[1] यदि तिमीहरूमध्ये कसैको अर्को व्यक्तिसँग विवाद छ भने, के तिमीहरूले न्यायको निम्ति प्रभुका जनहरूकहाँ नगएर सांसारिक न्यायाधीशकहाँ जाने आँट गर्दछौ?
[2] प्रभुका जनहरूले संसारको न्याय गर्नेछन् भन्ने के तिमीहरू जान्दैनौ? अनि यदि तिमीहरूद्वारा संसारको न्याय हुन्छ भने के तिमीहरूमा यस्तो ससाना मुद्दा-ममिलाहरूको न्याय गर्ने क्षमता छैन र?
[3] के तिमीहरू यो कुरा जान्दैनौ, हामीहरूले स्वर्गदूतहरूको न्याय गर्नेछौं? त्यसो भए हाम्रो जीवनमा हुने यी कुराहरू कति नै ठूला हुन् र?
[4] यसकारण यदि तिमीहरूमा यस्ता विवादका मुद्दाहरू छन् भने मण्डलीमा कुनै असल गवाही नभएकाहरूलाई न्यायको निम्ति विन्ती गर्छौ र?
[5] मैले तिमीहरूलाई लाज लागोस् भनेर यो कुरा भनेको हुँ। के तिमीहरूका बीचमा विश्वासीहरू बीचको वाद-विवाद मिलाउन सक्ने बुद्धिमान् व्यक्ति कोही छैन?
[6] तर यसको सट्टामा एउटा भाइ अर्को भाइको विरुद्धमा अदालतमा जान्छौ, र त्यो पनि अविश्वासीहरूको सामु!
[7] तिमीहरूका बीचमा मुद्दा-मामिला हुनुको मतलब तिमीहरूको हार पूर्ण रूपमा पहिले नै भइसकेको छ। बरु तिमीहरूले अन्याय किन सहँदैनौ? बरु आफू ठगिएर नै किन बस्दैनौ?
[8] तर यसको सट्टामा तिमीहरू स्वयम् अन्याय गर्दछौ, र ठग्दछौ अनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई त्यही गर्दछौ।
[9] के तिमीहरूलाई थाहा छैन दुष्ट काम गर्नेहरू परमेश्वरको राज्यको उत्तराधिकारी हुनेछैनन्? धोखामा नपर: यौन अनैतिक व्यक्तिहरू, न मूर्तिपूजकहरू, न व्यभिचारीहरू, न पुरूष स्त्री समलिङ्गीहरू,
[10] न चोरहरू, न लोभीहरू, न मतवालाहरू, न निन्दा गर्नेहरू, न ता लुटाहाहरू परमेश्वरको राज्यको हकदार हुनेछन्।
[11] अनि तिमीहरूमध्ये कतिजना यस्तै थियौ। तर तिमीहरू हाम्रा परमेश्वरको आत्माद्वारा र प्रभु येशू ख्रीष्टको नाउँमा धोइएका छौ; तिमीहरू पवित्र पारिएका छौ र निर्दोष ठहराइएका छौ।
[12] “मेरो लागि सबै कुरा उचित छन्” तिमी भन्दछौ—तर सबै कुरा लाभदायक छैनन्। “मेरो लागि सबै कुरा उचित छन्”—तर म कुनै कुराको पनि सेवक हुनेछैनँ।
[13] तिमी भन्दछौ, “पेटको निम्ति भोजन र भोजनको निम्ति पेट, तर परमेश्वरले यी दुवैलाई नष्ट गर्नुहुनेछ।” हाम्रो शरीर यौन अनैतिकताको निम्ति होइन, तर प्रभुको सेवाको निम्ति हो, र प्रभुले हाम्रो शरीरको वास्ता गर्नुहुन्छ।
[14] परमेश्वरले आफ्नो शक्तिद्वारा प्रभु येशूलाई मृत्युबाट पुनर्जीवित पार्नुभयो, र उहाँले आफ्नो शक्तिद्वारा हामीलाई पनि जीवित पार्नुहुनेछ।
[15] के तिमीहरूलाई थाहा छैन, कि तिमीहरूका शरीर ख्रीष्टका अङ्गहरू हुन्? त्यसो भए के म ख्रीष्टका अङ्गहरूलाई लिएर वेश्यासँग एक बनाउने त? कदापि हुँदैन!
[16] के तिमीहरूलाई थाहा छैन, कि जसले आफूलाई वेश्यासँग जोड्छ, ऊ त्यो वेश्यासँग शरीरमा पनि एक हुन्छ? किनकि यसरी लेखिएको छ, “यी दुई अब एउटै शरीर हुनेछन्।”
[17] तर जसले आफूलाई प्रभुसँग जोडिएको हुन्छ, त्यो आत्मामा उहाँसँग एक भएको हुन्छ।
[18] तिमीहरू यौन अनैतिकताबाट अलग बस। अरू सबै पापहरू मानिसले आफ्नो शरीर बाहिर गर्छ, तर जसले यौन सम्बन्धमा पाप गर्छ, त्यसले आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ।
[19] के तिमीहरू जान्दैनौ, कि तिमीहरूका शरीर पवित्र आत्माको मन्दिर हो, उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ र उहाँलाई तिमीहरूले परमेश्वरबाट प्राप्त गरेका छौ? तिमीहरू आफ्नै होइनौ;
[20] तिमीहरू त मोल तिरेर किनिएका हौ। यसकारण आफ्ना शरीरद्वारा परमेश्वरको आदर गर।