Skip to content
Opens in a new window
Listen to this chapter • 5:56

[1] मेरो अनुकरण गर, जसरी म ख्रीष्‍टको अनुकरण गर्दछु।

[2] म तिमीहरूको प्रशंसा गर्दछु; किनकि तिमीहरूले मलाई हरेक कुरामा सम्झन्छौ र मैले तिमीहरूलाई दिएका शिक्षाहरू पालन गर्दछौ।

[3] तर म तिमीहरूले यो कुरा बुझ भनी चाहन्छु, कि हरेक पुरुषको शिर ख्रीष्‍ट हुनुहुन्छ, अनि हरेक स्त्रीको शिर पुरुष हो र ख्रीष्‍टको शिरचाहिँ परमेश्‍वर हुनुहुन्छ।

[4] हरेक पुरुषले आफ्नो शिर ढाकेर प्रार्थना गर्दछ अथवा अगमवाणी गर्दछ भने उसले आफ्नो शिरको अनादर गर्दछ।

[5] तर हरेक स्त्री जसले शिर नढाकीकन प्रार्थना गर्छे अथवा अगमवाणी गर्छे भने उसले आफ्नो शिरको अनादर गर्छे। योचाहिँ उसको केश खौरिएकै समान हुन्छ।

[6] किनकि यदि स्त्रीले आफ्नो शिर ढाक्दिन भने उसले आफ्नो केश काटोस्; तर यदि उसको केश कटाइनु वा खौराइनु उसको लागि शर्मको कुरा हुन्छ भने उसले आफ्नो शिर ढाक्नुपर्छ।

[7] पुरुषले चाहिँ शिर ढाक्नुहुँदैन, किनकि ऊ परमेश्‍वरको प्रतिरूप र गौरव हो; तर स्त्रीचाहिँ पुरुषको गौरव हो।

[8] किनकि पुरुष स्त्रीबाट आएको होइन, तर स्त्रीचाहिँ पुरुषबाट आएकी हो।

[9] न ता पुरुष स्त्रीको निम्ति सृजिएको हो, तर स्त्रीचाहिँ पुरुषको निम्ति सृजिएकी हो।

[10] यसैकारण स्वर्गदूतहरूको खातिर पनि स्त्रीले अधिकारको चिन्हको रूपमा आफ्नो शिर ढाक्नुपर्छ।

[11] तरै पनि प्रभुमा न ता स्त्री पुरुषबाट स्वतन्त्र हुन्छे, न पुरुष स्त्रीबाट स्वतन्त्र हुन्छ।

[12] किनकि जसरी स्त्री पुरुषबाट आएकी हो, त्यसरी नै पुरुष पनि स्त्रीबाट जन्मिन्छ। तर हरेक कुराहरू परमेश्‍वरबाट आउँदछन्।

[13] तिमीहरू आफै विचार गर: के स्त्रीलाई शिर नढाकीकन परमेश्‍वरसँग प्रार्थना गर्न सुहाउँछ र?

[14] यदि मानिसको केश लामो छ भने यो उसको लागि शर्मको कुरा हो, के प्रकृति आफैले पनि तिमीहरूलाई सिकाउँदैन र?

[15] तर यदि स्त्रीको केश लामो छ भने त्यो उसको गौरव हो। किनकि लामो केश उसलाई घुम्टोको रूपमा शिर ढाक्न दिइएको हो।

[16] यदि कसैले यस विषयमा वाद-विवाद गर्न चाहन्छ भने, मेरो निष्कर्ष यही होः हामीसँग यस्तो अभ्यास छैन, न ता परमेश्‍वरको मण्डलीहरूसँग नै छ।

[17] यी तलका आदेशहरू दिँदा म तिमीहरूको प्रशंसा गर्दिनँ, किनकि तिमीहरूका सङ्गतिहरूले असलभन्दा ज्यादा हानि हुन्छ।

