Skip to content
Opens in a new window
Listen to this chapter • 2:44

[1] वास्तवमा तिमीहरूका बीचमा यौन अनैतिकता छ भन्‍ने खबर छ, यस्तो कुरा त गैरयहूदीहरूले पनि सहँदैनन्: एउटा पुरुषले आफ्नै बुबाको पत्नीसँग अवैध सम्बन्ध राख्छ।

[2] अनि तिमीहरू घमण्ड गर्छौ! तिमीहरूले त यस्तो कुरामा दुःखित हुनुपर्ने र यस्तो गर्ने मानिसलाई तिमीहरूको सङ्गतिबाट निकाली दिनुपर्ने होइन र?

[3] म शरीरमा तिमीहरूका बीचमा उपस्थित नभए तापनि आत्मामा म तिमीहरूसँगै छु। अनि म तिमीहरूसँग उपस्थित भएझैं, यस्तो घिनलाग्दो काम गरिरहेको मानिसलाई मैले प्रभु येशूको नाउँमा अघि नै न्याय गरिसकेको छु।

[4] जब तिमीहरू हाम्रा प्रभु येशूको नाउँमा भेला हुन्छौ, म आत्मामा तिमीहरूसँग हुन्छु र हाम्रा प्रभु येशूको शक्‍तिको उपस्थिति त्यहाँ हुन्छ।

[5] त्यस मानिसलाई शरीरको विनाशको निम्ति शैतानको हातमा सुम्पिदेओ, ताकि प्रभुको दिनमा उसको आत्माचाहिँ बाँचोस्।

[6] तिमीहरूको घमण्ड राम्रो होइन। के तिमीहरूलाई थाहा छैन कि अलिकति खमीरले सबै पीठोको ढिकालाई खमीर बनाइदिन्छ?

[7] पुरानो खमीरलाई फालिदेऊ, ताकि तिमीहरू खमीरविनाको नयाँ मुछेको ढिका बन्‍न सक, जुन वास्तवमा तिमीहरू हौ। किनकि हाम्रो निस्तार चाडको थुमा, ख्रीष्‍टको बलिदान भइसकेको छ।

[8] यसकारण हामी कुकर्म र दुष्‍टतासहितको पुरानो खमीरको रोटीले होइन, तर निष्कपटता र सत्यताको अखमीरी रोटीले चाड मनाऔं।

[9] मेरो पत्रमा तिमीहरूलाई यौन अनैतिक व्यक्‍तिहरूको सङ्गत नगर्नू भनी मैले लेखेको थिएँ,

[10] तर त्यसको अर्थ यस संसारका अनैतिक व्यक्‍तिहरू, लोभीहरू र ठगहरू अथवा मूर्तिपूजकहरूसँग सङ्गत नगर्नू भनेकोचाहिँ होइन। त्यसो भए त तिमीहरूले यो संसारै छोडेर जानुपर्ने हुन्छ।

[11] तर अहिले म तिमीहरूलाई यो लेखिरहेको छु कि तिमीहरूले यस्तो व्यक्‍तिसँग सङ्गत नगर, जो विश्‍वासी भनी दाबी त गर्छ, तर पनि यौन अनैतिक वा लोभी, मूर्तिपूजक वा गाली गर्ने, मतवाला वा ठगी छ। यस्तो व्यक्‍तिसँग खाँदै नखानू।

[12] मण्डली बाहिर रहेकाहरूलाई न्याय गर्नु मलाई के खाँचो छ? तर के तिमीहरूले मण्डली भित्रकाहरूलाई न्याय गर्नुपर्दैन?

[13] परमेश्‍वरले नै बाहिरकाहरूलाई न्याय गर्नुहुनेछ। “दुष्‍ट मानिसलाई तिमीहरूका बीचबाट निकालिदेओ।”

1 कोरिन्थी — Chapters