आशिषमा सहभागी बनूँ।

[24] के तिमीहरू जान्दैनौ दौडमा भाग लिने सबै दौडन्छन्, तर पुरस्कारचाहिँ एउटैले मात्र पाउँछ? त्यसैले पुरस्कार पाउनसक्ने तरिकाले दौड।

[25] हरेक जो खेलमा भाग लिन्छन्, कठोर तालिममा भएर जान्छन्। तिनीहरूले नाश भएर जाने मुकुट पाउनलाई यी सब गर्छन्। तर हामीले त सदा रहिरहने मुकुट पाउनलाई यसो गर्दछौं।

[26] यसकारण म लक्ष्यविना दौडिन्‍नँ; म हावामा मुक्‍का हान्दिनँ।

[27] तर म आफ्नो शरीरलाई अधीनमा राख्छु र यसलाई म आफ्नो सेवक बनाउँछु, ताकि अरूलाई प्रचार गरेपछि म आफैचाहिँ इनाम पाउन अयोग्य नठहरिऊँ।

1 कोरिन्थी — Chapters