[1] दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरू यस वास्तविकताबाट अन्जान रहो भन्ने म चाहन्नँ, हाम्रा पुर्खाहरू बादलमुनि थिए र तिनीहरू समुद्रको बीचबाट भएर गए।
[2] तिनीहरू सबैजनाको बादल र समुद्रमा बप्तिस्मा भएर मोशासँग जोडिए।
[3] तिनीहरू सबैले एउटै आत्मिक भोजन खाए,
[4] अनि एउटै आत्मिक पानी पिए; किनकि तिनीहरूले त्यस आत्मिक चट्टानबाट पिए, जो तिनीहरूसँगै हिँड्नुभयो र त्यो चट्टानचाहिँ ख्रीष्ट हुनुहुन्थ्यो।
[5] तरै पनि परमेश्वर तिनीहरूमध्ये धेरैसँग प्रसन्न हुनुभएन। त्यसैले तिनीहरूका शरीर उजाडस्थानमै छरपस्ट भए।
[6] हामीले आफ्ना हृदयहरू तिनीहरूले जस्तै दुष्ट कुराहरूमा नलगाऔं भनेर यी कुराहरू हाम्रा लागि उदाहरणको रूपमा नै घटेका थिए।
[7] तिमीहरू मूर्तिपूजक नबन, जसरी तिनीहरूमध्ये कतिजना थिए; यसरी लेखिएको छ: “मानिसहरू खान र पिउनलाई बसे, र दाखमद्यले मातेर मोजमस्ती गर्नलाई उठे।”
[8] हामी यौन अनैतिकतामा फस्नुहुँदैन, जसरी तिनीहरूमध्ये कतिजना फसे, र तिनीहरू एकै दिनमा तेईस हजार मरेका थिए।
[9] हामीले ख्रीष्टलाई जाँच गर्नुहुँदैन, जसरी तिनीहरूमध्ये कतिले जाँच गरे, र तिनीहरू सर्पद्वारा डसिएर मरे।
[10] तिमीहरू गनगन नगर, जसरी तिनीहरूमध्ये कतिले गरे, र तिनीहरू नाश गर्ने दूतद्वारा मारिए।
[11] तिनीहरूसँग यी कुराहरू उदाहरणको रूपमा घटे, र यी घटनाहरू हामी, जो यस युगको अन्त्यतिर आइपुगेका छौं, हाम्रो नै चेतावनीको लागि लेखियो।
[12] यसकारण यदि तिमीहरूलाई आफू स्थिरसाथ खडा छौं भनी लाग्छ भने होसियार रहो, ताकि तिमीहरू नलडोस्।
[13] मानिसमाथि आइपर्ने किसिमको परीक्षाबाहेक अरू सहनै नसक्ने परीक्षामा तिमीहरू परेका छैनौ। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ; उहाँले तिमीहरूलाई सहनै नसक्ने परीक्षामा पर्न दिनुहुनेछैन, तर जब तिमीहरू परीक्षामा पर्छौ, तब उहाँले तिमीहरूलाई त्यसबाट उम्कने बाटो पनि दिनुहुनेछ, ताकि तिमीहरूले सहन सक।
[14] यसकारण मेरा प्रिय मित्रहरूहो, मूर्तिपूजाबाट अलग बस।
[15] म समझदार मानिसहरूसँग बोल्दैछु; मैले भनेका कुरामा आफैलाई जाँचेर हेर।
[16] त्यो धन्यवादको कचौरा, जसको लागि हामी धन्यवाद चढाउँछौ, के त्यो ख्रीष्टको रगतमा सहभागीता होइन र? अनि जुन रोटी हामी भाँच्छौ, के त्यो ख्रीष्टको शरीरको सहभागीता होइन र?
[17] रोटी एउटै भएकोले, हामी धेरै भए तापनि एउटै शरीर हौं; किनकि हामी एउटै रोटीबाट खान्छौं।
[18] इस्राएलका मानिसहरूलाई विचार गर, वेदीमा चढाइएको बलिदानका थोकहरू खानेहरू, के तिनीहरू एक भएनन् र?
[19] त्यसो भए के मैले मूर्तिलाई चढाएको वस्तु केही महत्त्वको अथवा मूर्ति केही महत्त्वको हो भन्न खोजिएको हो?
[20] होइन, तर गैरयहूदीहरूले चढाएका चीज परमेश्वरलाई होइन, भूत आत्माहरूलाई चढाएका हुन्छन्; र तिमीहरू ती भूत आत्माहरूसँग सहभागी भएको म चाहँदिनँ।
[21] तिमीहरूले परमेश्वरको कचौराबाट र भूत आत्माहरूका कचौराबाट पनि पिउन सक्दैनौ; तिमीहरू परमेश्वरको टेबुल र भूत आत्माहरूको टेबुल दुवैमा सहभागी हुन सक्दैनौ।
[22] के हामीले परमेश्वरको क्रोधलाई जगाउन खोजिरहेका छौं? के हामी उहाँभन्दा शक्तिशाली छौं?
[23] सबै थोकहरू उचित छन्, तर सबै थोकहरू लाभदायक हुँदैनन्। सबै थोकहरू उचित छन्; तर सबै थोकहरूले आत्मिकी उन्नति गराउँदैनन्।
[24] तिमीहरू कसैले पनि आफ्नै भलाइ नखोज, तर अरूको भलाइ खोज।
[25] मासुको पसलमा जे बेचिन्छ, त्यो विवेकको खातिर नसोधीकन खाओ,
[26] किनकि, “पृथ्वी र यसमा भएका सबै कुराहरू प्रभुकै हुन्।”
[27] यदि कुनै अविश्वासीले तिमीहरूलाई भोजनको लागि निम्तो दियो भने, अनि तिमीहरूले जाने चाहना गर्यौ भने, तिमीहरूको अघि जे कुराहरू राखिदिन्छ, त्यो विवेकको खातिर केही नसोधीकन खाओ।
[28] तर यदि कसैले तिमीहरूलाई “यो त बलिदानमा चढाएको चीज हो,” भनिदियो भने त्यो भन्ने मानिसको खातिर र दुवैको विवेक खातिर त्यो नखाओ।
[29] मैले अर्को मानिसको विवेकको खातिर भन्न खोजेको हो, तिम्रो विवेकको खातिर होइनँ। किनकि मेरो स्वतन्त्रतालाई अरूको विवेकद्वारा किन न्याय गराउने?
[30] यदि मैले धन्यवाद दिएर भोजनमा सामेल हुन्छु भने, जुन कुराका लागि मैले परमेश्वरलाई धन्यवाद चढाउँछु, तब त्यस कुराको लागि मेरो निन्दा किन गरिन्छ?
[31] यसकारण चाहे तिमीहरू खाओ वा पिओ अथवा जेसुकै गर, सबै कुरा परमेश्वरको महिमाको निम्ति गर।
[32] तिमीहरू कसैलाई पनि ठेस लाग्ने कारण नहोओ, चाहे यहूदीहरू होस् वा ग्रीकहरू होस् अथवा परमेश्वरको मण्डलीलाई होस्;
[33] जसरी म पनि सबैलाई सबै तरिकाले खुशी पार्ने कोसिस गर्दछु; किनकि म आफ्नै भलाइ खोज्दिनँ, तर धेरैको भलाइ खोज्दछु, ताकि तिनीहरूले उद्धार पाऊन्।