[18] पहिलो कुरो त, जब तिमीहरू मण्डलीको रूपमा एकसाथ भेला हुन आउँछौ, तिमीहरूका बीचमा विभाजन छ भनी मैले सुनेको छु, र म यसलाई केही हदसम्म विश्‍वास गर्छु।

[19] वास्तवमा तिमीहरूका बीचमा मतभेद हुनैपर्छ, ताकि तिमीहरूमध्ये स्वीकृत मानिसहरू चिनिन सकियोस्।

[20] यसकारण जब तिमीहरू भेला हुन्छौ, तिमीहरूले प्रभुभोज खाएका हुँदैनौ,

[21] किनकि जब तिमीहरू खान्छौ, तिमीहरू कतिजना अरूलाई नपर्खी तिम्रो आफ्नो व्यक्‍तिगत खाना खान्छौ। परिणाम स्वरूप कोही खान नपाएर भोकै रहन्छ र कोहीचाहिँ धेरै खाएर मात्तिरहेको हुन्छ।

[22] खान र पिउनलाई के तिमीहरूका आफ्नै घर छैनन् र? अर्थात् के तिमीहरूले केही नहुनेहरूको अपमान गरेर परमेश्‍वरको मण्डलीलाई तुच्छ तुल्याउँछौ? म तिमीहरूलाई के भनूँ? के यसको लागि म तिमीहरूको प्रशंसा गरूँ? निश्‍चय नै यो कुरामा गर्दिनँ!

[23] किनकि मैले प्रभुबाट जे पाएँ, त्यो तिमीहरूलाई सुम्पि पनि दिएँ: जुन रात येशूलाई धोका दिइएको थियो, उहाँले रोटी लिनुभयो,

[24] र जब उहाँले धन्यवाद दिनुभयो, उहाँले त्यो भाँच्नुभयो र भन्‍नुभयो, “यो मेरो शरीर हो, जुनचाहिँ तिमीहरूको निम्ति हो; मेरो सम्झनामा यो गर्ने गर।”

[25] त्यसै गरी रोटी खाइसकेपछि उहाँले कचौरा लिएर भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो; जहिले-जहिले तिमीहरू यो पिउँछौ, यो मेरो सम्झनामा गर्ने गर।”

[26] किनकि जहिले-जहिले तिमीहरूले यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, तब प्रभु नआउन्जेल तिमीहरूले उहाँको मृत्युको प्रचार गर्दछौ।

[27] यसकारण जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ र प्रभुको कचौराबाट पिउँछ, त्यो प्रभुको शरीर र रगतको विरुद्ध पापको दोषी हुनेछ।

[28] यसैले हरेकले रोटी खान अघि र कचौराबाट पिउन अघि आफूलाई जाँच गर्नुपर्छ।

[29] किनकि जसले ख्रीष्‍टको शरीरलाई नचिनीकन रोटी खान्छ र कचौराबाट पिउँछ, त्यसले आफ्नो विरुद्ध दण्ड ल्याउँछ।

[30] यसैले तिमीहरूमध्ये धेरैजना कमजोर र रोगी छौ, र तिमीहरूमध्ये कति त सुतिगए।

[31] तर यदि हामीले आफूलाई जाँचेका छौं भने ता हामी त्यस्तो दण्डमा पर्नेछैनौं।

[32] तथापि जब हामी प्रभुद्वारा यसरी न्याय गरिनेछौं, उहाँले हामीलाई अनुशासित गर्नुहुन्छ, ताकि हामी संसारसँग दोषी नठहरिऔं।

[33] यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, जब तिमीहरू खानलाई एकसाथ भेला हुन्छौ, एक-अर्कालाई पर्खेर सबैले एकैसाथ खाने गर।

[34] यदि कोही भोको छ भने उसले घरबाटै केही खाएर आओस्, ताकि जब तिमीहरू एकसाथ भेला हुन्छौ तिमीहरूमाथि दण्ड नपरोस्। अनि जब म तिमीहरू कहाँ आउँछु, तब अरू निर्देशनहरू दिनेछु।

1 कोरिन्थी — Chapters