Skip to content
Opens in a new window
Listen to this chapter • 2:21

[1] यदि मैले मानिसहरू र स्वर्गदूतहरूका भाषामा बोलें, तर मसँग प्रेम छैन भने म हल्‍ला गर्ने घण्टा अथवा झ्याइँ-झ्याइँ गर्ने झ्याम्टा मात्र हुँ।

[2] यदि मसँग अगमवाणीको वरदान छ, र परमेश्‍वरका रहस्यहरू र ज्ञानहरूको गहिराइ बुझ्न सके तापनि, र मसँग पहाडहरू हटाउनेसम्मको विश्‍वास छ, तर मसँग प्रेम छैन भने म केही पनि होइनँ।

[3] यदि मैले आफ्ना सबै सम्पत्ति गरिबहरूलाई दिएँ, र आफ्नो शरीरसमेत जलाउनलाई दिएँ भने म गर्व गर्न सक्छु, तर मसँग प्रेम छैन भने मेरो लागि केही पनि लाभ हुँदैन।

[4] प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ। प्रेमले डाह गर्दैन, प्रेमले शेखी गर्दैन, प्रेमले घमण्ड गर्दैन।

[5] प्रेमले अरूलाई अनादर गर्दैन, प्रेम स्वार्थी हुँदैन, प्रेमले चाँडै रिस गर्दैन, प्रेमले खराबीको हिसाब राख्दैन।

[6] प्रेम दुष्‍टतामा खुशी हुँदैन, तर सत्यतासँग रमाउँछ।

[7] प्रेमले सधैं रक्षा गर्छ, सधैं भरोसा गर्छ, सधैं आशा राख्छ र सधैं स्थिर रहन्छ।

[8] प्रेमको अन्त कहिल्यै हुँदैन। तर चाहे अगमवाणीहरू होऊन्, ती हटाइनेछन्; चाहे भाषाहरू होऊन्, ती अन्त्य हुनेछन्; चाहे ज्ञान होस्, त्यो हटाइनेछ

[9] किनकि हाम्रो ज्ञान आंशिक र अधूरो छ, अनि हाम्रो अगमवाणी अधूरो हुन्छ।

[10] तर जब पूर्णता आउँछ, आंशिक कुराहरू हटाइनेछन्।

[11] जब म बालक थिएँ, म बालकले जस्तो बोल्थें, म बालकले जस्तो सोच्थें, र बालकले जस्तै तर्क गर्थें। तर जब म जवान भएँ, मैले बालकका जस्ता व्यवहार छोडिदिएँ।

[12] अहिले त हामीले ऐनामा धमिलोसँग देख्छौं, तर त्यस बेला त आमनेसामने देख्नेछौं। अहिले म आंशिक रूपमा जान्दछु, तर त्यस बेला त पूर्ण रूपले जान्‍नेछु, जसरी अहिले मलाई परमेश्‍वरले पूर्ण रूपले जान्‍नुहुन्छ।

[13] अनि अब यी तीन कुराहरू रहन्छन्: विश्‍वास, आशा र प्रेम; तर यी तीनमध्ये प्रेम नै सर्वोत्तम हो।

1 कोरिन्थी — Chapters