Skip to content
Opens in a new window
Listen to this chapter • 3:58

[1] दाजुभाइ-दिदीबहिनीहरूहो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसँगझैं बोल्न सकिनँ, तर सांसारिक मानिसहरूसँग अथवा ख्रीष्‍टमा दूधे बालकहरूसँगझैं बोल्नुपर्‍यो।

[2] मैले तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूध खुवाएँ; किनकि तिमीहरू खँदिलो भोजनको लागि तयार थिएनौ। वास्तवमा अहिले पनि तिमीहरू तयार छैनौ।

[3] तिमीहरू अझै पनि सांसारिक छौ; किनकि तिमीहरूका बीचमा डाह र झैझगडाहरू छन्, त्यसो भए के तिमीहरू सांसारिक होइनौ र? तिमीहरू संसारका मानिसहरूजस्तै चल्दैनौ र?

[4] किनकि जब एउटाले भन्छ “म पावलको हुँ,” अनि अर्कोले, “म अपोल्‍लोसको हुँ,” भने, के तिमीहरू केवल मानिसहरूजस्तै भएनौ र?

[5] त्यसो हो भने, अपोल्‍लोस को हुन्? अनि पावल को हुन्? केवल सेवकहरू हुन्, जसद्वारा तिमीहरूले सुसमाचार विश्‍वास गर्‍यौ, प्रभुले हामीलाई काम दिएअनुसार पूरा गर्‍यौं।

[6] मैले बीउ रोपें, अपोल्‍लोसले पानी लगाए, तर परमेश्‍वरले नै त्यसलाई बढाउनुभएको हो।

[7] यसकारण न रोप्ने केही हो, न ता पानी हाल्ने केही हो, तर परमेश्‍वर मात्र महान् हुनुहुन्छ, जसले बढाउनुहुन्छ।

[8] रोप्ने मानिस र पानी लगाउने मानिसको एउटै उद्देश्य हुन्छ, र प्रत्येकले आफ्नो परिश्रमअनुसारको इनाम पाउनेछ।

[9] किनकि हामी परमेश्‍वरको सेवामा सहकर्मी हौं; तिमीहरू परमेश्‍वरको खेतबारी र उहाँको भवन हौ।

[10] परमेश्‍वरले मलाई दिनुभएको अनुग्रहद्वारा मैले एकजना सिपालु मिस्त्रीलेझैं एउटा जग बसालेको छु, र अरू कसैले त्यसमाथि भवन बनाउँदै जान्छ। तर बनाउने प्रत्येकले होसियारीसाथ बनाउनुपर्छ।

[11] तर बसालिएको जगबाहेक अर्को कुनै जग कसैले बसाल्न सक्दैन, स्वयम् येशू ख्रीष्‍ट बसालिएको जग त्यो जग हुनुहुन्छ।

[12] यदि कसैले त्यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल प्रयोग गरेर केही बनाउँछ भने

[13] तिनीहरूका काम कस्तो रहेछ भनी देखाइनेछ; किनकि त्यस दिनले तिनीहरूका कामलाई ज्योतिमा ल्याइनेछ। आगोद्वारा काम प्रकट हुनेछ, र हरेक मानिसको कामको गुण आगोद्वारा जाँच गरिनेछ।

[14] यदि त्यसले बनाएको काम रह्‍यो भने त्यस कामदारले इनाम पाउनेछ।

[15] यदि त्यो काम जलेर नष्‍ट भयो भने कामदारले नोक्सानी उठाउनुपर्नेछ; तापनि आगोको ज्वालाबाट बाँचेझैं आफूचाहिँ बच्नेछ।

[16] के तिमीहरू आफै परमेश्‍वरको मन्दिर हौ, र परमेश्‍वरको आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भन्‍ने कुरा जान्दैनौ?

[17] यदि कसैले परमेश्‍वरको मन्दिरलाई नष्‍ट गर्दछ भने परमेश्‍वरले त्यसलाई नष्‍ट गर्नुहुनेछ; किनकि परमेश्‍वरको मन्दिर पवित्र हुन्छ र त्यो मन्दिर तिमीहरू नै हौ।

[18] तिमीहरू आफैलाई धोका नदेओ। यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगको नापअनुसार बुद्धिमान् सम्झन्छ भने, तिमीहरू बुद्धिमान् हुनको लागि “मूर्ख” बन्‍नुपर्छ।

[19] किनकि परमेश्‍वरको दृष्‍टिमा यस संसारको बुद्धि मूर्खता हो। यसरी लेखिएको छ: “प्रभुले बुद्धिमानहरूलाई तिनीहरूकै धूर्ततामा पक्रनुहुनेछ।”

[20] अनि फेरि, “प्रभुले जान्‍नुहुन्छ कि बुद्धिमान्‌हरूका विचारहरू व्यर्थ हुन्।”

[21] यसकारण कसैले मानवीय अगुवाहरूबारे घमण्ड नगर! सबै कुरा तिमीहरूकै हुन्,

[22] चाहे पावल वा अपोल्‍लोस वा केफास वा जीवन वा संसार वा मृत्यु वा वर्तमान वा भविष्य—सबै तिमीहरूकै हुन्।

[23] अनि तिमीहरूचाहिँ ख्रीष्‍टका हौ र ख्रीष्‍टचाहिँ परमेश्‍वरका हुनुहुन्छ।

1 कोरिन्थी — Chapters